उपप्रधान एवं गृहमन्त्री विमलेन्द्रको निर्वाचनका लागि तयार रहन उच्च प्रहरी अधिकारीहरुलाई निर्देशन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्रको निर्वाचनका लागि तयार रहन उच्च प्रहरी अधिकारीहरुलाई निर्देशन



७ असोज, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि तयार रहन उच्च प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

टिकापुर घटनामा संलग्नको मुद्दा फिर्ता लिने विषयलाई लिएर गृहमन्त्री र प्रहरी प्रमुखको विवाद भएको चर्चा चलिरहेका बेला निधि शुक्रबार प्रहरी हेडक्वाटर पुगेका हुन् । उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ र सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको निरीक्षण गरे ।

उनले संविधान कार्यान्वयनको सिलसिलामा हुने निर्वाचन लगायतका कार्यलाई सफल बनाउन नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने भूमिकाका लागि तयार रहन आग्रह गरे । नयाँ संविधानअनुसार नेपाल प्रहरीको प्रादेशिक र संघीय संरचनाबारे कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको ध्यान जाने भन्दै उनले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा सांगठनिक रुपमा तयार हुनुपर्ने बताए ।

गृहमन्त्री निधिले अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, आमनागरिकलाई दैनिक जीवनमा सहयोग गर्ने जिम्मेवारीलाई उच्च मनोबलकासाथ अझै सशक्त रुपमा सम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरीको क्षमता अभिबृद्धिबाट सरकारकै क्षमता बढ्ने भएकोले समन्वयात्मक रुपमा कार्य सम्पादन गर्न गृहमन्त्रालय सदैव प्रहरीको साथमा रहेको उनले बताए ।

गृहसचिव लोकदर्शन रेग्मीले चेन अफ कमाण्डमा रहने प्रहरी संगठनलाई अझै सबल र सुन्दर बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गरिने प्रतिवद्धता व्यक्त गरे । संघीयताको सवालमा समयमै ठोस निर्णय आएमा नेपाल प्रहरी मानसिक रुपमा तयार भई अगाडि बढ्न सजिलो हुने उनले बताए ।

अनलाइन खबर