निधिको स्वास्थ्य अवस्था सुधार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निधिको स्वास्थ्य अवस्था सुधार



काठमाडौं, मंसिर ७ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्था बुझ्न चाबहिलस्थित ओम अस्पताल पुगेका छन् । धुलो र धुवाँका कारण छाती र पेटमा समस्या देखिएपछि नेता निधि सोमबार ओम अस्पतालमा भर्ना भएका थिए ।

बुधबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री देउवाले निधिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबारै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।

निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले उपचार गरिरहेको छ । चिकित्सकहरूले उनलाई केही दिन अस्पतालमै आराम गर्नुपर्ने सुझाब दिएका छन् । डाक्टरहरूले निधिको स्वास्थ्य त्यति प्रतिकूल नरहेको बताएका दाहालले जानकारी दिए ।

धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार निधि १६ कात्तिकमा मनोनयन दर्तापछि चुनावी अभियानका क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि निधि सोमबार बिहान काठमाडौं आएका थिए ।