निधिले गरे देउवा सरकार ढल्ने संकेत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

निधिले गरे देउवा सरकार ढल्ने संकेत



जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार ढल्ने संकेत गर्दै अहिलेको सरकार वैशाखीको सहारामा हिँडिरहेको टिप्पणी गरेका छन्।

पाँच दलीय गठबन्धनमा सरकार बनेको भन्दै उनले वर्तमान सरकार वैशाखीको सहारामा हिँडिरहेको बताएका हुन्।

आइतबार नेपाली कांग्रेस नगराईन नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्दै निधिले कांग्रेसको एकल सरकार नबनेसम्म जनताको सबै माग सम्बोधन हुन समस्या रहेको जिकिर गरे।

‘वैशाखीको साहारामा हिँडिरहेको सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ,’ उनले भने,‘चाहेर पनि कतिपय कुरा सरकारले गर्न सकिरहेको छैन। आफ्नै बहुमतको सरकार बनेपछि धेरै समस्या समाधान हुन्छ।’

नागरिकतालगायतका आवश्यक समस्या समाधान गर्न पनि कांग्रेसको एकल बहुमतको सरकार जरूरी रहेको उनले बताए।

कांग्रेसकै अगुवाइमा मुलुकमा संघीयता, गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणालीलगायतका उपलब्धि हासिल भएको भन्दै उनले समय सापेक्ष परिमार्जन गरेर सबैको माग सम्बोधन हुने उल्लेख गरे।

उनले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने प्रमुख उद्देश्यका साथ आफूले सभापतिमा उम्मेदवारी दिनलागेको उल्लेख गरे।

‘केही महिनापछि आम निर्वाचन हुने निश्चित छ, निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी बनाउन म सभापति बन्न खोजेको छु,’ निधिले भने,‘ मेरोे उम्मेदवारीलाई लिएर हिमाल, पहाड र तराईबाट सकारात्मक सन्देशहरू पाइरहेको छु। सबैजनाले सहयोगको आश्वासन दिइरहनुभएको छ।’

उनले सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

१४ औँ महाधिवेशनलाई सफल बनाउन आग्रह गर्दै उनले विकृति विसंगति अन्त्य गर्न कांग्रेसका नेता तथा कार्यकर्ता शासक नभइ सेवकको रूपमा काम गर्न आवश्यक रहेको जिकिर गरे।

गृहजिल्ला धनुषा पुगेका निधिले आइतबार जनकपुर, नगराईन, धनौजी र मुखियापट्टी मुसहरनियामा नगर अधिवेशनको उद्घाटन गरेका छन्।