उद्योगी व्यवसायीले भने: बजेट गज्जब आयो, अधिकांश माग सम्बोधन भए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

उद्योगी व्यवसायीले भने: बजेट गज्जब आयो, अधिकांश माग सम्बोधन भए



काठमाडौं- सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०६९ को बजेटले वर्तमान परिस्थिति अनुकुल नीजि क्षेत्रको अधिकांश मागहरु सम्बोधन भएको उद्योगी व्यवसायीहरुले बताएका छन्।

बजेट भाषणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ उद्योगी व्यवसायीले कोभिड महामारीको बेलामा आएको विशेष बजेट भएका कारण नीजि क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भएपनि अधिकांश मागहरु सम्बोधन भएको बताएका हुन्। नीजि क्षेत्रले आर्थिक वर्ष २०७८/०७९ को बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताए।

कोभिड १९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अन्य केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएकोप्रति उनले खुशी व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको उनले बताए।

नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफुहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताए। यसले नेपालमा औद्योगिकिकरण बढाउने र रोजगारीको सिर्जना गर्ने उनको भनाई छ।

कोभिड विरुद्ध लड्न बजेट विनियोजन हुनु सुखद भएको उनले बताए। खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको उनले उल्लेख गरे। लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफुहरुको माग सम्बोधन भएको उनले बताए।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए। बजेट यथार्थपरक नभएको उनको टिप्पणी छ। वर्तमान सरकार स्थिर नभएको अवस्थामा बजेट कार्यान्वयनको सन्दर्भमा शंका रहेको उनले बताए। सरकारले अपेक्षा गरे अनुरुपको राजस्व असुली गर्न पनि कठिन रहेको उनले बताए।