निको भएर घर फर्केकाहरूमा पुनः कोरोना सङ्क्रमण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

निको भएर घर फर्केकाहरूमा पुनः कोरोना सङ्क्रमण



एजेन्सी- चीनमा नोभेल कोरोना भाइरसको अवस्था नियन्त्रण भएका समाचारहरु सार्वजनिक भइरहेका छन् । ८१ हजारभन्दा बढी कोरोना संक्रमित भएको चीनमा ७४ हजारलाई उपचारपछि घर पठाएको तथ्यांकहरु सार्वजनिक भएका छन् ।

तर, कोरोना इपिसेनटर चीनको वुहानका चिकित्सकका अनुसार उपचारपछि सञ्‍चो भएर फर्किएका संक्रमितहरुमध्ये ३ देखि १० प्रतिशतसम्मलाई पुन: कोभिड-२९ पोजेटिभ देखिएको छ ।

विश्वभरका अनुसन्धानकर्ताहरु नोभेल कोरोना भाइरसको संक्रमणको उपचारपछि सञ्‍चो भएका व्यक्तिहरुमा कोरोना भाइरस देखिएमा अन्यलाई कोरोना भाइरसको संक्रमण गराउन सक्छन् कि सक्दैनन् भनेर खोजी गरिरहेका छन् ।

वुहानको तोङ्जी अस्पतालका चिकित्सकका अनुसार सञ्‍चो भएका संक्रमितहरुले अन्य व्यक्तिलाई संक्रमण गराएको प्रमाण अहिलेसम्म भेटिएको छैन । उनले ती संक्रमित व्यक्तिको उपचारपछि फेरि पोजेटिभ देखिएपछि उनीहरुको परिवारमा कोरोना परीक्षण गरिएको थियो ।

तोङ्‍जी अस्पतालको अनुसन्धानको स्याम्पल साइज अहिले सिंगो चीनको हकमा मिल्‍न गएको छ । कोरोनाको उपचार गराएर फर्किएका संक्रमितहरुमा पुन: कोरोना देखिएको छ । नयाँ संक्रमितभन्दा पनि उपचारपछि पुन: संक्रमण भएकाहरु बढ्दै गएको बताइएको छ ।

वुहानमा कोरोना देखिएका करिब ९० प्रतिशत संक्रमितहरुलाई उपचारपछि घर पठाइएको छ । जसमा चार हजार ३०० संक्रमितहरुको अझै उपचार भइरहेको अस्पतालले बताएका छन् । अहिले देखिएका कोरोना संक्रमितहरुमध्ये अधिकांश बाहिरबाट आएका व्यक्तिहरु रहेको समेत बताइएको छ ।

तोङ्जी अस्पतालका प्रमुख वाङ वीले कोरोनाको उपचार गरिएका १४७ बिरामीको अध्ययनका क्रममा पुन: जाँच गर्दा तीन प्रतिशतमा कोरोना देखिएको बताए । त्यसैगरी लाइफ टाइम्स म्यागेजिनका अनुसार कोरोनाको उपचारपछि वुहानको क्‍वारेन्टाइनमा रहेकाहरुमध्ये ५ देखि १० प्रतिशतमा फेरि कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

त्यसैगरी आइतबार एक परिवारका तीनै जनालाई उपचारपछि सञ्‍चो भएकोमा फेरि जाँच गर्दा कोरोना देखिएको स्वास्थ्य म्यागेजिन लाइफ टाइम्सले जनाएको छ । यसले न्युक्लिक एसिड परीक्षण कतिको विश्वसनीय छ भन्‍ने प्रश्‍न उब्जाएको छ ।
त्यसैगरी केही विज्ञहरुले भने टेस्ट किट र संक्रमितको नमुना संकलन र परीक्षणको संवेदनशीलता र स्थायित्वप्रति चासो व्यक्त गरेका छन् ।

वाङले सीसीटीभीलाई भने, “मेरो अस्पतालमा आएका पाँचजनामा कोरोना पोजेटिभ देखिएको छ । तर, उनीहरुमा कोरोनाको कुनै लक्षण छैन । त्यसैगरी उनीहरुसँग नजिक रहेका परिवारका सदस्यमासमेत कोरोना पोजेटिभ देखिएको छैन ।”

उनले उपचारपछि निको भएका कोरोना संक्रमितमा फेरि कोरोना संक्रमण भएमा उनीहरुले अरुलाई पनि संक्रमित बनाएको आधिकारिक प्रमाण फेला नपरेको बताए । उनले भने, “उनीहरुको उपचारपछि अन्यलाई संक्रमित बनाएको प्रमाण भटिएको छैन । त्यसैगरी कोरोना संक्रमितको उपचारपछि घर पठाइएको एक महिनासम्‍म ८० देखि ९० प्रतिशतहरुको रगतमा कोरोना भाइरस रहेको पाइएको छैन ।”

उनले कुनै व्यक्तिलाई कोरोना संक्रमण भएर उपचार भएको कम्तीमा दुई सातासम्म क्‍वारेन्टाइनमा राखिनुपर्ने बताए ।

श्वासप्रश्वास रोग विज्ञ तोङ चोहुइले उपचारपछि घर पठाइएका बिरामीहरुलाई निरन्तर नगरानी गरिरहनुपर्ने सुझाव दिए ।

हुबेइ स्वास्थ्य आयोगका उपनिर्देशक तु युआनचाओले उपचारपछि घर पठाइएका र फेरि कोरोना पोजेटिभ देखिएका बिरामीहरुलाई पनु: भर्ना गरेर उपचार भइरहेको बताए । लक्षण नदेखिएकाहरुलाई भने दुई साताको क्‍वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।