निकुञ्जभित्र कृत्रिम ताल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निकुञ्जभित्र कृत्रिम ताल



काठमाडौँ,  फागुन ३० गते । 

जलवायु परिवर्तनका कारणले जताततै पानीका मूल सुक्नथालेपछि मानव जीवनमा त त्यसको असर परेको छ नै वन, वनस्पति, वन्यजन्तु तथा समग्र जैविक विविधतामा पनि परिरहेको छ ।

वन जङ्गलमा पानीका मूल सुकेपछि पानीकै लागि वन्यजन्तु बस्तीतिर नजिकिँदा मानिस र वन्यजन्तुबीच द्वन्द्व बढ्न थालेको विभिन्न अध्ययनले देखाएपछि सरकारले वन्यजन्तुलाई संरक्षित क्षेत्रभित्रै पानीको व्यवस्थापन गर्ने नयाँ नीति लिएको छ ।

वन जङ्गलमा आहार–विहारको समस्या भएपछि वन्यजन्तु वन जङ्गलबाहिर निस्कनु स्वभाविकै मानिन्छ ।  विश्वमै दुर्लभ मानिएका वन्यजन्तु बस्तीनजिक आउन थालेपछि चोरीसिकारका घटना बढ्न सक्ने र वन्यजन्तुमाथि मात्र नभई संरक्षण अभियानमा सक्रिय समुदायमा जोखिम बढ्न थालेपछि सरकारले यो नीति अवलम्बन गर्न थालेको हो ।

वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष कार्यालयले संरक्षित क्षेत्रभित्र तालको पुनर्निर्माण र कृत्रिम ताल निर्माण गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार, चालू आर्थिक वर्षमा निकुञ्जभित्र वन्यजन्तुका विशेष बासस्थान क्षेत्र मानिएका ठाउँ पहिचान गरी आठवटा ताल पुनर्निर्माण र कृत्रिम ताल निर्माण गरिएका छन् ।
उहाँले भन्नुभयो, दुर्लभ वन्यजन्तुका लागि चाहिने पानीको व्यवस्थापन गर्न निकुञ्ज प्रशासनले यस वर्ष पुरिएका तालको पुनर्निर्माण र केही कृत्रिम ताल निर्माण गरेको छ ।

यसले गर्दा वन्यजन्तुका लागि चाहिने पानीको व्यवस्थापन निकुञ्जभित्र हुने विश्वास लिएका छौँ ।  विशेषगरी तराईका संरक्षित क्षेत्रभित्र पानीका स्रोत सुकेर वन्यजन्तुको संरक्षणमा चुनौती थपिएपछि वन तथा भू–संरक्षण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पानीको व्यवस्थापन गर्न पुरिएका तालको पुनर्निर्माण र नयाँ कृत्रिम ताल, पोखरी निर्माण गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख थापाका अनुसार विभिन्न कारणले पुरिएका, सुकेका ताल पहिचान गरेर ती क्षेत्रमा पुनः पानीका स्रोत बढाउने गरी पुनर्निर्माण गर्ने कामलाई पनि निरन्तरता दिइएको छ ।  बाँके राष्ट्रिय निकुञ्जमा पनि यस वर्ष पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा कृत्रिम ताल निर्माण गर्ने कार्यक्रम रहेको छ ।  निकुञ्ज प्रमुख दिल पुनले भन्नुभयो, पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर पर्ने चुरेसम्म निकुञ्ज क्षेत्र फैलिएको छ ।  पानीका सबै स्रोत राजमार्गभन्दा दक्षिण भागमा छन् ।  पानीकै लागि वन्यजन्तु दक्षिण क्षेत्रमा आवतजावत गर्दा राजमार्गमा दुर्घटना हुने सम्भावनालाई न्यून गर्न र उत्तरी क्षेत्रलाई वन्यजन्तुको उपयुक्त बासस्थान बनाउन कृत्रिम ताल तथा पोखरी निर्माण गरिरहेका छौँ ।
चितवन राष्ट्रिय निकुञ्जमा पनि यस वर्ष केही कृत्रिम ताल निर्माण गरिने जानकारी निकुञ्ज प्रमुख रामचन्द्र कँडेलले दिनुभयो ।  उहाँले भन्नुभयो, वन्यजन्तुको बासस्थान वरपर पानीको भरपर्दा स्रोत बनाउन ताल निर्माण गरिरहेका छौँ ।  यसले वन्यजन्तु संरक्षणमा महìवपूर्ण भूमिका निर्वाह गर्नेछ ।  बर्दियाको चुरे क्षेत्रमा रहेका पुराना पुरिएका तालको माटो खनेर तालको आकार निर्माण गरी सौर्य ऊर्जाको सहयोगमा मोटरबाट पानी निकाल्ने काम भइरहेको छ ।  बर्दियाको बबई उपत्यका, राजमार्ग उत्तर र चुरेको दक्षिणी भेगमा विगतमा ताल रहेका तर विभिन्न कारणले सुकेका क्षेत्रमा पुनः ताल निर्माण गर्ने काम भइरहेको छ ।

निकुञ्ज प्रमुख थापाका अनुसार, ताल सुक्दा वन्यजन्तुका लागि चाहिने पानीको मात्र अभाव नभई सिमसार क्षेत्रवरिपरिका समग्र जैविक विविधता नाश हुने भएकाले तालको पुनर्निर्माणले जलपक्षी, पुतली, माछा तथा अन्य चराचरको संरक्षण हुने भएकाले यसलाई अभियानकै रूपमा लिइएको हो ।

संरक्षणका लागि उपयुक्त कदम दिल पुन, प्रमुख संरक्षण अधिकृत, बाँके राष्ट्रिय निकुञ्ज चुरे क्षेत्रमा निकुञ्ज फैलिएको छ तर त्यहाँ पानीका स्रोत छैनन् ।  पानीका स्रोत दक्षिणी भेगमा भएकाले पानीका लागि वन्यजन्तुले राजमार्ग भएर आवतजावत गर्नुपर्ने हुँदा दुर्घटना हुने गरेका छन् ।  त्यसैले दुर्घटनामा कमी ल्याउन र चुरे क्षेत्रलाई दुर्लभ वन्यजन्तुको उपयुक्त बासस्थान निर्माण गर्न पुराना तालको पुनर्निर्माण, कृत्रिम ताल निर्माण गर्ने काम भइरहेको छ ।  पानीको व्यवस्थापनले वन्यजन्तुमात्र नभई समग्र जैविक विविधता संरक्षणमा समेत थप टेवा पुग्ने भएकाले यो उपयुक्त कदम हो ।