नियात्रा सङ्ग्रह "नीला गोलार्द्ध" को लोकार्पण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नियात्रा सङ्ग्रह “नीला गोलार्द्ध” को लोकार्पण



हिमालपोस्ट/काठमाडौँ-

वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले  विकास अर्थशास्त्री तथा साहित्यकार श्री चन्द्रप्रसाद भट्टराईको नवीनतम नियात्राकाकृति ‘नीला गोलार्द्ध” २०७६ साउन ३ गते शुक्रबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एउटा भव्य कार्यक्रममा सार्वजनिक गर्नुभयो । बेलाइत, जर्मनी , अस्ट्रिया, अमेरिका, सिङ्गापुर, भारत र स्वदेश भ्रमणका एघारवटा यात्रा संस्मरणात्मक रचना समेटिएको उक्त पुस्तक नियात्राकार तथा नियात्रा समाज नेपालका अध्यक्ष श्री भट्टराईको तेस्रो नियात्राकृति हो ।

कृतिमाथि समीक्षात्मक मन्तव्य राख्तै समालोचक श्री राजेन्द्र पराजुलीले ‘नीला गोलार्द्ध’ भित्र लेखक जहाँ जहाँ पुग्छन् त्यहाँ त्यहाँ पाठक पनि पुग्छन् भन्दै यसमा प्रयोग भएको भाषा, शैली र विषयवस्तुको संयोजनले चन्द्रप्रसाद भट्टराईको लेखनकलाको प्रशंसा गर्नुभयो । उहाँले यसअघि प्रकाशित भट्टराईका राम्रा नियात्रासङ्ग्रह ‘प्रशान्त छालहरूमा मेरो नेपाल’ र ‘अनैठो मुलुक अनैठा अनुभूति’ ले झै पाठकहरूको मन यस कृतिले पनि राम्रोसँग छुन्छ भन्नुभयो ।

अर्का समालोचक डा.गीता त्रिपाठीले भन्नुभयो, “विषयवस्तुलाई अत्यन्त आकर्षक ढंगले व्यक्त गरिएको ‘नीला गोलार्द्ध’ भित्रका एघारओटामध्ये अधिकांश नियात्रा विदेश भ्रमणमा आधारित छन्  दुइटा मात्र मात्र नेपालका बारेमा छन् , तर ती दुइटाले नै स्वदेशको यात्रालाई कसरी राम्रो साहित्य बनाउन सकिन्छ भन्ने गहकिलो सन्देश दिन समर्थ छन् ” । लेखकहरू विदेश भ्रमण गरेर फर्केपछि विदेशको यात्राबारे लेख्ने क्रम बढेको र अबका दिनमा स्वदेश चिनाउन यहीको भूगोल र जनजीवनलाई समेटेर नियात्रा लेखिनु पर्ने कुरामा यस कृतिभित्रका ती दुइटा रचनाले प्रेरित गर्ने विश्वास डा त्रिपाठीले व्यक्त गर्नुभयो । उहाँले विदेशभ्रमणसँग सम्बन्धित सबै रचनामा ज्ञानसँगसँगै मीठो साहित्य पाइने कुरा बताउनुभयो ।  बेलाइतकी महारानी एलिजाबेथका पनाति राजकुमार जर्जको जन्मबारेको रचना ‘नीला गोलार्द्ध’ नयाँ प्रयोगका रूपमा आएको र अत्यन्त रोचक र गहन रहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

नियात्रा समाज नेपालको आयोजन र उत्कृष्ट प्रकाशनको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ नियात्राकारहरू श्री देविचन्द्र श्रेष्ठ, यादव खरेल, कवि श्री एस्पी कोइरालालगायत धेरै स्रष्टाहरूको उपस्थिति थियो ।

नियात्रा समाज नेपालका उपाध्यक्ष श्री प्रतीक ढकालले अध्यक्षता गर्नुभएको लोकार्पण कार्यक्रममा समाजका महासचिव श्री मोहन चापागाई र कोषाध्यक्ष श्री गीता रेग्मीले पनि बोल्नुभएको थियो ।

‘नीला गोलार्द्ध’ लोकार्पण गर्नुअघि कृतिकार श्री चन्द्रप्रसाद भट्टराईले सुवेदार मेजर शेरसिँह रानाद्वारा लिखित पहिलो नेपाली यात्रासाहित्य कृति ‘मेरो लन्दन राजतिलक यात्रा’ को नयाँ संस्करण लोकार्पणका लागि प्रमुख अतिथि समक्ष प्रस्तुत गरी पहिला यात्रासाहित्य लेखकप्रति सम्मान व्यक्त गर्नुभएको थियो । भारतीय सेनाका सुवेदार मेजर शेरसिँह रानाले सन् १९११ मा राजा जर्ज पन्चमको राज्याभिषेकमा बेलाइत भ्रमण गरी आजभन्दा १०६ वर्षअघि सो कृति पुस्तकाकार रूपमा प्रकाशित गर्नु भएको थियो ।

उक्त दुवै कृति निजी क्षेत्रको प्रकाशन संस्था उत्कृष्ट प्रकाशन प्रा लिले प्रकाशित गरेको हो । भोलिदेखि नै बजारमा उपलब्ध हुने कुरा सो प्रकाशनका प्रबन्ध निर्देशक श्री हेमप्रसाद मास्केले जानकारी दिनु भयो ।

-0-