नेपालले सजग हुँदै आफूलाई बलियो बनाउनुपर्छ : नीलाम्बर आचार्य (अन्तर्वार्ता) « Himal Post | Online News Revolution
Logo

नेपालले सजग हुँदै आफूलाई बलियो बनाउनुपर्छ : नीलाम्बर आचार्य (अन्तर्वार्ता)



भारतका लागि नेपाली राजदूत महामहीम नीलाम्बर आचार्य बौद्धिक, स्वच्छ एवम् सक्रिय व्यक्तित्व हुन । बामपन्थी राजनीतिमा जीवनको लामो समय बिताएका आचार्य वि. सं २०४७ सालको अन्तरिम सरकारमा मन्त्री थिए। श्रीलङ्काको राजदूत भइसकेका उनको हरेक राजनैतिक परिवर्तनमा ठूलो योगदान रहेको छ । पछिल्लो समय नेपाल-भारत प्रबुद्ध समूहमा आबद्ध रहेर काम गरेका आचार्य भारत मामिलाका अध्येता पनि हुन् । प्रस्तुत छ, दिल्लीस्थित नेपाली दूतावासमा हिमाल पोस्टका लागि प्रधान सम्पादक अर्जुन खनालसँग भएको कुराकानीको सारसङ्क्षेप ।

१. सर्बप्रथम यहाँजस्तो अनुभवी, विद्वान तथा नेपाल भारत सम्बन्धका विविध आयामलाई गहिरोसँग बुझ्नुभएका व्यक्तित्व भारतका लागि नेपालको राजदूत नियुक्त हुनुभएकोमा हिमालपोस्ट हार्दिक शुभकामना व्यक्त गर्दछ
– धन्यवाद।

२. भारतका लागि नेपालको राजदूत हुनुहुन्छ, कुनकुन कामलाई प्राथमिकतामा राख्‍नुभएको छ ?

-नेपाल-भारत सम्बन्ध नयाँ दिशामा, नयाँ बाटोमा, नयाँ आवश्यकता अनुसार अगाडि बढेको छ ।दुई देशका बीच विश्वास अरू बढाउनु पर्ने आवश्यकता छ ।सहयोगका क्षेत्र नयाँनयाँ पनि आइराखेका छन् ।त्यसमा काम गर्नु पर्ने आवश्यकता पनि छ । नेपाल-भारत सम्बन्ध निकै गाढा बहुआयामिक छ। आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि र हाम्रो वैदेशिक सम्बन्धमा नेपाल-भारत सम्बन्धले निकै ठुलो हिस्सा ओगटेको छ। नेपाल-भारत बीच राम्रो विश्वासको वातावरण बढाउदै जानु पर्छ । भएका सम्बन्धमा अरू विष्तृत गर्दै जानु पर्छ । अहिले हामी नेपालमा राजनीतिक मूल मुद्धालाई समाधान गरेर आर्थिक मुद्धामा केन्द्रित भएका छौँ। यसले भारतसँगको सम्बन्धमा ठूलो भूमिका राख्दछ । भारतबाट लगानी भित्र्याउनु ,आर्थिक सम्बन्ध अगाडि बढाउनु ,ब्यापार व्यापार विकास गर्नु नेपालले बेहोरेको व्यापार घाटा कम गर्ने पनि कुरा छन् भने, नेपालीहरूको हितमा हाम्रा सीमावर्ती क्षेत्रमा के कति विकास गर्न सकिन्छ, के कति सहजता निर्माण गर्न सकिन्छ त्यो गर्ने । हामीले निकट सम्बन्ध भन्छौ तर एक अर्कालाई अझ राम्ररी चिन्नु पर्ने आवश्यकता रहेको छ। यो कुरा हामीले महसुस गर्नु पर्छ किनभने हामी फेरिँदै छौ, बदलिँदै छौ । त्यस्तै हाम्रा सीमावर्ती क्षेत्रहरूमा भौतिक विकासको जस्तो बाटोघाटो सम्बन्धको, त्यस्तै सीमाको दसगजा कै कुरा छ यी सबैलाई व्यवस्थित गर्नु पर्ने छ ।सीमावर्ती क्षेत्रमा विकासको आवश्यकता छ जसले गर्दा दुवै देशका सीमाका जनातालाई सुबिधा हुन्छ ।हाम्रा नेपालबाट भारत आएर कम गरेर फिर्ता हुने र भारतबाट काम गर्न नेपाल जाने दुवै समान रुपमा आवतजावत गर्नामा सहजता होस् भनेर पनि हेर्नु पर्ने छ । हामी दुई देश बीच सम्बन्ध राम्रो भएर आएको छ ,एकदम तल खसेको थियो तर अहिले तल खसेको स्थिति छैन हामी ढुक्क भएर हेर्न सक्छौ यसलाई अझै राम्रो पर्दै विकास गर्दै जानु पर्छा । हाम्रा नयाँ काम पनि सुरु भएका छन् जस्तै उद्योग क्षेत्र र पर्यटकको सङ्ख्या पनि बढेको छ । उता कृषि क्षेत्रमा पनि विकास हुने सम्भावना बढेर आएको छ जहाँसम्म अन्य कुरा छन् पाइपलाइन्, त्यस्तै रेलमार्ग, जलमार्ग, हवाईमार्ग पनि नयाँ ठाउँबाट इन्ट्री गराउने कुरा छ । नया नयाँ सम्भावना रहेका छन् । भारतले राम्रो विकास गरेको छ । वृद्धिदर राम्रो छ । भारतको उन्नति र सफलताबाट हामीले पनि फाइदा लिनु पर्छ । भारत ठूलो बजार हो । हामीकहाँ उत्पादन बढ्यो र निर्यात गर्न सक्यौँ भने भारतमा हाम्रो ब्यापार घाटा कम हुने मात्र हैन नेपलीहरूको जीवनस्तर माथि उकास्न नेपालमा रोजगार निर्माण गर्न पनि मद्दत पुऱ्याउँछ । त्यसले भारतीय उद्योगीहरूले नेपालमा लगानी गरून् लगानी बढाउन भनेर आकर्षित गर्नु पर्ने आवश्यकता छ । नेपालमा उदारवादी अर्थनीति रही आएको छ र संविधानले नै निजी क्षेत्रलाई महत्त्व दिनुपर्छ भनेको छ । अब आउँदो वर्ष बर्ष २०२० नेपाल भ्रमणवर्ष रहेको छ र हामी आशा गर्छौं कि भारतबाट आउने पर्यटक २५००००० थिए भने अरू सङ्ख्या बढ्ने आशा छ किनभने नेपाल रमणीय देश छ, प्राकृतिक, सांस्कृतिक रूपले भारतीय पर्याटकलाई आकर्षण रहेको छ ।नेपाल र भारत सम्बन्धका विकासका अहिलेसम्म भएका सम्बन्ध छँदै छन्, त्यसमा थप विकास गर्ने थुप्रै सम्भावनाहरू छन् ।भर्खर त नेपाल यौटा अल्पविकसित देशबाट विकासशील देशमा गएको छ र पछि गएर २०३० मा मध्यम आयको देशमा जाने भनेर तयारी गर्दैछ ।हाम्रो सम्बन्धलाई अहिलेको आवश्यकताअनुसार दुवै देशको सम्मानजनक सम्बन्ध, समान सार्वभौमिकताको सम्बन्ध विकसित गर्नु पर्ने आवश्यकता रहेको छ । यस दिशामा म के आशा गर्छु भने भारतीय निर्वाचनको लगत्तै अझै सम्भावामा बढेर जानेछ किनभने नयाँ वातावरण बन्नेछ । भर्खर यहाँ निर्वाचन सम्पन्न भएको छ र नेपालमा स्थायीत्व आएको छ, नेपालमा लामो समयदेखि बाँकी रहेको संविधान निर्माणको एजेन्डा पूरा भएको छ। निरन्तर हामी यो अथवा त्यो परिवर्तनमा लागि राखेका थियौँ, कहिले प्रजातन्त्र स्थापना-पुनर्स्थापना, शान्ति कायम गर्नु पर्ने, युद्ध समाप्त गर्नुपर्ने, संविधान सभाका लागि फेरि सङ्घर्ष संविधान सभाका लागि निर्वाचन आदि रह्यो । अब सरकारले स्थायीत्व पाएको छ । दुई देश बीच अझै प्रगाढ सम्बन्ध फलदायी हुने आशा रहेको छ ।

३. यहाँले भारत-नेपाल प्रबुद्ध समूहमा रहेर काम गर्नु भएको थियो ? उक्त समूहको प्रतिवेदन भारत सरकारले नबुझेको कुरा मिडियामा आएको थियो । सत्य के हो ?
-समूहको प्रतिवेदन असारमै तयार भएको हो । अहिलेसम्म प्रतिवेदन सरकारलाई बुझाउने काम सम्पन्न हुन सकेको छैन । सर्वप्रथम भारतका प्रधानमन्त्रीलाई बुझाउनु पर्ने अनि तत्पश्तात् नेपालका प्रधानमन्त्रीलाई बुझाउने भन्ने प्रबुद्ध समूहले नै निर्णय गरेको हो । भारतका प्रधामन्त्रीलाई बुझाउने काम हुन सकेको छैन । बुझ्नु भएको भनेर भन्न मिल्दैन किन भने बुझ्नलाई इन्कार गरिएको हैन । केवल बुझ्ने समय लम्बिएको मात्र हो र हामी के आशा गर्छौ भने अब निकट भविष्यमा चुनाव सम्पन्न हुन्छ र यो विषयले पनि टुङ्गो पाउला । प्रतिवेदन भारतीय प्रधानमन्त्रीलाई बुझाइने र नेपालका प्रधानमन्त्रीलाई पनि बुझाइने र सरकारहरूले त्यो प्रतिवेदनबारे निर्यण गर्लान् भन्ने आशा गर्न सकिन्छ ।

४. नेपाल-भारत सीमानाले मात्र छिमेकी मुलुक हैनन् । हाम्रा भाषा, संस्कृति, परम्परा तथा पारस्परिक सम्बन्धका विविध आयाम छन् । यति हुँदा पनि नेपाल-भारत सम्बन्धमा चिसोपन देखिने, अपनत्वको गहिराई बिर्सने जस्ता घटना घट्ने गरेका छन् । यसको निराकरणको लागि यहाँले केही पहल गर्ने योजना बनाउनुभएको छ ?
-अहिलेको आवश्यकता अनुसार, अहिलेका मूल्यमान्यताअनुसार हाम्रो परम्परागत सम्बन्धलाई विकास गर्नुपर्छ । परम्परागत सम्बन्धका आधारमा अहिलेको स्थिति, अहिलेको आवश्यकता, अहिलेको परिवर्तित सम्बन्धलाई ख्याल गरेर एउटा समान सम्मान, समान फाइदा, न्यायपूर्ण सम्बन्धको आधारमा अगाडि बढ्नु पर्छ । हामीले विश्वासको वातावरण बनाउनु पर्छ। विश्वासको वातावरन सिर्जना गर्न सक्यौँ भने, एकअर्काका संवेदनशीलतालाई बुझ्यौँ भने बीचबीचमा आइपर्ने समस्यालाई सजिलै समाधन गर्न सक्छौँ ।राजनीतिक, प्रसाशनिक, जनस्तरका, विश्वस्तरका वातावरण, एक अर्कालाई चिन्ने सांस्कृतिक वातावरण । यसको लागि मुख्य कुरा विश्वासकै वातावरण जरुरी छ । काम गर्ने क्रममा बीचबीचमा चिसाहरू उत्पन्न हुने गर्छन्, त्यसका लागि समयसमयमा भेटघाट गर्ने छलफल गर्ने र विश्वास दिलाउने नै मुख्य हो । दुई देशका बीचमा जे जति संयत्र छन् मिलेर काम गर्ने, भएका सम्झौता आयोजनाबारे गर्ने भनेका विकाशका लगानीका, निर्माणका सम्झौताहरूलाई कार्यान्वयन गर्ने जे जति कुराहरू हेर्नु पर्ने छन्, जे जति सम्बन्धहरू हाम्रो सम्बन्धको विकासमा परिमार्जन गर्नु पर्ने छ त्यसलाई परिमार्जन गर्ने, पुनरावलोकन गर्न पनि अहिलेको समय अनुसार सम्बन्ध राख्‍न सक्नु नै मुख्य हो ।

५. नेपाल-भारतबीच खुला सीमाना छ । यसले दुवै देशका जनतालाई जोडेर रोटी र बेटीको सम्बन्ध समेत स्थापना गरेको छ । तर यदाकदा सीमाना मिच्ने, अबैध तस्करी लगायत मानव बेचबिखन हुने, अशान्तिको लागि दुवै देशको भूमि प्रयोग हुने लगायतका घटना पनि घटिरहेका छन् । यसको दीर्घकालीन समाधानको लागि यहाँको के योजना छ ?
-EPG को प्रतिवेदन आउन दिनुस्। सार्वजनिक होला । सार्वजनिक भैसकेपछि सम्बन्ध अझै अगाडि राम्रो मोड लिने विश्वास गरौँ ।दुई देशका जो सीमाहरू छन् दुई देशका जनतालाई फाइदा हुने अनि शान्तिपूर्ण, मैत्रीपूर्ण रूपमा अझै दरिलो पर्ने सजिलो पर्ने सीमाको रूपमा रहनु पर्छ त्यसको दुरुपयोग नहोस् – जस्तो मानव तस्करीको निम्ति, अवैध ब्यापारको निम्ति, आपराधिक प्रायोजनको निम्ति । त्यस्तै सीमालाई प्रष्ट रेखाङ्कन होस् भन्न को लागि पनि हामीले हेर्नु पर्ने हुन्छ । दुई देशको सीमासँगै त्यहाँ बस्ने जनता सुरक्षित र उनीहरूको आवतजावत सहज हुने भो भने मात्रै र त्यहाँको सीमाको दुरुपयोग नहुने भो, आपराधिक प्रयोजन नहुने भो भने मात्रै हित दुवै देशको हित हुन्छ । अर्को दुवै देशका आफ्ना सुरक्षाका संवेदनशीलता पनि छन् । त्यसैले दुवै देशको भूमि एकअर्काको सुरक्षाविरुद्ध प्रयोग हुनु हुँदैन । हामी नेपालको भूमि प्रयोग गर्न दिँदैनौँ र भारतको भूमि पनि प्रयोग गर्न हुँदैन ।दुवै देशको भूमि दुवै देशको मैत्री भाव साथ प्रयोग गरिने हो सीमाबाट पनि जे जति अवान्छित कुराहरू छन् त्यसमा नियन्त्रणका हुन्छ। त्यस्तै जलवायुरका कुराहरू छन्, भारतको गतिविधिले नेपालको जलवायुमा असर गर्छ भने नेपाल को गतिविधिले पनि भारतको जलवायुमा असर गर्छ । बाढीका कुरा छन् अनि जल प्रयोगका कुरा छन् यी सबै बिस्तारै सहज हुँदै पनि आएका छन् अन्या कुरा EPG को प्रतिवेदन पश्चात् अझै प्रष्ट होला ।

६. केही समय यता नेपालीहरू भारत हुँदै तेस्रो मुलुक जाँदा दुतावासको पत्र चाहिने खालका समस्या सुन्नमा आएको छ । यसले गर्दा तेस्रो देश जाने नेपाली मर्कामा परेको सुनिन्छ । यो समस्या बारे यहाँको बुझाइ के छ ?
-एकतातिर मानव तस्करी रोक्नु पर्ने आवस्यकता छ भने अर्कोतिर अहिलेको समयमा विश्वभरि जताततै मानिसहरू जाने यात्रा गर्ने झन्जट /असहजता नहोस् भनेर पनि हेर्नु पर्ने भएको छ ।NOC बारे पहिला त ब्यापक जानकारीको कमी भएको हुनाले मान्छेहरू पुग्छन् । NOC चाहिन्छ भन्ने थाहा नभएर पनि अप्ठ्यारो भएको छ । तसैले NOC बारे ब्यापक जनाकारी दिनु पर्ने छ । त्यसैगरि NOC मा तस्करी रोक्ने नाजायज तरिकाले झुक्याएर ठगेर लैजाने हुँदा अन्य विकल्प नहुन्जेल NOC सबैमाझ जानकारी गराउनु आवश्यक छ ।अब अन्य विकल्पलाई पनि अध्ययन गर्दैछौँ । जहाँ बढी मानव तस्करी हुन्छ त्यहाँ मात्र लागू गर्ने हो र अन्त लागू नगर्ने हो कि भन्ने छलफल पनि चलिरहेको छ । यसबारे राम्ररी विचार गर्नु पर्ने आवश्यक छ । गुनासा सुनिराखेका छौँ । झन्झट भो अप्ठ्यारो भो भन्ने कतिपय गुनासा जायज पनि छन् । मलाई लाग्छ यसलाई सम्बोधन गर्नुपर्छ र हामीले कोसिस गरिरहेका छौँ ।

७. भारतका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा नेपालीहरू कार्यरत छन् । अधिकांश नेपालीहरू अत्यन्तै सस्तो रुपमा आफ्नो श्रम गरिरहेका छन् । नेपाली श्रमिकको न्यूनतम् तलबमान कायम गर्न यहाँले भारतीय सरकारसँग समन्वय गर्नुपर्ने देख्नुभएको छ कि छैन ?
-भारतमा रहेका नेपालीहरूका जे जति समस्या छन् जे जति जायज समस्या छन् ति समस्या हामी ध्यान दिनेछौँ ।पारिश्रमिकको मात्र कुरा हैन अन्य समस्या पनि यहाँका सरोकारवाला सँग समन्वयन गर्दै समस्याको समाधानतर्फ पूर्ण रूपमा लाग्ने कोसिस गर्नेछौँ।

८. भारतमा श्रम गरेर कमाएको पैसा हुण्डीमार्फत पठाउँदा धेरै नेपाली ठगिएको तथा ठगिने सम्भावना रहेको छ । यस्ता क्रियाकलाप रोकेर वैङ्किङ च्यानल प्रयोग गराउन दूतावासले उत्प्रेरक काम गर्नुपर्ने होइन र ?
-भारतमा विभिन्न बैङ्कहरू छन् र ती मार्फत पैसा पठाउन सहज होस् भनेर त्यसतर्फ कोसिस गरिरहेका छौँ।

९. नेपाल भारतको सम्बन्ध सदियौँ पुरानो भएपनि सम्बन्धमा कहिलेकाहीँ अत्यन्तै चिसोपना देखिन्छ । भारतले एउटा सानो भूपरिवेष्ठित छिमेकीलाई पटकपटक नाकाबन्दी लगाउने, नेपालको राजनीतिमा माइक्रो म्यानेजमेन्ट गर्ने तथा नेपाललाई अधिकांश मामिलामा हेप्ने गरेको नेपालीको बुझाई छ । यसको कारण यहाँले के देख्नुभएको छ ? यसको स्थायी निराकरणको लागि केही बिशेष पहल गर्दै हुनुहुन्छ कि ?
-हामीले विगतबाट पाठ सिक्ने हो । तर विगतको कुरालाई हेरेर अगाडि सम्बन्ध राम्रो हुँदैन भन्नु ठीक हैन ।अब सम्बन्ध राम्रो हुन्छ किनभने नाकाबन्दीको चरण समाप्त भैसक्यो । नाकाबन्दी पश्चात् हामी धेरै अगाडि गयौँ । यो बाटोमा अब त्यस्ता किसिमका काम हुने छैनन् भन्ने हामीले विश्वास गर्ने आधारहरू छन् । तर नेपालले आफू सजग हुने आफूलाई बलियो पार्ने त काम गर्नैपर्छ । भारतसँगको हाम्रो सम्बन्धलाई ठूल्ठूला कठिनाइविहीन बनाउनतिर जानु पर्छ । भविष्य राम्रो छ । भविष्यमुखी हुनुपर्छ अतीतबाट पाठ सिक्तै भविष्य बनाउनुपर्छ र त्यो हामी गर्छौँ । साथमा नेपालले पनि आफूले बलियो हुने काम गर्दै आएको छ, गर्नुपर्छ । नेपाल पनि आर्थिक र राजिनितिक रूपले बलियो हुनु पर्छ ।

१०. अन्त्यमा महामहीम राजदूतज्युले भन्नुपर्ने केही महत्त्वपूर्ण कुरा छन् कि ? महामहीम राजदूतज्यूलाई धेरैधेरै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
-नेपालको विकाशमा नेपाल-भारत सम्बन्धको निकै ठूलो महत्त्व रहेको छ । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध कै महत्त्व छ र त्यसमा भारतसँगको राम्रो सम्बन्धमा हामीले ठूलो महत्त्व देखेका छौँ । यसले अझ उचाई पाउँदै छ र यो दुवै देशको हितमा छ विश्वासको वातावरण बन्दै आएको छ । अझै कायम राख्नु पर्छ एकअर्काप्रति सम्मानको वातावरण पनि बनाउनु पर्छ दुवै देशका जनाताबीच जुन सद्भाव छ सोही अनुरूप नै हामीले आधुनिक सम्बन्ध अरू अगाडि बढाउनुपर्छ ।