ने वि संघको कथा, आफ्नै ब्यथा ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ने वि संघको कथा, आफ्नै ब्यथा !



नीलकंठ शर्मा

बि पि कोइरालाको दुई कृतिहरु “आफ्नो कथा, हिटलर र याहुदी” भर्खरै बनारसबाट प्रकाशित भएका थिए । नेपालमा यी दुबै पुस्तकहरु प्रतिबन्ध थिए । ने वि संघको चौथो अधिबेशन सन्चाल्न हुनु भन्दा पहिले यी पुस्तकहरु जसरी पनि काठमाडौं भित्र्याउनु पर्ने कांग्रेस पार्टीको नीति थियो । पार्टीहरु सबै प्रतिबन्धित थिए । कांग्रेसको नाम नै प्र नेका अर्थात प्रतिबन्धित नेपाली कांग्रेस थियो । बनारसबाट भैरहवा स्थित मैले पढ्ने पक्लिहवा क्याम्पस हुँदै यी पुस्तक प्रशासनको आँखा छलेर नेपाल भित्याउने नीति बनेछ ।

जिल्लाका कांग्रेस सचीव रामकृष्ण ताम्राकार (पुर्ब मन्त्री) ले म लगायत ४ जना साथीहरू लाई भैरहवा आफ्नो घरमा बोलाएर यी पुस्तक नेपाल ल्याउने जिम्मा दिए । हामीले कलेजको नजिकैको डण्डा खोलामा राती डुङ्गा चलाएर र सिमानामा लाग्ने बुधबारे हाटको दिन तरकारी र खाद्यान्न सग बोरामा लुकाएर १५ दिन जतिमा यी पुस्तक होस्टलको आफ्नो कोठा हुँदै रामकृष्ण ताम्राकारको घर पुर्यायौ । यो कुरा स्थानीय मण्डलेहरु मार्फत तत्कालीन मण्डलेका नाइके दिपक बोहरा हुदै प्रशासन सग पुग्यो । अनि त्यसको नतिजा हामी पुलिसको पाहुना हुन पुग्यौ । त्यो बेलाको पुलिस …..हामी राजनीति पार्टीको काम गर्ने, अ. त. उमेरले हामी दुधे बालक ! अरु त के लेख्नु ? बयान गर्ने शव्द नै छैन ।

त्यो घटना पछि पनि दिपक बोहराले भैरहवा स्थित आफ्नो घरमा नै बोलाएर पनि हामीलाई अनेकौं पटक डर त्रास र धम्की दिए । म ने वि संघको चौथो महाधिवेशनमा सहभागी हुन काठमाडौं आए । बि पि का पुस्तक हामी भन्दा पहिले नै काठमाडौं आइपुगेको थाह पाएर यो काम आफुहरुले गरेको भनेर सुनाउदा देशभरि बाट आएका साथीहरूको अगाडि सान नै कति ठूलो ! काठमाडौंको बनकालीको धर्मशालामा रात बितायौ । भोलिपल्ट कार्यक्रम त्यही हुने तय थियो । एकाबिहानै मण्डले हरुको जत्था र पुलिसहरु आएर राती बनाएको मन्च तोडे । दर्जनौं विद्यार्थी नेताहरु पक्राउ परे । मैले चन्द्र शमशेर राणाको पालाको बेतको २-४ लौरो खाए । दाहिने हातको कुहिनामा अझै सुनिएको मुस्लो छ । हाम्रो भागाभाग र बिचल्ली भयो । कैयौं साथिहरु घाइते र अपांग भए । पछि हामीले बलवहादुर के सि अध्यक्ष र प्रकाश शरण महत महामन्त्री भएको कुरा थाह पायौ ।

अनेक यातना पाएर उतै अर्थात मण्डले नेता दिपक बोहराको कर्मथलो भैरहवा नै लागे । उनको दबाब र धम्की निरन्तर खाइयो । कहिले उनका चेला चपेटा होस्टलमा आएर पिट्थे । प्रतिकुल हुदा हामी भागेर भारतीय सिमा नौतुनवा जान्थ्यौ । पछि अखिलका साथीहरू सग भद्र सहमति गरि मण्डलेको प्रतिकार पनि गर्यौ । आज ने बि संघको ११ औ महाधिवेशन चल्दैछ । लोकतन्त्र र प्रजातन्त्रको जननी हु भन्ने कांग्रेस पार्टीको सभापति शेरबहादुर देउवा छन । उनी ने वि संघको पुर्ब अध्यक्ष समेत हुन । आज उनै देउवाको हैकम भएको बेला “उनै मण्डले दिपक बोहरा” पुन मन्त्री भएछन । आखिर लोकतन्त्रमा कसैको हार हुदैन भनेको यहि त होला !

(अहिले म सामाजिक अभियानमा सकृय छु । हालका माननीय मन्त्री दिपक बोहरा प्रती र अन्य कुनै पनि पात्रसग मेरो कुनै रिस राग र पुर्बाग्रह छैन । एउटा प्रसङ्गले कुरा उठाएको मात्र  हु  ।)