निम्बार्क र नानक नेपालमा « Himal Post | Online News Revolution
Logo

निम्बार्क र नानक नेपालमा



-गोविन्द शरण उपाध्याय

द्वैताद्वैतमतका संस्थापक श्री निम्बार्कचार्य र गौ-रक्षाका लागि वलिदान दिने शिख अर्थात् शिष्य-परम्परा आरम्भ गर्ने गुरू नानकदेवको ५५० सौं जन्मजयन्ति परेको हुँदा श्रीनिम्बार्क सम्प्रदायका विनम्र अनुयायी र नानकदेवका अनुयायीहरूमा हार्दिक अभिनन्दन तथा बधाई ।

आचार्य निम्बार्कको जन्म अहिलेको भारतीय राज्य महाराष्ट्रको मुंगी नामक गाउँका ब्राह्मण अरूण मुनि र जयन्तिबाट भएको श्रुति छ । केही विद्वानहरूले नियमानंदको जन्म ई.पू. ३०९६ मा भएको मानेका छन् भने अन्य केही विद्वानहरू निम्बार्कको जन्म सन् ११३०-१२०० का बीचमा रहेको अनुमान गरेका छन् । आचार्य निम्बार्कले आफ्नो द्वैताद्वैत मत स्थापित गर्दा कुनै पनि पूर्ववर्ति आचार्यहरूको उल्लेख र समालोचना नगरेका हुँदा निजको समय आचार्य शंकरभन्दा पनि परवर्ती रहेको अनुमान पनि गरिन्छ ।

जे-होस्, आचार्य निम्बार्कले बाल्यकालमै घर त्यागेर गोवर्धन पहाडसंगै जोडिएको निमगाउँमा आएर तपस्या गरेको र सोही ठाउँमा उनको परीक्षा लिन ब्रह्माले एउटा ब्राह्मणको भेष बनाई सांझका वेला भिक्षा मागेकोमा नियमानंदले आश्रमस्थित नीमको रूखमा तपोवलले सूर्य स्थापनागरि भोजन गराएकोले उनी निम्बार्क भएका हुन् भन्ने साम्प्रदायिक मान्यता रहेको छ ।

चार वैष्णवसम्प्रदायहरूमा आचार्य निम्बार्क सनकसम्प्रदायका संस्थापक हुन् र यिनले नारद मुनिबाट श्रीराधाकृष्णको उपासना मन्त्र प्राप्त गरेका थिए । चार सम्प्रदायमा आचार्य निम्बार्कलाई “सुदर्शन चक्र”को अवतारका रूपमा सम्मान गरिन्छ । आचार्य निम्बार्क एकान्तप्रिय, साधना प्रिय र आफ्ना उपास्यदेव राधाकृष्णका साधक थिए । उनले वेदान्त दशस्लोकी तथा श्रीकृष्णस्तवराज जस्ता केही साना ग्रन्थहरूको प्रणयन गरेका छन् । वेदान्त दशश्लोकी सम्भवत: सबैभन्दा वेदान्तसूत्रको संक्षिप्तमा गरिएको टीका हो ।

निम्बार्क सम्प्रदाय एउटा प्रायोगिक दार्शनिक विचार धारा हो जुन हंस भगवानदेखि आरम्भ भएको भन्ने मान्यता छ । हाल विश्वभरि निम्बार्क सम्प्रदायका अनुयायी फैलिएका छन् । भारतको मथुरा-वृन्दावन एसको मुख्य केन्द्र हो भने राजस्थानको अजमेर (सलेमवाद) मा एसको भारतीय केन्द्र रहेको छ । नेपाली मूलका अनेकौं सन्तहरूले हाल पनि भारतका विभिन्न ठाउँमा निम्बार्क सम्प्रदायका गुरुको रूपमा सेवा गरिरहेका छन् जसमा हरिब्यास निकुन्जका महन्त मुरारी बाबालाई म सम्झन्छु । कथाकार त असंख्य नै छन् भन्न मिल्छ ।

नेपालमा भने केलादी (स्याङ्गजा)का भागवत शरणले वृन्दावनबाट दीक्षाप्राप्त गरि फर्केर आएपछि तेही पीठ स्थापना उपासना आरम्भ गरेपछि नेपालमा निम्बार्क सम्प्रदायको विस्तार भएको मान्नेहरू पनि छन् भने पाटनको श्रीकृष्णमन्दिरसंग निम्बार्क सम्प्रदायको नाता रहेको भन्ने अभिमत पनि छ । जेहोस्, हाल नेपालको पूर्वदेखि पश्चिमसम्म निम्बार्क सम्प्रदाय फैलिएको छ जहाँ भक्तहरू गुरुशिष्य परम्पराको अनुसरण गर्दै राधाकृष्णको उपासना गर्छन् ।

नेपालमा निम्बार्क सम्प्रदायका साधकहरूलाई सम्झनुपर्दा स्व.भागवत भागवत शरणजी (केलादी), स्व. नरहरी शरण जी (सेतीवेणी), स्व.पिताम्बर शरण (पर्वत), प्राध्यापक हरिशरण उपाध्याय र उहाँका दाजु, (गैडाकोट), प्रा. मुकुन्दशरण उपाध्याय (गहनापोखरी काठमाडौँ) स्व. लक्ष्मीशरण जी (देवघाट), प्राध्यापक स्व. खेमराज केशव शरण (काठमाडौँ), मोहनशरण देव चतराआदि (जगदगुरु) अनेकौं छन् । प्राज्ञ मुकुन्दशरण उपाध्यायले त आचार्य निम्बार्कउपर संस्कृत काब्य नै लेखेर उपाधिसमेत प्राप्त गरेका थिए । पाश्चात्य मुलुकमा निम्बार्क सम्प्रदायको विस्तार गर्नेहरूमा वृन्दावनमा मुख्यकेन्द्र रहेका नेपाली गोपालशरण देवको ठूलो योगदान छ ।

नेपालमा लगभग ४ लाख जति निम्बार्क सम्प्रदायका अनुयायी रहेको अनुमान नेपालमा रहेका निम्बार्की संघसंस्थाको रहेको छ ।
०००

गुरू नानक देव (१४६९-१५३९) को जन्म हालको पाकिस्तानको नानकाना भन्ने ठाउंमा हिन्दू खत्री परिवारका कल्याण चन्द दास र माता त्रिप्ताबाट भएको थियो । उनका वाबु तेस गाउँका मुखिया थिए । उनले १६ वर्षको उमेर देखि आध्यात्मिकतामा अभिरुचि देखाउन आरम्भ गरेका थिए भने र उनले लेखेको गुरु ग्रन्थ-सहिवका आधारमा शिखपन्थको स्थापना भएको हो । गुरु नानकका दूई छोराहरू मध्ये देवचन्द्रले हिन्दूसनातनधर्मकै अंगका रूपमा उदासीन सम्प्रदायको विकास गरे भने उनका दोस्रा छोराले शिख धर्म नै खडा गरे ।

सिखधर्मका पाँचौं गुरू गोविन्दसिंहले मुगलहरू विरुद्ध हिन्दु धर्मको रक्षाका लागि आफ्ना सन्तानहरू गुमाएको र अन्त्यमा आफैले पनि मृत्युरोजेको गाथा निकै प्रचलित छ । गुरू गोविन्दपछि गुरूपरम्पराको अन्त्य भएको हो ।

शिख धर्मको मूल थलो भारत र पाकिस्तानको पंजावप्रान्त हो । गुरुद्वारा एसको आराधना थलो हो तर देवचन्द्रजीले भने नानकमठको स्थापना गरे । काठमाडौँको नयाबजारमा गुरुनानक कैलाश जाँदा तीन दिन निवास गरेर स्थापित गरेको नानक मठ छ । ललितपुर्को कुपन्डोलमा एउटा भव्य गुरुद्वारा छ जसका संचालक स्याङ्गजाको ब्राह्मण परिवारबाट धर्मपरिवर्तन गरी शिख बनेका रामसिंहले गर्छन् । विराटनगर, बीरगंज, नेपाल गंजमा शिखहरूको बसोवास छ भने उनीहरू कृषिसहित अन्य व्यवसायमा संलग्न छन् । नेपालमा करिव ५ हजार शिखहरू रहेको अनुमान गरिन्छ भने केहीले “आफुलाई पंजावी ठानेर नागरिकतामा समस्या गर्ने” गुनासो गरेको मैले सुनेको छु ।

हाल विश्वभरी करिव २ करोड शिखहरू रहेको अनुमान गरिन्छ भने भारतपछि सबैभन्दा बढी शिखहरूको वसोवास क्यानाडामा छ । हाल नेपालका लागि भारतीय राजदुत श्री मंजीव पुरी पनि सिखसम्प्रदायका छन् र यिनकै पहलमा एउटा किताव “सिख हेरिटेज अफ नेपाल” हालै भारतीय दुतावासले प्रकाशित गरेको छ । हाल गुरु नानक देवको ५५० सौं जन्मउत्सव चलिरहेको छ ।
विश्वभरी र नेपालका शिखहरूमा हार्दिक शुभकामना ।