सरकारको चेतावनी: कोरोनासँगै निपाह भाइरससँग लड्न तयारी गरौँ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकारको चेतावनी: कोरोनासँगै निपाह भाइरससँग लड्न तयारी गरौँ



काठमाडौं- सरकारले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा निपाहको भाइरसको सङ्क्रमण पुष्टि भएकाले नेपालमा पनि फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।

भारतसँग खुला सिमा भएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए । ‘भारतमा निपाह भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसको जोखिम बढेको छ । अब हामीले कोरोनासँगै अर्को महामारीसँग जुध्न तयार हुनुपर्छ, यसबारे देशभरका १ सय १८ स्वास्थ्य निकायलाई सचेत गराउँदै पत्र पठाइसकेका छौं’ उनले भने ।

भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ भने यस भाइरसको संक्रमणबाट एक १२ वर्षिय बालकको मृत्यु समेत भइसकेको छ । प्रवक्ता डा.पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ ।

के हो निपाह भाइरस ?

विश्व स्वास्थ्य संगठनका अनुसार निपाभाइरस (एनआईभी) जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस निकै छिटो फैलिने भाइरस हो, जसले जनावर र मानिसलाई गम्भीर रुपमा बिरामी बनाउँछ ।

नेपालको तराई मधेसको जिल्लामा पनि खजुरको रुखबाट निस्किने तरल पदार्थ संकलन गरेर गर्मीको समयमा खाने गरिन्छ । ‘ताडी’ भनिने यस तरल पदार्थएकदमै नशालु हुन्छ ।

तर, यदि चमेरो आउँछ भने ताडी नखानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । भाइरसबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट यो रोग मानिसमा सर्ने हुन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनकाअनुसार यो भाइरस पहिलो पटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो ।

यो भाइरस सबैभन्दा पहिले मलेसियाको कम्पुङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको थियो । त्यसपछि त्यो भाइरसलाई ‘निपा’नाम दिइएको थियो । त्यतिबेला यो भाइरस घरपालुवा जनावर सुँगुरको माध्यमबाट मानिसमा सरेको थियो ।

जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए । र १०० जनाको मृत्यु भएको थियो । यस भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो । त्यसपछि भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर पछिल्लो समय भारत र बंगलादेशमा भने बेला–बेलामा संक्रमण देखिँदै आएको छ । भारतमा अहिले तीन वर्षपछि पुन यो भाइरस संक्रमण फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुने बताए ।

निपा भाइरसका लक्षणहरु:

यो रोग लागेमा ज्वरो आउने, शरीर, घाँटी र टाउको दुख्ने, बिस्तारै रिंगटा लाग्ने, लोलाउने र बेहोस हुने, बान्ताहुने, शरीर कमजोर हुने, नशासम्बन्धी समस्या देखिने, शरीरमा एलर्जील गायतका अन्य समस्या देखिने, कसै कसैलाई निमोनिया तथा श्वास प्रश्वाससम्बन्धी समस्या देखिने, मानसिक असन्तुलन पैदा गर्ने लगायतका लक्षणहरु देखिन्छन् ।

यस्ताखाले लक्षण देखा परे २४ देखि ४८ घण्टाभित्रै बिरामी अचेत अवस्थामा जान सक्ने डाक्टर पुनले बताए । यस भाइरसका अधिकांश लक्षणहरु अहिले देखिएका रोगहरु जस्तै कोरोना, डेंगु, स्क्रब्स टाइफसलगायतका रोगसँग निपाहको लक्षण मिल्ने देखिन्छ ।

बच्न के गर्ने ?

यस संक्रमणको लक्षण देखिएर परीक्षण गर्नुभन्दा संक्रमण हुनै नदिनका लागि हामी सचेत हुनुपर्छ । त्यहि अनुसारको सावधानीहरु अपनाउनुपर्छ ।

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ । त्यसो गर्न सके संक्रमण हुन सक्ने सम्भावनाबाट थोरै भएपनि बच्न सकिन्छ ।

के भन्छन विशेषज्ञ ?

नेपालमा निपाहको जोखिम उच्च रहेको विशेषज्ञ डा. पुन बताउँछन् । यो भाइरस चमेरो र सुँगुरबाट सर्ने हुँदा कृषक तथा पशुपालकहरुले विशेष सुरक्षा अपनाउनुपर्नेमा उनले जोड दिए । साथै भाइरस एक व्यक्तिबाट अर्कोमा सहजै सर्ने भन्दै डा पुनले १० जनालाई निपाहले आक्रमण गरेमा ५ जना मात्र बच्न सक्ने बताए ।

सन् १९९९ मामलेसियाका सुँगुर फार्ममा पहिलोपल्ट देखा परेको निपाह अहिले भारतमा देखा परेको विशेषज्ञ डाक्टर पुन बताउँछन् । निपाह सार्ने चमेरो र सुँगुर दुबै नेपालमा पाइने भन्दै उनले चराचुरुङ्गीले खाएर छाडेका फलफूल तथा सुँगुरको मासु नखान विशेष आग्रह गरे ।

हालसम्म औषधि फेला नपरिसकेको निपाह भाइरसले भारतमा हमला गरिसकेको र नेपालका केही स्थानमा अज्ञात रोगका कारण मृत्यु भएको भनिएकोमा पनि यसको संक्रमण हुनसक्ने उनको दाबी छ । उक्त भाइरसले मस्तिष्कमा आक्रमण गर्ने भएकाले पनि यसबाट बच्ने सम्भावना निकै कम रहने पुनले बताए ।

निपा भाइरस संक्रमितको सहज उपचारका लागि हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टर आवश्यक पर्छ । विज्ञहरूले तीन वर्षअघि नै निपा भाइरसजस्ता अत्यन्त घातक संक्रमणको उपचारका लागि आवश्यक संरचना नभएको भन्दै हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएका थिए । तर, हालसम्म पनि यसको कुनै व्यवस्था हुन सकेको छैन ।