निर्वाचन आयोगको भन्छ , निर्वाचन ४ र २१ मंसिरमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

निर्वाचन आयोगको भन्छ , निर्वाचन ४ र २१ मंसिरमा



 

२ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक तर दुई चरणमा गर्न प्रस्ताव गरेको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रसँगको छलफलमा आयोगले हिमालीसहित ३१ जिल्लामा ४ मंसिर र अन्य जिल्लामा २१ मंसिरमा गर्न प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख तीन दलका नेता र निर्वाचन आयोगका आयुक्तबीच निर्वाचनका विषयमा छलफल हुँदै । तस्बिर : रासस
प्रदेश र केन्द्रको एकैपटक तर दुई चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । आयोगले एक–दुई दिनभित्रै मिति घोषणा गर्नसमेत आग्रह गरेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘आयोगका पदाधिकारीले ५ भदौभित्र दुईवटा ऐन र १५ भदौभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराइदिनुस् र एक–दुई दिनभित्रै मिति घोषणा गरिदिनुस् भन्नुभयो ।’

आयोगको प्रस्तावअनुसार सरकारले निर्वाचन मिति घोषणा गर्नेछ । आयोगले मतदाता नामावली संकलनका लागि तोकेको मिति सकिने अन्तिम दिन शनिबार घोषणा हुने बताइएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्ने टुंगो लागेको बताए । ‘दुवै निर्वाचन एकैदिन गर्ने टुंगो भएको छ, अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन हुन्छ,’ निर्वाचन आयुक्त दाहालले भने ।

मतपत्रमा दुई विकल्प

प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्दा व्यवस्थापकीय र प्राविधिक समस्या हुनेतर्फ पनि आयोगले दलहरूको ध्यानाकर्षण गराएको छ । आयुक्त दाहालले दुवै निर्वाचन एकै मितिमा गर्दा व्यवस्थापकीय जटिलता आउनेबारे भने बैठकमा आयोगले जानकारी गराएको बताए । ‘निर्वाचन एकै मितिमा गर्ने भन्ने निर्णय त भयो तर कसरी कुन विधि र प्रक्रियाद्वारा गर्ने भन्नेमा भने निर्णय भएको छैन,’ उनले भने ।

आयोगले मतपत्र कस्तो बनाउने भन्नेमा आयोगले दुईवटा विकल्प दिएको छ । पार्टीका उम्मेदवारले पाएको मत नै समानुपातिकमा गणना गर्नेगरी प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै मतपत्र बनाउने र प्रत्यक्ष तथा समानुपातिकका लागि छुट्टाछुट्टै मतपत्र बनाउने विकल्प प्रस्ताव गरेको हो । एमाले नेता नेम्वाङका अनुसार दोस्रो विकल्पमा दलहरू सकारात्मक देखिएका छन् । बैठकपछि दुवै निर्वाचन एकै मितिमा गर्ने विषयमा सहमति जुटेको र एक–दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्वाचनमा मतपत्र नै प्रयोग हुनेछ ।

श्रेष्ठले प्रदेश र संघीय संसद्को निर्वाचनका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र प्रयोगमा आउने बताए । ‘प्रत्यक्षबाट निर्वाचित हुने प्रणालीका लागि एउटै मतपत्र हुनेछ, सो मतपत्रमा दुईतिर चुनाव चिह्नहरू राखिएका हुनेछन्, एउटामा प्रदेशसभा तथा अर्कोमा संघीय संसद्का लागि मतदान गर्न सकिनेछ,’ उनले भने ।त्यस्तै समानुपातिक प्रणालीका लागि पनि एउटै मतपत्रमा दुईतिर चुनाव चिह्नहरू हुनेछन् । सो मतपत्रबाट प्रदेशसभा तथा संघीय संसद्का लागि मतदान हुनेछ ।
बैठकमा प्रमुख आयुक्त यादवले पहिलो चरणमा ३१ जिल्लामा र बाँकी जिल्लामा केही दिनपछि निर्वाचन गर्न प्रस्ताव गरेका थिए । तर सबै जिल्लामा एकैपटक निर्वाचन गर्ने सहमति भएको हो । आयोगले देखाएको व्यवस्थापकीय जटिलतामा भने सत्तारूढ दलहरूले आयोगलाई निर्वाचनमा सहज हुनेगरी निर्वाचन ऐन तथा क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराई निर्वाचन मिति जतिसक्दो छिटो घोषणा गर्ने आश्वासन दिएका छन् ।
बैठकमा आयोगले मंसिर दोस्रो सातापछि हिमाली जिल्लामा निर्वाचन गर्न सम्भव नहुने भन्दै पहिलो साता नै निर्वाचन गर्न प्रस्ताव गरेको हो । यस्तै दोस्रो सातापछि निर्वाचन गर्दा निर्वाचन प्रयोजनका सामान तथा मतपत्र ढुवानी र कर्मचारी परिचालनमा समेत समस्या हुने आयोगले बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार तीन दिनदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका विषयमा दलहरूसँग छलफल गर्दै आएका छन् । बुधबार मात्रै दलहरूबीच दुवै निर्वाचन एकैपटक गर्ने सहमति भएको थियो ।
राजधानी दैनिकमा खबर छ