एउटा सशक्त बामदेवको निरिह कहानी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एउटा सशक्त बामदेवको निरिह कहानी



काठमाडौं । कुनै समय पार्टीदेखि सरकारसम्म प्रभावशाली भूमिका खेल्ने बामदेव यतिबेला निकै निरिह देखिएका छन् । यसअघि पनि गौतम बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारी गरेर अन्तिममा ब्याक भएका थिए ।

नेकपाले सो क्षेत्रका प्रतिनिधीसभा सदस्य नन्दलाल रोकायलाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउले तयारी गरेको थियो । त्यो अभियान सफल नभएपछि गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई फिर्ता बोलाउने अन्तिम तयारी भयो । गौतमले चुनाव लड्ने तयारी नै थालेपछि फेरी ब्याक हुनुपर्यो ।

गत निर्वाचनमा बर्दिया १ मा कांग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता बामदेव गौतमले कास्कीमा हुन गइरहेको उपनिर्वाचनमा पनि भाग नलिने जनाएका छन् । 

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । 

तर, गौतमले प्रस्ताव अस्वीकार गर्दै उम्मेदवारी नदिने बताएका छन् । उनले फेसबुकमा स्ट्याटस् लेख्दै भनेका छन्, ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु । तर, मैले उम्मेदवारी नदिने स्पष्ट पार्न चाहन्छु।’

गौतमले यसअघि २०७४ को निर्वाचनमा बर्दियामा चुनाव हारेको स्मरण गर्दै भनेका छन्, ‘उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’ 

उनले कास्कीमा आफू उपयुक्त उम्मेदवार नभएको पनि टिप्पणी गरेका छन्। ‘म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ’, गौतमले भनेका छन्, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरू उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

कास्कीबाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए।  उनको हेलिकप्टर दुर्घटनामा देहावसान भएपछि उक्त क्षेत्र अहिले खाली छ । त्यहाँ आउँदो मंसिर १४ गते उपनिर्वाचित हुँदैछ । यसलाई मध्यनजर गर्दै अध्यक्षद्वयसहित नेताहरुले वामदेवलाई उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

तर, यस पटक बामदेवले उठ्ने हिम्मत गर्न सकेनन् । यो भन्दा पहिले विभिन्न स्थानबाट चुनाव लड्ने चर्चामा रहने गरेका गौतमले यस पटक भने हार्न सक्ने भन्दै चुनाव लड्न नचाहेका हुन् । उनले आफू चुनाव लड्दा नजित्ने देखेपछि पछि हटेको नेकपाका एन नेताले बताए ।

पार्टीको प्रभावकारी नेताको रुपमा रहेका उनी चुनाव हारेर पनि पार्टीमा प्रभुत्व भने जमाइरहेको देखिन्छ । एक समय नेकपाका चतुर नेताको रुपमा चिनिन्थे, सशक्त भूमिकामा देखिन्थे तर अहिले भने निर्वाचनकाण्ड र पार्टीमा देखिएका कतिपय घटनाक्रमले उनलाई निरिह देखाउन थालेको छ ।