झन् कमजोर बन्दै काङ्ग्रेस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

झन् कमजोर बन्दै काङ्ग्रेस



काठमाडौं- कांग्रेस केन्द्रसहित सातै प्रदेशमा सरकार बाहिर छ । स्थानीय सरकारमा पनि उसको उपस्थिति कमजोर छ ।

प्रदेश २ को सरकारमा कांग्रेसले प्रतिपक्षको हैसियतसमेत पाएको छैन । संसद् प्रतिपक्षको हुने सैद्धान्तिक मान्यता छ तर संघ र प्रदेशका संसद्मा हुने गतिविधिले त्यसो भन्दैनन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

परम्परागत शक्तिशाली पार्टीको उपस्थिति संसद्मा प्रभावी छैन । त्यसैको झोक फेर्न हुन सक्छ, कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मुखै खोले, ‘सडकमा रेलिङ र सदनमा कुर्ची नभाँचेको भएर हामीलाई हेपेको ?’

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्ष्य गरेरै देउवाले यस्तो आक्रोश पोखेका थिए। तर सदनमा प्रतिपक्षको भूमिका बलियो बनाउन उनी आफैंले कस्तो भूमिका खेले त भन्ने प्रश्न भने पार्टीभित्रैबाट देउवाले बारम्बार सामना गर्नुपरेको छ ।

लाउडा जहाज भाडा प्रकरणमा तत्कालीन एमालेले ५७ दिन संसद् अवरुद्ध गर्दा वाइडबडी जहाज खरिद प्रकरणमा किन कांग्रेसले एक दिन संसद् अवरुद्ध गरेन?

बालुवाटार जग्गा प्रकरण, ३३ किलो सुनकाण्ड, भारतीय दबाबमा तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्ने सरकारको निर्णयलगायत भ्रष्टाचार र अनियमितताका विषयमा किन कांग्रेसले संसद् तताउन सकेन ? पार्टीभित्रैबाट देउवालाई बारम्बार सोधिने प्रश्न हुन् यी ।

कांग्रेसका युवा नेता गगन थापाका अनुसार संख्यात्मक रूपमा कमजोर हुनु मात्रैले कांग्रेस संसद्मा निष्प्रभावी भएको होइन । सदनमा विपक्षीको संख्या जहिल्यै कमजोर हुन्छ । बलियो बन्न सडकसँग सदनलाई एकाकार गर्नुपर्छ ।

‘सडकले दबाब दिन सक्यो भने मात्रै सरकारले टेर्छ, जस्तो कि, बाँके घटना र गुठी विधेयकका विषयमा सडकको दबाबले सरकार पछि हट्नुपरेको थियो,’ थापाले भने ।

सदन मात्रै होइन, कांग्रेस सडकमा पनि कमजोर छ । पार्टीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान सकिन लाग्दासमेत कांग्रेसले भ्रष्टाचार र अनियमितताका ठूला काण्डका विरुद्ध सडक तताउन सकेको छैन ।

जागरण अभियान ‘केही नहुनुभन्दा यति भए नि राम्रो’ भन्ने शैलीमा चलिरहेको छ । सडक बलियो बनाउन केन्द्रको आदेशभन्दा पार्टीको संगठन चुस्त हुनुपर्छ । संगठन चुस्त बनाउन पार्टीका निकाय र भ्रातृ संस्था क्रियाशील हुनुपर्छ । अहिले यो दुवै छैन ।