निर्मला हत्या प्रकरणमा नयाँ 'ट्वीस्ट'- ४ वर्षदेखि फरार व्यक्ति भेटिए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्मला हत्या प्रकरणमा नयाँ ‘ट्वीस्ट’- ४ वर्षदेखि फरार व्यक्ति भेटिए



काठमाडौं । जति सरकार परिवर्तन भएपनि सुल्झिन नसको निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गरिरहेको प्रहरीले चार वर्षदेखि फरार रहेका एक व्यक्तिलाई फेला पारेको छ । प्रहरी स्रोतका अनुसार निर्मलाको घटनालगत्तै भारत गएका ती व्यक्तिको डीएनए स्याम्पल समेत लिन सफल भएको छ ।

निर्मलाको हत्यापछि प्रहरीले अत्यधिक खोजीमा रहेका ती व्यक्तिबाट घटनाले नयाँ मोड लिनसक्ने प्रहरीले आशा गरेको स्रोतले बताएको छ । भारतमा बसोबास गर्दै आएका ती व्यक्तिलाई नेपाल ल्याउन निरन्तर प्रयासमा रहेको प्रहरी उनलाई भेट्याउन सफल भएको छ ।

स्रोतका अनुसार चार वर्षदेखि भारतमा रहेका उनको रगतको नमुना संकलन गरिएको हो । ती व्यक्तिबारे थप कुनै कुरा खुलाइएको छैन भने उनीबारे बाहिर नबताउन प्रहरीलाई सर्कुलर समेत् गरिएको बताइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । २०७५ साल साउन १० गते निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीको अनुसन्धान टोलीले ती व्यक्तिको रगत स्याम्पल संकलन गरेको हो ।

पहिले नेपालमा बस्दै आएका ती व्यक्ति निर्मलाको बलात्कार र हत्यालगत्तै भारत पुगेको प्रहरी स्रोतको दाबी छ । ४ वर्षभन्दा लामो समयसम्म पनि नेपाल नफर्किएका ती व्यक्तिको डीएनए स्याम्पल लिन प्रहरीले धेरै ठूलो मिहेनत गरेको बताइएको छ । स्रोतका अनुसार ती व्यक्ति कंचनपुरकै स्थानीय बासिन्दा हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।

प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका ती व्यक्तिको डीएनए स्याम्पल संकलनपछि निर्मला प्रकरणले नयाँ मोड लिनसक्ने सम्भावना रहेको बताईएको छ । प्रहरीले ती व्यक्तिबारे थप केहि खुलाउन चाहेको छैन ।