दल दाबी गर्न निर्वाचन आयोग जाँदै ठाकुर समूह - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दल दाबी गर्न निर्वाचन आयोग जाँदै ठाकुर समूह



काठमाडौं- ११ जना मन्त्रीहरूलाई सर्वोच्च अदालतले अवैध घोषणा गरेपछि छलफलका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

सरकारमा सामेल हुने बिषयले नै पार्टीभित्र सुरू भएको अन्तर्द्वन्द्वले जसपा विभाजनको डिलमै पुगेका बेला निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न ठाकुर समूह सक्रिय बनेको छ । बुधवार कानून व्यवसायीसँग छलफल गरेका ठाकुरले पार्टीको आधिकारिकता दावीका लागि निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

अर्का उपेन्द्र यादवले अलग्गै बैठक राखेर ठाकुरमाथि कारवाही गरिसकेका छन् । पार्टी आधिकारिकताको दाबी निर्वाचन आयोगमा गरिसकेका छन् । त्यतिमात्र होइन किर्ते र जालसाजी गरेको भन्दै उपेन्द्र पक्ष महन्थविरुद्ध कानुनी लडाइमा जाँदैछन् ।

ठाकुरले भने पार्टीको प्रथम अध्यक्ष र २०७७ पुस ७ गतेको बैठकले कार्यकारिणी समितिमा हेरफेर र निर्णय प्रमाणिकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा दावी प्रस्तुत गर्ने तयारी गरेका छन् । तर यादव पक्षले भने पुस ७ को बैठकले ठाकुरलाई त्यस्तो अधिकार नदिएको भन्दै किर्ते गरेको आरोप लगाएको छ ।

ठाकुरले आफूलाई अधिकार दिइसकेको भन्दै कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेर निर्वाचन आयोगलाई पठाएका थिए । निर्वाचन आयोगले भने कार्यकारीणी सदस्य थप्न मानेन ।