प्रहरीको निर्वाचन तयारी समिति गठन: पोखरेलको नेतृत्व, ३७ सदस्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रहरीको निर्वाचन तयारी समिति गठन: पोखरेलको नेतृत्व, ३७ सदस्य



काठमाडौं- नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो ।

समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसमेत छन् । निर्वाचन तयारी तथा समन्वय समितिको नेतृत्व पाएका पोखरेलले निर्वाचनका लागि शान्ति सुरक्षाको योजना, रणनीतिदेखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनदेखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम सुरु गरिएको जानकारी दिए ।

‘निर्वाचनका लागि आवश्यक सुरक्षा योजना, जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोतसाधनका विषयमा प्रारम्भिक अध्ययनको काम सुरु गरिएको छ,’ एआईजी पोखरेलले राजधानीसँग भने ।

समितिले म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाकासमेत तयार गर्नेछ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदान स्थलको पुनरावलोकनको काम सकेपछि निर्णय हुनेछ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम गरिरहेको छ ।

समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने स्रोतसाधनको माग गर्नेछ । यसअघि गृह मन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई निर्देशन दिएको थियो ।