निर्वाचनसम्म देउवा सरकार नै निरन्तर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्वाचनसम्म देउवा सरकार नै निरन्तर



काठमाडाैं । चुनावी तालमेलपछि पार्टी एकता गर्ने सहमति गरेका प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म सरकार परिवर्तनको खेलमा नलाग्ने भएका छन् । सरकार परिवर्तनको तयारीमा लागे घोषित निर्वाचन प्रभावित हुने भएकाले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिन उनीहरू सहमत भएका छन् ।

अाजको नयाँ पत्रिकामा खबर छ-सरकार परिवर्तन गर्दा वा माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा कांग्रेस नेतृत्वको सरकारले १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्न सक्ने भएकाले त्यतातर्फ आफूहरू नलागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘अहिले सरकार परिवर्तनतर्फ सोच्दा वा माओवादी केन्द्रका मन्त्री फिर्ता बोलाइँदा सरकारले यही कारण देखाउँदै चुनाव सार्न सक्छ । चुनाव सरेको दोष हामीमाथि आउँछ । यसकारण सरकार परिवर्तनतर्फ हाम्रो सोच गएको छैन,’ सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले भने ।

४ कात्तिकमा संसद्को म्याद सकिएपछि सरकारको हैसियत कामचलाउ मात्रै हुने भएकाले एमाले–माओवादी निर्वाचनमा केन्द्रित

पूर्वसभामुखसमेत रहेका नेम्वाङले ४ कात्तिकमा स्वतः संसद् विघटन भएपछि कामचलाउ सरकारले निर्वाचनको मिति सार्न नमिल्ने जिकिर गरे । घोषित प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा गराउनुपर्ने पक्षमा आफूहरू रहेकाले सरकार परिवर्तनको खेलमा नलाग्ने उनले बताए । एमाले–माओवादी गठबन्धनसँग सरकार फेर्न बहुमत पनि छैन ।

कांग्रेस नेतृत्वकै सरकारले निर्वाचन गराउँछ : माओवादी केन्द्र
रेखा शर्मा
माओवादी प्रमुख सचेतक

माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले स्थानीय तहको पहिलो चरणको निर्वाचन माओवादी नेतृत्वको सरकारले गर्ने र बाँकी निर्वाचन कांग्रेस नेतृत्वको सरकारले गर्ने सहमतिअनुसार नै आफूहरू अघि बढ्ने बताइन् । ‘अध्यक्ष प्रचण्डले निर्वाचनसम्म सरकारमै सहभागी हुने बताउनुभएको छ । एमालेले समेत सरकार परिवर्तन गर्नुपर्छ भनेको छैन । एमालेसँग चुनावमा तालमेल गर्ने र त्यसपछि मात्रै पार्टी एकता गर्ने भन्ने सहमति छ, अहिले नै सरकार परिवर्तनबारे कुनै छलफल भएको छैन,’ शर्माले भनिन् ।

कामचलाउ सरकारले चुनाव सार्न मिल्दैन : अधिकारी
राधेश्याम अधिकारी
कांग्रेस सांसद
कांग्रेस सांसद राधेश्याम अधिकारीले ४ कात्तिकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गर्नुपर्ने कुनै आधार नरहेको बताए । ४ कात्तिकमा संसद्को कार्यकाल सकिएपछि कामचलाउ हुने सरकारले निर्वाचनको मितिसमेत सार्न नमिल्ने उनको भनाइ छ । ‘अहिले सरकार परिवर्तनबारे वाम गठबन्धन लाग्नु भनेको निर्वाचन हुन नदिनु हो । त्यसो गरिए निर्वाचन सर्न सक्छ । तर, उनीहरूले नै सरकार परिवर्तन गर्न चाहेनन् भने प्रधानमन्त्रीले संसद् विघटन गर्नुपर्ने वा निर्वाचन सार्नुपर्ने कुनै कारण नै छैन,’ उनले भने ।