निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था



पोखरा, असार १२ गते ।

पश्चिम क्षेत्रअन्तर्गत प्रदेश नं ५ मा पर्ने लुम्बिनी अञ्चलका छ जिल्लामा यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

निर्वाचन तयारी सम्बन्धमा कार्यालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार गरिएको जानकारी दिँदैै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने गरी प्रभावकारी सुरक्षा प्रदान गरिने बताउनुभयो ।

संवेदनशीलताका आधारमा मतदानस्थलमा सातदेखि २३ जनासम्म प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिँदै उहाँले यस क्षेत्रमा सात हजार २८० जना प्रहरी र सात हजार ८७५ म्यादी प्रहरी परिचालन गरिएको बताउनुभयो ।

कुल १४ लाख दुई हजार ५७१ मतदाता रहेका यहाँका छ जिल्लाभित्र ३४६ अतिसंवेदनशील, २४५ संवेदनशील र सामान्य ३९१ मतदानस्थल रहेका छन् ।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् गर्नुपर्ने सुरक्षा रणनीति तय गरिएको कुँवरले बताउनुभयो । रासस