नियात्रा: चित्लाङ्ग सुपर एक्सप्रेस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नियात्रा: चित्लाङ्ग सुपर एक्सप्रेस



-लीलाराज दाहाल

स्रष्टा पदयात्राको बाह्रौं शृंखलाको लागि मकवानपुरको प्राचीन नेवारी बस्ती चित्लाङ्ग चयन भएसँगै पदयात्रीहरुको मनमा उमङ्गको लहर उठेको थियो । चित्लाङ्ग काठमाडौँदेखि खासै टाढा नरहेको र सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा भौगोलिक हिसावले पनि महत्वपूर्ण स्थान रहेकाले हामीहरुको छनौटमा परेको थियो । मैले चित्लाङ्गको नाम सम्म सुनेको, आफू स्वयम् नपुगेको हुँदा मनमा चित्लाङ्ग कहिले पुगिएला भन्ने रहरको हुरी चलिरहेको थियो । सुरम्य स्थान चित्लाङ्गले बाख्राको दुधबाट बन्ने चीज उत्पादनबाट प्रसिद्दी कमाइरहेको थियो । केही बर्ष अघिदेखि संचालनमा रहेका होम स्टेहरुका कारण पनि मलाई चित्लाङ्गको भूमी टेकौं टेकौं लागिरहेको थियो ।

२०७४ साल कार्तिक ३ गते शुक्रवारको पदयात्रामा चित्लाङ्ग जाने तय भएपछि बिवाहको कुरा छिनिएकी युवतीले आफ्नो भावि पतिका बारे मनमा विभिन्न कुरा खेलाए झैं मैले पनि चित्लाङ्गका बारे मनमा अनेकौं कुरा सोचिरहेको थिएँ । बाटो कस्तो होला । कति समयमा पुगिएला । भोलिपल्ट तिहारको भाइटीका छ , फर्केर आउन भ्याइएला कि नभ्याईएला । तिहार परेकाले मेरो मनमा यस्तै यस्तै कुरा खेलिरहेको थियो ।

पदयात्राको दिन बिहान । काठमाडौँको महत्वपूर्ण कलङ्की नाका तिहारमा घर जान तम्सिएका तमाम यात्रीहरुलाई घर पठाउने नित्य कर्ममा संलग्न भैसकेको थियो । यात्रीहरुको कल्याँङ्ग मल्यांङ्गसंगै कलङ्कीले आफूलाई जागा गराउंदाको दृश्य रमाइलो थियो । अरु समय यात्री नभेटेर निराश हुँदै यात्रीहरुको हातै समाउन आइपुग्ने बस र माइक्रोबसको टिकट काट्ने एजेन्टहरु आज कतै देखिएका थिएनन् । बरु घर जान बसको टिकट नपाएका यात्रीहरु नै उनीहरुलाई खोजिरहेका थिए ।

स्रष्टा पदयात्रा अंकित एकै किसिमका पोशाकमा सजिएका केही यात्रीहरु भने अनुहारमा साहसको मुस्कान सजाउंदै कसैलाई पर्खिरहेका थिए । उनीहरुको उद्देश्य र गन्तव्य फरक थियो । नत्र चाडवाडको मुखमा घर छोडेर को हिंड्छ अज्ञात स्थानतिर ? उनीहरुको मनलाई उमङ्गको हावाले शितलता प्रदान गरिरहेको थियो ।

डाक्टरद्वय भक्त राई र धनप्रसाद सुवेदी अन्य सदस्यको प्रतिक्षा गर्दा गर्दा थाकिसकेका थिए । पदयात्री मन्दिरा मधुश्री र शान्ती सापकोटाको आगमनसँगै उनीहरुको थकित अनुहारमा एक्कासी उज्यालोको लहर प्रकट भएको थियो । एकजना पदयात्री कलङ्की आइपुगे पनि पारिवारिक उल्झनका कारण हामीलाई साथ दिन सक्नु भएन ।

अव कलङ्कीमा अरु पदयात्री थपिने सम्भावनाको ढोका बन्द भैसकेको थियो । शशी थापा पण्डितले आउंछु भनेकीले आइपुग्न सक्ने झिनो आशा भने बाँकी नै थियो । कलङ्कीमा जम्मा भएका पदयात्रीहरु एक अर्काको अनुहार नियाल्छौं । धन सरको अनुहारमा तिहारको महत्वपूर्ण दिन परेकाले पारिवारिक जमघटमा रमाउन पाउने अवसर गुमेकोमा अलिअलि खिन्नताको लहर सल्बलाई रहेको थियो । मन्दिरा र शान्ती पनि भोलिपल्टको भाइटीकाको तयारी गर्नु पर्ने दिन पदयात्रा परेकाले पश्चात्तापको झोला बोकेर उभिरहेका थिए । आफूले ल्याएका साथी पदयात्रामा जान नपाएको बेखुशी भक्तको अनुहारमा देखिइरहेको थियो । पदयात्राबाट समयमै फर्कन पाए हुन्थ्यो भन्ने चाहनाको बतासले मलाई पनि त स्पर्श गरिरहेकै थियो ।

अव ढिला नगरिकन हामी पाँच जनाको समूह थानकोट जाने कोचामकोच जीर्ण मिनिबस भित्र कोचिन्छ । तिहारको समय खालि बस भेट्नु सम्भव थिएन । खालि गाडीकै प्रतिक्षामा हामीले निकै समय कलङ्कीमै गुजारी सकेका थियौं । चाडवाड पनि नभनी यायावरी कर्ममा निस्कने हामी जस्ता यात्रीहरुलाई कसले ठिक्क पारिदेओस् खालि गाडी !

थानकोट चेक पोस्ट अधैर्य भएर पर्खिरहेको थियो । आठ बजे बिहानको उज्वल थानकोटले अंकमाल गर्न थाल्छ हामीलाई । मानौं कयौं बर्षदेखि थानकोटले हामीलाई नै पर्खिरहेको थियो । हामी केहीबेर सुम्सुम्याउँछौं त्यसलाई र यताउता नियाल्छौं । त्यहीं थपिन्छन् हाम्रा दुई सहयात्री । के .बी. सिम्पल भनिने कालीबहादुर शाही र प्रवीण राईको उपस्थितिले हाम्रो टोलीलाई सात सदस्यीय बनाइसकेको थियो । पूर्व अपरिचित के .बी. सिम्पल र प्रवीण राईसंग परिचय साटासाट गर्न थाल्छु म ।

प्रवीण राईको मोटरसाईकल हामीलाई बाटो देखाउंदै अगाडि हुइंकिसकेको थियो । हामी पनि गफमा मग्न हुँदै बिस्तारै पाइला चाल्छौं अगाडि ।

स्रष्टा पदयात्राका शुरुवातकालीन सदस्यहरु शीतल गिरी , जय छाङ्छा , नारायण तिवारी , श्रीओम श्रेष्ठ रोदन , डिल्लिराज अर्याल , डिल्लिरमण सुवेदी र जसध्वज गुरुङ्ग लगायतको अनुपस्थितिले आजको पदयात्रालाई निस्तो भात जस्तो खल्लो बनाइरहेको थियो ।

थानकोट गोदामचौरको सानो बस स्टप । बस स्टप भनिए पनि बसको नामोनिसान थिएन । एकाध ट्रीपर र ट्रकले उक्त ठाउंको इज्जत जोगाईरहेका थिए । नजिकै उभिएर मधुर मुस्कान ओठभरि सजाउँदै डा. नेत्र एटम हामीलाई नै स्वागत गरिरहेका थिए । नमस्कारको आदानप्रदानपछि सबै जना नेत्र एटमकै वरिपरि झुमिन्छौँ ।

“ केबलकारको बस चढेर आएकाले म छिटो आइपुगेको हुँ कि तपाईंहरु ढिलो आइपुग्नु भएको हो । मैले त केही बुझ्न सकिरहेको छैन । ” नेत्रको अनुहारमा सल्बलाइरहेको भद्रताको रङ्गमा रमरम आक्रोश पनि मिसिएको पाउँछु ।

“ हामी नै ढिला आएका हौँ । निकैबेर कुराएकोमा सरी है । ” धन र भक्तको संयुक्त जवाफ आउँछ । नेत्र एटमको सामिप्यताले हाम्रो टोलीलाई आजको लागि पूर्ण बनाइसकेको थियो । बिहानको नौ बज्न लागिसकेको छ । हाम्रो गन्तव्य चित्लाङ्ग । सवारी साधनका नाउँमा एकाध ट्रक र ट्रीपर हाम्रोअघि उभिएका छन् । जाने पो कसरी हो । सबैको अनुहारमा आशंकाका साझा धर्सा कोरिएका छन् ।

“ यो उकालो ग्राभेल बाटोमा ट्रक वा ट्रीपरमा जान कसरी सकिएला र । कि यहींदेखि शुरु गर्ने त पदयात्रा ? तीन घण्टामा पक्कै पुगिएला । ” मैले प्रस्ताव टेबल गरें ।

“ उताबाट जीप आएपछि चढेरै जान पाईन्छ । फर्कंदा पदयात्रा गर्दै आउनु राम्रो होला । ” नेत्र एटमबाट अर्को प्रस्ताव टेबल हुन्छ । तिहारको समय भएकाले बेलुका फर्कनै पर्ने बाध्यताको डोरीले बाँधिएका थियौं हामी । त्यसैले हिंडेरै जानु , हिंडेरै फर्कनु आजको लागि उपयुक्त थिएन ।

चित्लाङ्गतिरबाट दुई ओटा जीप आइपुगे । जीप आइपुगेका मात्रै के थिए , गोदामचौरको वातावरण एक्कासी चलायमान भएको थियो । भोकको आक्रमणले आक्रान्त प्राणीले खानेकुरा भेट्टाए झैं जीपहरु प्रतिक्षारत यात्रीहरुको झम्टामा परिसकेका थिए । जीपको नजिकै भएकाले पछाडिको सिट मन्दिरा र शान्तीले हाम्रो लागि समेत आरक्षित गराईसकेका थिए । निकै लामो दौड जिते झैं हामी पनि जीपको पछाडिको भागमा उक्लन सफल भयौं । विकासे कुखुरा ओसार्न प्रयोग हुने खालको जीपमा आसन जमाएसंगै हाम्रो यात्राले एउटा गति भेट्टाएको थियो ।

उकालोको साँघुरो ग्राभेल बाटो कस्तो होस् । क्षयरोगले ग्रस्त बिमारी झैं हामी चढेको जीप कन्दै र खोक्दै चन्द्रागिरिको डाँडो उक्लिरहेको थियो । घरि दुई चार यात्री ओराल्छ र घुम्ती पार गरेर फेरि चढाउँछ । करीव एक घन्टाको शिथिल गुडाईपछि जीपले चन्द्रागिरि भन्ज्याङ्ग उक्लेर बिजयको झण्डा फहराइरहेको थियो । चन्द्रागिरि केबलकार जाने बाटो यहींबाट छुट्टिएको छ पूर्वतिर । केहीबेरको बिश्रामपछि ओरालै ओरालो । एक छिनअघि सम्मको आलस्यता फालेर अव जीप आफ्नो गुमेको यौवन फर्के झैं चित्लाङ्गको फाँटमा पुग्नलाई दौडिरहेको थियो ।

अलितल पुगेर गाडी रोकियो । भाडा उठाउन रहेछ । थानकोटदेखि चित्लाङ्ग सम्मको भाडा प्रतिव्यक्ति एक सय पचास रुपैंया । दूरी त खासै धेरै होइन तर भाडा त कसी कसाउ नै रहेछ । ग्राभेल बाटो भएर होला । म मनमनै सोचेर चित्त बुझाउंछु । “ संगै खाने, आफ्नो तिर्ने ” भन्ने पश्चिमी सिद्दान्त पालना गर्दै हामीले भाडा बुझाउनासाथ गुरुजीको अनुहारमा खुशीका असंख्य लहरहरु दौडिए । भाडा उठाई सकेर गुरुजी बाटा छेउको ढुंगामाथि बसेर प्रसन्न मुद्रामा खैनी मोल्न थालेपछि हामी पनि एताउता टहलिन र माथिबाट देखिने चित्लाङ्गको मनोरम दृश्य अवलोकन गर्न थाल्यौं । जंगलको हरियालीले निकै लोभ्यायो हामीलाई ।

“ गाडीमा बस्नुहोस् सबै जना । जाने अव । ” केहीबेर मै गुरुजीको बोली हावामा फैलिन्छ र हामी आआफ्नो सिटमा फर्कन्छौं । गाडी ओरालै ओरालो चित्लाङ्गको फाँटतिर गुड्न थाल्यो । हामी गाडी भित्रैबाट बन र बुट्यानहरुको दृश्यपान गर्न थाल्यौं ।

“ यो पटकको यात्रा निबन्ध लेख्ने पालो तपाईंको हो नि । टिपोट पनि गर्दै गर्नु होला । ” भक्त राईले धनप्रसादलाई लक्षित गरी बोलेको आवाज गाडीभरि फैलिन्छ । नेत्र , शान्ती र मन्दिरा गाडीको झ्यालबाट कतै टोलाईरहेका देखिन्छन् । भक्तको बोलीले उनीहरुलाई कुनै असर गरिरहेको छैन ।

प्रवीण राईले बोकेको दहीको भाँडोले यात्रीहरुको गोडाको प्रहार खप्न सकेनछ । उसले आफुलाई गाडीभित्रै बिसर्जन गरिदियो । नजिकै बसेकाहरुका जुत्ता र झोला सेताम्मे भएका थिए दही लागेर । दही लाग्नेहरु झोला र जुत्ता फोहोर भयो भनेर भित्र भित्रै मुर्मुरिइरहेका थिए । कसैले भन्दै थियो , “ मान्छेले खानु पर्ने दही गाडीले पो खायो आज । ”

गाडीभित्र तत्कालै हाँसोको बाढी पसेको थियो । हामीले नामाकरण गरेको चित्लाङ्ग सुपर एक्सप्रेस चित्लाङ्गको बजार नजिक पुग्नै लाग्दा पाङ्ग्राको हावा फुस्किएकाले हामीले अलि वरैबाट गाडीलाई बिदाईको हात हल्लाएर भुँइमा पाइला टेकेका थियौं ।

चित्लाङ्गको समथर फाँट शुरु भैसकेको थियो । हामीले पदयात्रा पनि शुरु गरिसकेका थियौं । बाटाभरि देउसी भैलो खेल्ने परम्परागत पोशाकमा सजिएका युवा युवतीहरुले तिहारको झल्को दिइरहेका थिए । खेतभरि कोभीका फूल देख्दा चित्लाङ्ग कृषिमा पनि आत्मनिर्भर रहेकोमा खुशी लाग्यो । खेतबारीमा किसानहरु कर्मको फूल फुलाइरहेका थिए । इन्टरनेटको सहायताबाट चित्लाङ्गका बारे अलिअलि ज्ञान हासिल गरेको भएता पनि स्थलगत रुपमै केही जान्न चाहन्थ्यौं हामी । भक्त राई अनुसन्धाता । उनलाई पुरातात्विक अभिलेख र सांस्कृतिक विविधताको अध्ययन गर्नु पर्ने भएकाले हामी उनकै पछि डोरिन्छौँ । नेत्र एटम एक पटक पहिल्यै चित्लाङ्ग आइसकेकाले उनको अनुभवले हामीलाई घुम्न सघाउंछ । चित्लाङ्गको बीच बजारमा आइपुगेका छौं । स्थानीयवासीको नजर हामीतिरै सोझिएका छन । हाम्रा एकै प्रकारका पोशाकले उनीहरुको ध्यान हामीतिर तानिएको थियो । गफ गर्दै जाँदा उनीहरुले निकै सहजताका साथ चित्लाङ्ग बारे हामीलाई बताइरहेका थिए ।

चित्लाङ्गको उत्तरमा थानकोट र नौबिसे, दक्षिणमा मार्खु , पूर्वमा फाखेल र मातातीर्थ तथा पश्चिममा बज्रबाराही पर्ने कुरा त नक्साको अध्ययनबाट पहिल्यै थाहा पाइसकेको थिएँ । चित्लाङ्ग नेवारी संस्कृतिमा निकै धनी रैछ भन्ने कुरा त्यहाँ निर्मित पुराना घरहरुको अवलोकनबाट थाहा पाएको हुँ । नेपाल भाषाको प्रयोग पनि अझै जीवन्त रहेछ । चित्लाङ्गको टौखेलमा अंशुबर्माले भेडा गोठालाहरुको बस्ती बसाएको अभिलेख पनि जिवितै रहेछ । मुख्य रुपमा नेवार ,तामाङ्ग र खसहरुको बसोबास रहेको यो ठाउं जातीय सहिष्णुताको नमुना लाग्यो मलाई । चारैतिर थुम्काहरुद्वारा घेरिएर समुन्द्र सतहदेखि १९५० मिटरको उचाईमा अबस्थित चित्लाङ्गको हावापानी न्यानो नै थियो हामी पुगेको बेलामा ।

एउटा पसलमा रहेका पाका व्यक्तिसँग जानकारी लिने हेतुले उनको अगाडि उभिएको छु । “ यो चित्लाङ्गको मुख्य बिशेषता चाहिं के हो नि काका ? ”

मेरो सवालबाट किन्चित हच्किएका उनले पहिले त मलाई तलदेखि माथिसम्म गढेर हेरेका थिए । पहिले उनले मलाई नै प्रतिप्रश्न गरे , “ तपाईंहरु को हो ? यति ठूलो हुल बाँधेर एकै प्रकारको पोशाकमा किन आउनु भएको हो ? ”

अलिपर रहेका भक्त जवाफी अनुहारमा नजिक आइपुगे र भन्न थाले, “ हामी पत्रकार , साहित्यकार हौँ दाजु । आज तपाईंहरुको ठाउं घुम्न आएका हौँ । हेर्न लायक स्थानहरु के के छन ? बताई दिनु भए खुशी हुनेछौं । ”

यतिखेर सम्म हामी सबै जम्मा भईसकेका थियौं । ती पाका मानिस हामीप्रति बिस्वस्त भैसकेका थिए । उनले भने , “ यो चित्लाङ्ग पुरानो बस्ती हो । यहाँको मुख्य पेशा व्यापार र कृषि हो । यसको नेवारी नाम चिलं हो । बाख्राको दुधबाट चीज उत्पादन गर्ने कारखाना र भेडा फार्मले चित्लाङ्गको इज्जत बढाएका छन् । यहाँ कार्तिक पूर्णिमामा कार्तिक पुन्ही जात्रा लाग्ने गर्दछ । ”

उनको भनाइ सकिएको थिएन । नेत्र एटमको जिज्ञासामा उनी फेरि भन्दै गए ,“ उ पर खोलाको छेउमा स्वछन्द्र भैरवको मूर्ती छ । उ पर सातधारा छ । बशन्त पंचमीमा ठूलो मेला लाग्छ । कटुसको जंगलले घेरिएको सातधारा ढुंगाबाट बनेको छ जहाँ गणेश ,शिव , कृष्ण , सरस्वती लगायतका देवताहरुको मूर्तीले धाराहरुको शोभा बढाएका छन् ।अलि माथि श्री ३ राजाहरु आवत जावत गर्दा बस्ने पुराना घरहरु छन् जहाँ अहिले विद्यालय संचालनमा रहेको छ । उ उता दाहिनेपट्टि अशोक चैत्य रहेको छ । तपाईंहरु आफैं गएर हेर्न सक्नु हुन्छ । ”

उनलाई धन्यवाद भनेर हामी अगाडि बढ्यौं । हामी सबैको पेटमा भोकले आफ्नो शासन स्थापना गरिसकेको थियो । त्यसैले भक्तद्वारा वितरित प्रेमिल स्याउ टोक्दै हामी अशोक चैत्य नजिकै पुग्यौं । गाउँको बिचै बीच कुदेको बाटो छोडेर चारुमतीद्वारा निर्मित अशोक चैत्यतिर लाग्दा भक्त र धनप्रसादले टिपोटको लागि नोटबुक निकालिसकेका थिए । अशोक चैत्यको फेदमा उभिएर सामुहिक फोटो लिएपछि हाम्रो टोली स्वच्छन्द्र भैरवको खोजीमा लाग्यो । खेतको आली आली निकै पर पुग्दा पनि भैरव नभेटेपछि फर्कियौं हामी । मन्दिराको ओठबाट मीठो ब्यङ्ग बाण निस्कियो , “ भैरव काँ एकै ठाउं बसिरहन्छन् त । स्वच्छन्द भएर घुम्न गए होलान् कतै । ”

अव हामी बाख्राको दूधबाट बन्ने चीज कारखानामा दाखेल भएका थियौं । तिहार भएकाले कारखाना बन्द थियो । छेउकै पसलमा पाइने रहेछ चीज । होम स्टे पनि संचालित उक्त पसलमा पुगेर नेत्र , भक्त र धन चीजको उत्पादन अवस्था , बिक्री वितरण , देशको अर्थतन्त्रमा यसको योगदान , होम स्टेको दर रेट बुझ्न थालिसकेका थिए । बाख्राको दुधको चीजसँगै स्थानिय आलुबखडाबाट बनेको सोमरस उदरस्थ गरेपछि हामी मूलबाटोमा निस्कियौं । हाल बिद्यालय रहेको पुराना घरहरु नियाल्यौं जुन घरहरु पहिले राणाजीहरु उपत्यकाबाहिर जाँदा आउँदा बासको लागि प्रयोग हुने गरेका थिए ।

आहा ! चित्लाङ्ग ! कति धेरै दर्शनीय स्थानहरु । हामी सबै पुलकित भएर घुमिरहेका थियौं । असाध्यै रमाइलो भैरहेको थियो । महाकवि देबकोटालाई यात्री कविता लेख्न उत्प्रेरित गर्ने चित्लाङ्ग ! नेपालको त्रिभुवन राजपथ खुल््नुअघि सम्म काठमाडौँलाइ तराईसँग जोड्ने प्राचीन ब्यापारिक नाका भएकाले पनि यो प्रमुख पदमार्ग थियो ।

कर्मठ युवा युवतीहरुलाई रोजगारीका लागि विदेश पठाएर छाती फुलाउन खोज्ने चित्लाङ्गको बानी भने पटक्कै मन परेन मलाई । केही युवाहरु भने नयाँ अवधारणाका साथ होम स्टे चलाएर पर्यटन प्रबर्धन गरी देश विकास गर्न दृढ रहेका छन् । अरुहरुका लागि पनि अनुकरणीय बनेका यी स्वावलम्बी युवाहरुलाई सलाम गर्दै एक पटक फेरि नियालें चित्लाङ्गलाई ।

गाउँको शीरमा आइपुगेका छौं । अव केही खाऊ भन्दैछ भित्री मन । नजिकै रहेको ढुंगे धाराको पानी पिउँदा शान्ती भन्दैछिन् , “ तिर्खा लागेर पिएको हुँ पानी । फेसबुकमा फोटो हाल्न पिए जस्तो गरेकी होइन है ! ”

भोकले पेट खोक्रिए पनि हाँसेरै हिंडिरहेका थियौं । ढुंगे धारो माथिको चौतारोलाइ हामीले भोजनालयमा रुपान्तरण गरेका थियौं । आफुसँग रहेका खानेकुरा बाँडचुँड गरी सहभोजमा रमाएपछि निर्मोही प्रेमीले प्रेमिकालाई छाडे झैं हामीले पनि चित्लाङ्गसँग बिदाइको हात हल्लाउने बेला भैसकेको थियो । चित्लाङ्ग घुमेर मन अघाएकै थिएन । होम स्टेको अनुभव गर्न पाइएकै थिएन । भेडा फार्म अवलोकन गर्न बाँकी नै थियो । कसो कसो समयले नेटो काटिसकेको थियो । हाम्रो अघिल्तिर फर्कनुको विकल्प बाँकी थिएन । चन्द्रागिरि भन्ज्याङ्ग पुर्याउने गोरेटो समाएर जंगलको बाटो फर्किरहेका थियौं ।

भन्ज्याङ्ग आइपुग्दा दिउँसोको पौने तीन बजिसकेको थियो । भन्ज्याङ्गमै साहित्यिक कार्यक्रम गर्ने भनेका थियौं । धनप्रसादको उद्घोषणमा रचना वाचन शुरु भयो । नेत्र एटमको अव्यक्त प्रेम कविताबाट शुरु भएको रचना वाचन भक्त राईको गीत ,के .बी. सिम्पलको देउडा , प्रवीण राईको सांस्कृतिक मन्तव्य ,शान्ती सापकोटाको छन्द कविता ,मन्दिरा मधुश्रीको गजल , लीलाराजको गजल हुँदै धनप्रसाद सुवेदीको यात्रा कविताबाट समापन भएको थियो । अव समय बाँकी थिएन । फर्कनु पर्ने बाध्यताको लौरो टेकेर हामी थानकोटतिर ओर्लन थाल्यौं । जति हतार भए पनि मानिसलाई प्रकृतिले लोभ्याई हाल्ने रहेछ । तल झर्दा झर्दै खर्क जस्तो चौरमा बसेर सामूहिक फोटो खिचायौं । सबै पदयात्रीलाई एकै ठाउं राखेर फोटो खिचिदिने प्रवीण राईको तत्परता साँच्चै प्रशंसनीय थियो ।

ओरालै ओरालो थानकोटतिर झरिरहेका थियौं । गाडी गुड्ने धुलौटे ग्राभेल बाटोको हामीलाई के मतलब ! गाउँका निश्चल मानिस हिंड्ने गोरेटो बाटो समातेर ओर्लिरहेका छौं खुरुखुरु । भिरालै भिरालो ! यात्रामा कठिनाई छ , र त मजा छ ! जोखिम छ , र त रोमान्चकता छ ! जोखिम बाटोको आनन्द लिंदै तलतल झरिरहेका छौं । अग्लो ठाउंबाट ओर्लंदा कतैकतै पदयात्राको सट्टा हस्तयात्रा पनि भैरहेको थियो ।

फर्कंदाको हाम्रो यो यात्रामा जति उत्सुकता र आनन्द थियो त्यो आनन्द चित्लाङ्ग सुपर एक्प्रेस भित्रको कोचाम कोचमा कहाँ पाउनु !

बागमती ११ ,कर्मैया , सर्लाही ।