नोबेल पुरस्कार : के, कति, किन, कसले कसलाई ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नोबेल पुरस्कार : के, कति, किन, कसले कसलाई ?



­­– कुमुद अधिकारी

नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलका दाजु लुडभिग नोबेलको मृत्यु सन् १८८८ मा फ्रान्समा भएको थियो। त्यसबेला कुनै एउटा फ्रान्सेली पत्रिकाले लुडभिगको समवेदना छाप्‍ने क्रममे गल्तीले अल्फ्रेड नोबेलको समवेदना छाप्यो। त्यसमा नोबेललाई डाइनामाइटको आविष्कार गरेकामा भर्त्सना गर्दै “मृत्युका मसिहाको मृत्यु” भनी समवेदना छापिएको थियो। यो समवेदना पढेपछि अल्फ्रेड झस्किए र आफूलाई संसारले मृत्युको देवता भनी सम्झिने रहेछ भन्ने उनलाई लाग्यो।  उनले विश्वले आफूलाई त्यसरी सम्झियोस् भन्ने चाहेनन्। त्यसपछि उनले आफ्नो काम, सम्पत्ति, आविष्कार आदिबाट कमाएको अकूत सम्पत्तिबाट नोबेल पुरस्कारको स्थापना गरे।

अल्फ्रेड नोबेलको छोटो परिचय

अल्फ्रेड नोबेलको जन्म स्विडेनको स्टकहोममा अक्टोबर २१,  १८३३ दिन भएको थियो। अल्फ्रेड नोबेल पछि गएर प्रसिद्ध वैज्ञानिक, आविष्कारक, ब्यापारी तथा नोबेल पुरस्कारका संस्थापक बने। उनका बाबुको नाम इम्यानुएल नोबेल र आमाको नाम एन्ड्रिएट अह्लसेल नोबेल थियो। उनीहरूको आफ्नो छोराको नाम अल्फ्रेड नोबेल राखे।

अल्फ्रेडका बाबु इन्जिनियर र आविष्कारक थिए। उनी भवनहरू र पुलहरू बनाउँथे र चट्टान फुटाउनका लागि विभिन्न किसिमका तरिकाहरूको प्रयोग गरिरहन्थे।

अल्फ्रेड जन्मिएकै साल उनका बाबुको ब्यापारमा ठूलो घाटा भयो र बन्द गर्नुपऱ्यो। १८३७ मा उनले अन्त कतै गएर जीविकोपार्जन गर्ने निधो गरे र फिनल्यान्ड र रसिया गए। अल्फ्रेडकी आमा परिवारको देखरेखका लागि स्टकहोममा नै बसिन्। यसबेला अल्फ्रेडका दुई दाजुहरू थिए, रोबर्ट १८२९ मा जन्मेका र लुडभिग १८३१ मा जन्मेका।

धनी परिवारबाट आएकी आमा एन्ड्रिएटले किराना पसल सुरु गरिन्। सो पसलको आम्दानी राम्रै भयो र यसले परिवारको भरणपोषण गर्नका लागि मद्दत मिल्यो।

(परिवार रसिया सऱ्यो)

केही समयपछि सेन्ट पिटर्सबर्गमा इम्यानुएल नोबेलको ब्यापार राम्रै चल्न थाल्यो। उनले एउटा यान्त्रिक कार्यशाला(वर्कसप) खोले र रसियाली सेनालाई उपकरणहरू उपलब्ध गराउन थाले। समुद्री सुरुङको प्रयोग गरेर दुस्मनलाई सेन्ट पिटर्सबर्ग छिर्न र आक्रमण गर्नबाट रोक्न सकिन्छ भन्ने विश्वास उनले रसियाली जारहरू र जनरलहरूलाई दिलाए। यिनै समुद्री सुरुङहरूले १८५३-१८५६ को क्रिमीन युद्धका बेला शाही वेलायती जलसेनालाई सेन्ट पिटर्सबर्गको गोलाबारी क्षेत्र(फाइरिङ) रेन्जभित्र छिर्नबाट रोक्यो।

रसियामा आफ्नो ब्यापारको सफलतासँगै इम्यानुएलले १९४२ मा आफ्नो परिवारलाई सेन्ट पिटर्सबर्ग लगे। १९४३ मा अर्को बच्चा, एमिलको जन्म भयो। चार नोबेल दाजुभाइलाई निजी शिक्षकहरू राखेर उच्चस्तरीय शिक्षा दिइयो। उनीहरूले सिक्ने प्रमुख विषयहरू थिए – प्रकृति विज्ञान, भाषा र साहित्य। १७ वर्षको उमेरमा अल्फ्रेड स्विडिस, रसियन, फ्रेन्च, अङ्ग्रेजी र जर्मन भाषामा बोल्न र लेख्‍न सक्थे।

(अल्फ्रेडको विदेश यात्रा)

साहित्य, रसायनशास्त्र र भौतिकशास्त्रमा अल्फ्रेडको रुचि अत्यधिक थियो। बाबुले भने छोराहरूले आफ्नै पदचिह्न पछ्याउन् भन्ने चाहन्थे र अल्फ्रेडले कवितामा रुचि राखेको मन पराउँदैनथे। पढाएर रसायन इन्जिनियर बनाउन उनले छोरालाई विदेश पठाउने निधो गरे।

पेरिसमा रहँदा अल्फ्रेडले प्रसिद्ध रसायनशास्त्री टि.जे. पेलाउजको निजी प्रयोगशालामा काम गरे। त्यहीँ उनको भेट युवा इटालियन रसायनशास्त्री एस्कानियो सोब्रेरोसँग भेट भयो। तीन वर्ष पहिले सोब्रेरोले एउटा अत्यन्त विस्फोटक तरल नाइट्रोग्लिसरिनको आविष्कार गरेका थिए। यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न अत्यन्त खतरनाक मानिएको थियो।

अल्फ्रेडलाई नाइट्रोग्लिसरिनमा अत्यधिक रुचि लाग्यो र उनले कसरी यसलाई निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा गम्‍न थाले। अध्ययन सकेर रसिया फर्किएपछि उनले आफ्ना बाबुसँग मिलेर नाइट्रोग्लिसरिनलाई व्यापारिक र प्राविधिक रूपमा प्रयोग गर्न सकिने विस्फोटक बनाउन विकसित गर्नेतर्फ काम गर्न थाले।

(स्विडेन फिर्ती)

क्रिमीन युद्ध सकिएपछि अल्फ्रेडका बाबुको व्यापार चौपट भयो र उनले स्विडेन फर्किने निधो गरे। अल्फ्रेडका दाजुहरू रोबर्ट र लुडभिग रसियामै बसे र परिवारको बचेको व्यवसायलाई जोगाउने उपक्रममा लागे। उनीहरू त्यसमा सफल पनि भए र रसियाको दक्षिणी भागमा उनीहरूले तेल उद्योग स्थापना गरे।

१९६३ मा नोबेलको परिवार स्विडेन फर्किएपछि, अल्फ्रेडले आफ्नो ध्यान नाइट्रोग्लिसरिनलाई विस्फोटक बनाउने कार्यमा केन्द्रित गरे। दुर्भाग्यवश, यी प्रयोगहरूले दुर्घटनाहरूलाई जन्म दियो जसमा थुप्रै मानिसहरूको मृत्यु भयो र मृत्यु हुनेमा अल्फ्रेडका भाइ एमिल पनि सामेल थिए। सरकारले स्टकहोम सहर सीमाभित्र त्यस्ता प्रयोगहरूमा प्रतिबन्ध लगायो।

अल्फ्रेडले हिम्मत हारेनन् र आफ्ना प्रयोगहरूलाई मलारेन तलाउमा तैरिने नाउमा गर्न थाले। १९६४ मा उनी ठूलो मात्रामा नाइट्रोग्लिसरिन उत्पादन गर्न सफल भए र सो उत्पादनलाई सुरक्षित बनाउनका लागि विभिन्न रसायनहरूसँग मिलाएर प्रयोग गर्न भने छाडेनन्।

(अल्फ्रेडद्वारा डाइनामाइटको आविष्कार)

नाइट्रोग्लिसरिनलाई ‘किसेलगुर(kieselguhr)’ भनिने मसिनो बालुवासँग मिसाउँदा सो मिश्रण लेदो(paste)मा परिवर्तन हुने अल्फ्रेडले आफ्ना प्रयोगहरू मार्फत पत्ता लगाए। यो लेदोलाई डन्डीका आकारमा ढाल्न सकिन्थ्यो र तिनीहरूलाई चट्टानमा दुलो पारी तिनमा खाद्‌न सकिन्थ्यो। यो आविष्कार १८६६ मा गरिएको थियो। आगामी वर्ष अल्फ्रेडले यस पदार्थका लागि प्याटेन्ट अर्थात् कानुनी अधिकार प्राप्त गरे र त्यसलाई “डाइनामाइट” नामाकरण गरे। उनले सँगसँगै विस्फोट गराउने ‘डिटोनेटर’ पनि आविष्कार गरे जसलाई फ्युज सल्काएर पड्काउन सकिन्थ्यो।

यी आविष्कारहरू त्यस्तो बेलामा भएका थिए जतिबेला हीराका दाँतीवाला र हावाको दबाबद्वारा चट्टान छेड्ने प्रविधि प्रचलनमा थियो। यी सबैसँग मिलाउँदा अल्फ्रेडको आविष्कारले सुरुङ खन्ने, चट्टान फुटाउने, पुलहरूको निर्माण गर्ने आदिजस्ता निर्माण कार्यको खर्च ह्वात्तै घटायो।

(विभिन्न स्थानमा कारखानाहरू)

निर्माण उद्योगमा डाइनामाइट र ‘डिटोनेटर’ को अत्याधिक माग थियो। त्यसैले ती वस्तुको आपूर्ति गर्न अल्फ्रेडले ९० भिन्न स्थानहरूमा कारखाना स्थापित गरे। उनी बस्नचाहिँ पेरिसमा बस्थे र २० भन्दा बढी देशहरूमा भएका कारखानाहरूमा यात्रा गरिरहन्थे। उनलाई एकपटक युरोपको “सबैभन्दा धनी घुमक्कड” भनी व्याख्या गरिन्थ्यो। उनले स्टकहोम(स्विडेन), ह्यामबर्ग(जर्मनी), अर्डीर(स्कटल्यान्ड), पेरिस र सर्भन(फ्रान्स), कार्ल्सकोगा(स्विडेन) र सान रेमे(इटाली)मा अत्यधिक काम गरे। उनले कृत्रिम रबर, छाला र कृत्रिम रेशम बनाउन पनि प्रयोगहरू गरेका थिए। १८९६ मा उनको मृत्यु हुन्जेल उनीसँग ३५५ वटा प्याटेन्टहरू थिए।

(अल्फ्रेडको बर्था भोन सटनरसँगको भेट)

अल्फ्रेडको आफ्नो परिवार थिएन। एक दिन उनले समाचारपत्रमा सेक्रेटरीका लागि विज्ञापन छपाए। एक जना अस्ट्रियन महिला, बर्था किन्स्कि भोन चिनिक उन्ड टेटाउले जागिर पाइन्। केही समय काम गरेपछि उनी अस्ट्रिया फर्किइन् र काउन्ट आर्थर भोन सट्टनरसँग बिहे गरिन्।

अल्फ्रेड र बर्था लामो समयसम्म मित्र रहे र पत्रहरू आदानप्रदान गरिरहे। बर्था पछि शान्ति अभियानमा धेरै क्रियाशील बनिन्। उनले एउटा प्रसिद्ध पुस्तक लेखेकी छिन् “ले डाउन योर आर्म्स(आफ्ना हतियार बिसाऊ)”। पछि अल्फ्रेडले नोबेल पुरस्कारका लागि आफ्नो इच्छापत्र(वसीयत) लेख्दा शान्ति प्रवर्द्धन गर्ने मानिस वा संस्थालाई दिइने पुरस्कार पनि सामेल गरे।

अल्फ्रेडको मृत्यु डिसेम्बर १०, १८९६ मा इटलीको सान रेमोमा भयो। उनले आफ्नो अन्तिम इच्छापत्रमा आफ्नो अकूत सम्पत्तिको धेरैजसो अंश भौतिकी, रसायनशास्त्र, शरीरविज्ञान वा औषधिविज्ञान, साहित्य र शान्तिका क्षेत्रमा सर्वोत्तम काम गर्ने व्यक्ति/संस्थाहरूलाई दिन प्रयोग गर्ने कुरा लेखे।

यो इच्छापत्रबाट सबैजना खुसी भएनन्। उनको इच्छापत्रको विरोध उनकै आफन्तहरूले गरे र विभिन्न देशका सरकारहरूले सन्देह व्यक्त गरे। अल्फ्रेडको इच्छा पूरा गर्न सबैलाई फकाउन निर्वाहकहरूलाई चार वर्षको समय लाग्यो।

सन् १९०१ मा पहिलो नोबेल पुरस्कार दिइयो। भौतिकशास्त्र, रसायनशास्त्र, औषधिविज्ञान र साहित्यको नोबेल पुरस्कार स्विडेनको स्टकहोममा दिइयो भने, शान्तिको पुरस्कार नर्वेको क्रिश्टियानिया(हाल ओस्लो)मा दिइयो।

नोबेल पुरस्कार विजेताहरूको नामाङ्कन र छनोट

भौतिकशास्त्र

भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेताको नामाङ्कन आमन्त्रणबाट मात्र गरिन्छ। नामाङ्कनकर्ताहरू र अन्य जानकारी पचास वर्षसम्म गोप्य राखिन्छ।

नामाङ्कन र छनोट प्रक्रिया

भौतिकशास्त्रका लागि नोबेल समितिले नामाङ्कन गर्न दक्ष र योग्य व्यक्तिहरूलाई गोपनीय फारामहरू पठाउँछ।

योग्य नामाङ्कनकर्ताहरू

भौतिकशास्त्रमा नोबेल पुरस्कारका लागि प्रस्तावहरू बुझाउने अधिकार, विधानअनुसार, निम्‍नले उपभोग गर्न पाउँछन्:

  • रोयल स्वेडिस एकेडेमी अफ साइन्सेसका स्वेडिस र विदेशी सदस्यहरू;
  • भौतिकशास्त्रका लागि नोबेल समितिका सदस्यहरू;
  • भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू;
  • स्विडेन, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड र नर्वेका विश्वविद्यालय साथै प्रविधिविज्ञान संस्था एवम् कारोलिन्स्का इन्स्टिट्युटेट, स्टकहोमका भौतिक विज्ञानका आवधिक प्राध्यापकहरू;
  • विभिन्न देशहरू र त्यहाँका शिक्षण संस्थाहरूमा उपयुक्त विभाजन होस् भनेर एकेडेमी अफ साइन्सेजले छनोट गरेका न्युनतम छवटा विश्वविद्यालय(सामान्यतया सयौँ)मा समान पद धारण गर्ने व्यक्तिहरू; र
  • एकेडेमीले नामाङ्कन गर्न योग्य ठानेका अन्य व्यक्तिहरू।

प्राप्त गरिएका नामाङ्कनहरूबाट विभिन्न प्रक्रियाहरूमार्फत नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिको छनोट गरिन्छ। यस कार्यका लागि ‘द रोयल स्वेडिस एकेडेमी अफ साइन्सेज’ पूर्ण रूपमा जिम्मेवार हुन्छ। भौतिक शास्त्रको नोबेल पुरस्कारका लागि कसैले पनि आफैँ नामाङ्कन गर्न पाउँदैन।

रसायनशास्त्र

रसायनशास्त्र नोबेल पुरस्कार विजेताको नामाङ्कन आमन्त्रणबाट मात्र गरिन्छ। नामाङ्कनकर्ताहरू र अन्य जानकारी पचास वर्षसम्म गोप्य राखिन्छ।

नामाङ्कन र छनोट प्रक्रिया

रसायनशास्त्रका लागि नोबेल समितिले नामाङ्कन गर्न दक्ष र योग्य व्यक्तिहरूलाई गोपनीय फारामहरू पठाउँछ।

योग्य नामाङ्कनकर्ताहरू

रसायनशास्त्रमा नोबेल पुरस्कारका लागि प्रस्तावहरू बुझाउने अधिकार, विधानअनुसार, निम्‍नले उपभोग गर्न पाउँछन्:

  • रोयल स्वेडिस एकेडेमी अफ साइन्सेसका स्वेडिस र विदेशी सदस्यहरू;
  • रसायनशास्त्रका लागि नोबेल समितिका सदस्यहरू;
  • रसायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू;
  • स्विडेन, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड र नर्वेका विश्वविद्यालय साथै प्रविधिविज्ञान संस्था एवम् कारोलिन्स्का इन्स्टिट्युटेट, स्टकहोमका रसायन विज्ञानका स्थायी प्राध्यापकहरू;
  • विभिन्न देशहरू र त्यहाँका शिक्षण संस्थाहरूमा उपयुक्त विभाजन होस् भनेर एकेडेमी अफ साइन्सेजले छनोट गरेका न्युनतम छवटा विश्वविद्यालय(सामान्यतया सयौँ)मा समान पद धारण गर्ने व्यक्तिहरू; र
  • एकेडेमीले नामाङ्कन गर्न योग्य ठानेका अन्य व्यक्तिहरू।

प्राप्त गरिएका नामाङ्कनहरूबाट विभिन्न प्रक्रियाहरूमार्फत नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिको छनोट गरिन्छ। यस कार्यका लागि ‘द रोयल स्वेडिस एकेडेमी अफ साइन्सेज’ पूर्ण रूपमा जिम्मेवार हुन्छ। रसायन शास्त्रको नोबेल पुरस्कारका लागि कसैले पनि आफैँ नामाङ्कन गर्न पाउँदैन।

औषधिविज्ञान वा शरीरविज्ञान

औषधिविज्ञान वा शरीरविज्ञान नोबेल पुरस्कार विजेताको नामाङ्कन आमन्त्रणबाट मात्र गरिन्छ। नामाङ्कनकर्ताहरू र अन्य जानकारी पचास वर्षसम्म गोप्य राखिन्छ।

योग्य नामाङ्कनकर्ताहरू

औषधिविज्ञानमा नोबेल पुरस्कारका लागि प्रस्तावहरू बुझाउने अधिकार, नोबेल फाउन्डेसनको विधानअनुसार, निम्‍नले उपभोग गर्न पाउँछन्:

  • कारोलिन्स्का इन्स्टिट्युटेट, स्टकहोमका नोबेल एसेम्ब्लीका सदस्यहरू;
  • रोयल स्वेडिस एकेडेमी अफ साइन्सेजका औषधि तथा जीवविज्ञान कक्षाहरूका स्वेडिस र विदेशई सदस्यहरू;
  • औषधिविज्ञान र रसायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू;
  • माथिको बुँदा १ मा योग्य नहुने नोबेल समितिका सदस्यहरू;
  • स्विडेनका विभिन्न विश्वविद्यालयहरूमा औषधिविज्ञान विभागमा पूर्णकालीन प्राध्यापकको स्थापित पदहरूमा कार्यरत व्यक्तिहरू तथा डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड र नर्वेका विश्वविद्यालय साथै औषधिविज्ञान संस्थानमा कार्यरत स्थायी प्राध्यापकहरू;
  • विभिन्न देशहरू र त्यहाँका शिक्षण संस्थाहरूमा उपयुक्त विभाजन होस् भनेर एकेडेमी अफ साइन्सेजले छनोट गरेका न्युनतम छवटा विश्वविद्यालय(सामान्यतया सयौँ)मा समान पद धारण गर्ने व्यक्तिहरू; र
  • नोबेल समितिले अन्यथा उपयुक्त ठानेका व्यक्तिहरू।
  • आफैँ नामाङ्कन गर्न पाइनेछैन।

प्राप्त गरिएका नामाङ्कनहरूबाट विभिन्न प्रक्रियाहरूमार्फत नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिको छनोट गरिन्छ। यस कार्यका लागि ‘द रोयल स्वेडिस एकेडेमी अफ साइन्सेज’ पूर्ण रूपमा जिम्मेवार हुन्छ। रसायन शास्त्रको नोबेल पुरस्कारका लागि कसैले पनि आफैँ नामाङ्कन गर्न पाउँदैन।

साहित्य

साहित्यको नोबेल पुरस्कारका लागि योग्य व्यक्तिहरूले मात्र गर्न सक्छन्। नामाङ्कनकर्ताहरू र नामाङ्कनसम्बन्धी अन्य प्रक्रिया पचास वर्ष सम्म गोप्य राखिन्छ।

नामाङ्कन र छनोट प्रक्रिया

साहित्यका लागि नोबेल पुरस्कार समितिले नोबेल साहित्य पुरस्कारका लागि व्यक्तिहरूको नामाङ्कन गर्न योग्य व्यक्तिहरूलाई आमन्त्रण पठाउँछ।

समितिको विधान अनुसार साहित्यको नोबेल पुरस्कारका लागि नामाङ्कन गर्ने अधिकार निम्नमा रहेको छः

  • स्वेडिस एकेडेमीका सदस्यहरू तथा अन्य एकेडेमीहरू, संस्थाहरू र समाजहरू जसको संरचना र उद्देश्य समान छ;
  • विश्वविद्यालय र विश्वविद्यालय कलेजहरूका साहित्य र भाषाविज्ञानका प्राध्यापकहरू;
  • साहित्यका पूर्व नोबेल पुरस्कार प्राप्तकर्ताहरू;
  • विभिन्न देशका साहित्य-सर्जकहरूको प्रतिनिधिहरूको समाजको अध्यक्षहरू।

१८ सदस्यीय स्वेडिस एकेडेमी नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको छनोट गर्नका लागि जिम्मेवार छ। नोबेल साहित्य एकेडेमी यही अन्तर्गत काम गर्ने चार देखि पाँचजना सम्म सदस्य भएको समिति हो जसले नामाङ्कनहरूको मूल्याङ्कन गरी स्वेडिस एकेडेमीलाई सिफारिस बुझाउँछ।

नामाङ्कनका लागि आमन्त्रण नपाएका योग्य व्यक्ति/संस्थाहरूले पनि नामाङ्कन गर्न पाउँछन् तर कसैले  पनि पुरस्कारका लागि आफैँ नामाङ्कन गर्न भने पाउँदैनन्।

शान्ति

शान्तिका लागि नामाङ्कन नामाङ्कन मापदण्ड पूरा गर्ने जोसुकैले गर्न सक्छन्। नामाङ्कन बुझाउनका लागि आमन्त्रण पत्र आवश्यक छैन। नामाङ्कन गर्नेहरूको नाम र अन्य नामाङ्कन प्रक्रिया पचास वर्ष सम्मका लागि गोप्य राखिन्छ।

शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गर्नेहरूको चयन गर्न नर्वेजियन नोबेल समिति जिम्मेवार छ। यस पुरस्कारका लागि नामाङ्कन नामाङ्कन गर्न योग्य व्यक्ति वा संस्था जोसुकैले गर्न सक्छन्।

समितिको विधान अनुसार शान्तिका लागि नोबेल पुरस्कारका लागि नामाङ्कन गर्ने अधिकार निम्नमा रहेको छः:

  • सार्वभौम देशहरूका राष्ट्रिय संसदका सदस्यहरू र राष्ट्रिय सरकारका सदस्यहरू(क्याबिनेट सदस्य/मन्त्री)
  • हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय तथा मध्यस्थता न्यायालयका सदस्यहरू
  • एल’इन्स्टिट्युट डे ड्रोइट इन्टरनेसनलका सदस्यहरू
  • शान्ति र स्वतन्त्रताका लागि महिलाहरूको अन्तर्राष्ट्रिय लिगको अन्तर्राष्ट्रिय बोर्डको कार्यकारी समितिका सदस्यहरू
  • इतिहास, सामाजिक विज्ञान, कानुन, दर्शन, धर्मविज्ञान, धर्मका विश्वविद्यालय प्राध्यापकहरू, भूतपूर्व प्राध्यापकहरू र सह प्राध्यापकहरू; विश्वविद्यालय रेक्टरहरू र विश्वविद्यालय निर्देशकहरू(वा समकक्षीहरू); शान्ति अनुसन्धान संस्थाहरू र विदेश नीति संस्थाहरूका निर्देशकहरू
  • नोबेल शान्ति पुरस्कार प्राप्त व्यक्तिहरू
  • नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने संस्थाका प्रमुख बोर्डका निर्देशकहरू वा समकक्षीहरू
  • नर्वेजियन नोबेल समितिका वर्तमान र भूतपूर्व सदस्यहरू
  • नर्वेजियन नोबेल समितिका भूतपूर्व सल्लाहकारहरू

अन्यथा उल्लेख नगरिएसम्म सदस्य भन्नाले वर्तमान(पदासीन) सदस्य बुझ्नुपर्नेछ।

नर्वेजियन नोबेल समिति नोबेल शान्ति पुरस्कारप्राप्तकर्ताहरूको चयन गर्नका लागि जिम्मेवार संस्था हो। यस समितिमा नर्वेजियाली संसदद्वारा चयनित पाँचजना सदस्यहरू हुन्छन्। नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा प्रदान गरिन्छ भने अन्य नोबेल पुरस्कारहरू स्टकहोममा प्रदान गरिन्छन्।

अर्थशास्त्र

अर्थशास्त्रको नोबेल पुरस्कार वास्तवमा नोबेल पुरस्कार नभएर अल्फ्रेड नोबेलको स्मृतिमा स्विडेनको सेन्ट्रल बैङ्कद्वारा स्थापित पुरस्कार हो। यो पुरस्कार पनि रोयल स्वेडिस एकेडेमीद्वारा अन्य नोबेल पुरस्कारकै सिद्धान्त र नियमहरूमा आधारित रहेर दिइन्छ।अर्थशास्त्रको पहिलो पुरस्कार सन् १९६९ मा दिइएको थियो।

अर्थशास्त्र पुरस्कार समितिले नामाङ्कन गर्न योग्य व्यक्ति/संस्थाहरूलाई नामाङ्कन गर्नका लागि आमन्त्रण पठाउँछ।

समितिको विधान अनुसार अर्थशास्त्रको पुरस्कारका लागि नामाङ्कन गर्ने अधिकार निम्नमा रहेको छः:

  • स्वेडिस एकेडेमी अफ साइन्सेजका स्वेडिस र विदेशी सदस्यहरू
  • अल्फ्रेड नोबेलको स्मृतिमा स्थापित स्विडेनको केन्द्रीय बैङ्कको पुरस्कार समितिका सदस्यहरू
  • सो पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू
  • स्विडेन, फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड र नर्वेका विश्वविद्यालय र कलेजका सम्बन्धित विषयका प्राध्यापकहरू
  • विभिन्न देशहरू र त्यहाँका शिक्षण संस्थाहरूमा उपयुक्त विभाजन होस् भनेर एकेडेमी अफ साइन्सेजले छनोट गरेका न्युनतम छवटा विश्वविद्यालय(सामान्यतया सयौँ)मा समान पद धारण गर्ने व्यक्तिहरू
  • एकेडेमीले योग्य ठानेका अन्य व्यक्तिहरू।

अर्थशास्त्रको पुरस्कार प्राप्तकर्ताहरूको छनोट गर्ने जिम्मेवारी पनि रोयल स्वेडिस एकेडेमी अफ साइन्सेजको हो। अर्थशास्त्र पुरस्कार समितिले गरेको सिफारिस अध्ययन गरेर पुरस्कृत व्यक्तिको छनोट यस संस्थाले गर्छ। यस समितिमा पनि पाँच जना सदस्य रहेका हुन्छन्।

नोबेल पुरस्कार प्राप्तकर्ताहरूको छनोट गर्ने समय तालिका यस्तो रहेको छ।

सेप्टेम्बर – नामाङ्कन फारामहरू वितरण गरिने। पुरस्कार समितिले करिब गोपनीय ३००० फारामहरू नामाङ्कन गर्न योग्य व्यक्ति/संस्थालाई पठाउँने।

फेब्रुअरी – फाराम बुझाउने सीमा। जनवरी ३१ सम्म प्राप्त नामाङ्कन फारामहरू स्वीकार गरिने।

मार्च-मे – विशेषज्ञहरूसँगको छलफल

जुन-अगस्ट – प्रतिवेदन लेखन

सेप्टेम्बर – समितिले सिफारिस बुझाउने

अक्टोबर – पुरस्कृतहरूको चयन गरिने

डिसेम्बर – पुरस्कृतहरूलाई पुरस्कृत गरिने।

नोबेल पुरस्कार मा दिइने वस्तुहरू

मेडल, प्रमाणपत्र र नगद

नोबेल पुरस्कारको राशि

सन् १९०१ मा पहिलो पटक नोबेल पुरस्कार दिँदा यसको राशि १५२,७८२ (अमेरिकी डलर १५,८४६.५५)स्वेडिस क्रोन रहेको थियो भने सन् २०१८ सो राशि ९,०००,००० स्वेडिस क्रोन(अमेरिकी डलर ९,३३,४८०) रहेको छ।

नोबेल पुरस्कार अल्फ्रेड नोबेलको इच्छापत्रमा आधारित हुनाले उनले इच्छापत्रमा व्यक्त गरेका विषयक्षेत्रमा मात्र दिइन्छ। अर्थात् भौतिकशास्त्र, रसायनशास्त्र, औषधिविज्ञान, साहित्य र शान्ति। अर्थशास्त्रको नोबेल पुरस्कारलाई नोबेल भनिएता पनि सो नोबेल पुरस्कार नभई अल्फ्रेड नोबेलको स्मृतिमा दिइने पुरस्कार हो जसको मूल्य नोबेल पुरस्कार अनुसारकै रहेको छ।

नोबेल पुरस्कारसम्बन्धी केही रोचक विवादहरू र जानकारीहरू(सम्पूर्ण सूची उल्लेख गर्न यस छोटो लेखमा सम्भव नभएकाले, थोरै मात्र राखिएको छ)

  • सन् १९७६ को अर्थशास्त्रको पुरस्कार अमेरिकी अर्थशास्त्री अल्फ्रेड फ्रिडम्यानलाई दिइएको थियो। यस पुरस्कार प्रति विश्वस्तरमा विरोध जनाइएको थियो किनकि फ्रिडम्यानको सम्बन्ध चिलीका तानाशाह अगस्टो पिनोसोसँग थियो।
  • डिमित्री मेन्डलिभले तत्त्वहरूको पहिलो पेरियोडिक तालिका निर्माण गरेता पनि उनले कहिल्यै नोबेल पुरस्कार पाएनन्।
  • साहित्यका क्षेत्रमा नोबेल पुरस्कार सबैभन्दा विवादित बनेको छ। लियो टल्सटय, हेनरिक इम्बसन, मार्क ट्वेनजस्ता साहित्यिक हस्तीहरूले नोबेल पुरस्कार पाएनन्। लिओ टल्सटयलाई १९०२ देखि १९०६ सम्म लगातार नामाङ्कन गरियो तर उनले पुरस्कार पाएनन्।
  • भारतीय लेखक आर.के. नारायणनलाई धेरै पटक नामाङ्कित गरिएता पनि उनले नोबेल पुरस्कार पाएनन्।
  • २०१० मा नोबेल साहित्य पुरस्कार पाउने मारियो भार्गास लोसाले पनि विवाद निम्त्याए। साहित्यमा भन्दा राजनीतिमा बढी ध्यान दिएकाले उनलाई “विवादका राजा” पनि भनियो।
  • १९७४ मा भ्लादिमिर नोमाकोभ, ग्राहाम ग्रिन, र सल बेलोलाई पुरस्कार दिइएन किनकि त्यस वर्ष यो पुरस्कार संयुक्त रूपमा स्विडेली लेखकहरू आइभिन्ड जोनसन र ह्यारी मार्टिनसनलाई संयुक्त रूपमा दिइएको थियो । यी दुवै जना नोबेल समितिका न्यायाधिशहरू थिए र आफ्नो देशबाहिर चिनिएका थिएनन्।
  • २००९ को शान्ति पुरस्कार प्राप्त गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको हकमा पनि विवाद भएको थियो। नोबेल समितिको यो निर्णय अत्यन्त अपरिपक्व र पक्षपाती भएको आरोप लागेको थियो। उनी आफैँले पनि यो पुरस्कार पाउँदा “आश्चर्यचकित” भएको खुलासा गरेका थिए तर अस्वीकार भने गरेनन्।
  • १९९४ को शान्ति पुरस्कार यासिर अराफात, सिमोन पेरेज र यिट्ज्याक रबिनलाई दिइएको थियो र कारण थियो – मध्यपूर्वमा शान्ति प्रक्रियामा योगदान दिएका कारण। कारे क्रिस्टियानसेनले अराफातलाई दिइएकामा आपत्ति जनाउँदै नोबेल समितिबाट राजीनामा समेत दिएका थिए।
  • १९९१ को नोबेल शान्ति पुरस्कार बर्मा की नेत्री आङसाङ् सुकीलाई प्रदान गरिएको थियो। पछि बर्माबाट रोहिङ्ग्या मुसलमानहरूलाई खेदेपछि उनले प्राप्त गरेको पुरस्कारविरूद्ध ठूलो विरोध उब्जिएको थियो।
  • १९८९ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने दलाई लामा थिए। यसको विरोध चीनले गरेको थियो।
  • १९३८ देखि १९४८ सम्म पाँच पटक नामाङ्कित गरिएता पनि महात्मा गान्धीले नोबेल पुरस्कार कहिल्यै पाएनन्। महात्मा गान्धीलाई नोबेल शान्ति पुरस्कार नदिनु ठूलो भुल थियो भनी वर्षौँ पछि नोबेल समितिले सार्वजानिक रूपमा पछुतो व्यक्त गरेको थियो।
  • ‘बोसोन’ को अवधारणा सम्बन्धित काम गर्ने अनेक वैज्ञानिकहरूलाई भौतिकशास्त्रको नोबेल पुरस्कार दिइयो तर ‘बोसोन’, अर्थात् बोस आइन्स्टाइन स्टाटिस्टिक्स र बोस आइन्स्टाइन कन्डेन्सेट का जन्मदाता मध्येका प्रमुख सत्येन्द्रनाथ बोसलाई पुरस्कार दिइएन।
  • सन् २०१० को औषधिविज्ञानको नोबेल पुरस्कार रोबर्ट एड्वार्ड्सलाई दिइयो र क्याथोलिक चर्चले यसको कडा विरोध गरेको थियो। उनलाई कृत्रिम गर्भाधान(इनभिट्रो फर्टिलाइतजेसन)को प्रविधि विकास गरेकामा सो पुरस्कार दिइएको थियो।

नोबेल पुरस्कार अस्वीकार गर्नेहरू

  • आफ्नो नीति र कार्यलाई सार्वजानिक विरोध गर्ने कार्ल भोन ओसिएट्ज्कीलाई १९३५ को नोबेल शान्ति पुरस्कार दिएकामा एडल्फ हिटलरले कडा विरोध जनाएका थिए। उनलाई अर्को वर्ष सो पुरस्कार प्रदान गरिएको थियो। उनले ३१ जनवरी १९३७ मा कुनै पनि जर्मन नागरिकले नोबेल पुरस्कार स्वीकार नगर्ने आदेश जारी गरे।
  • बोरिस पास्तरनाकले सन् १९५८ को साहित्यको नोबेल पुरस्कार प्राप्त गरेका थिए तर सोभियत सङ्घ प्रशासनले सो पुरस्कार अस्वीकार गर्न दबाव दियो। उनी पुरस्कार प्राप्त नगरी मरे र उनको पुरस्कार र मेडल उनका छोरालाई ९ डिसेम्बर १९८९ मा दिइयो।
  • जाँ पल सात्रेले १९६४ को साहित्यको नोबेल पुरस्कार अस्वीकार गरेका थिए। उनको भनाइ थियो – “एउटा लेखकले कहिले पनि आफूलाई संस्थामा परिवर्तन हुन दिनु हुँदैन, चाहे त्यो जतिसुकै सम्मानित किन नहोस्।”
  • त्यस्तै लि ड्युक थो ले १९७३ को नोबेल शान्ति पुरस्कार अस्वीकार गरेका थिए।उनलाई पेरिस शान्ति सम्झौताका लागि सो पुरस्कार दिइएको थियो र उनले भियतनाममा वास्तविक शान्ति छैन भनी पुरस्कार अस्वीकार गरेका थिए। उनलाई विजेता घोषणा गरेको चार महिनापछि युद्ध सुरु भएको थियो।

अल्फ्रेड नोबेलको इच्छापत्रको पुरस्कार सम्बन्धी अंश,

“……..मेरो सम्पूर्ण प्रयोग गर्न मिल्ने सम्पत्ति निम्न तरिकाले प्रयोग गर्नुपर्नेछ: मूलधनलाई कोषका रूपमा कायम गरी सोबाट प्राप्त ब्याजलाई अघिल्लो वर्ष मानवका लागि सर्वोत्तम कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कारका रूपमा दिनु पर्नेछ। सो ब्याजलाई पाँच बराबर भाग लगाई निम्न विधिले बाँड्नु पर्नेछ: एक भाग भौतिकशास्त्रको क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण खोज वा आविष्कार गर्नेलाई; एक भाग सबैभन्दा महत्त्वपूर्ण रासायनिक खोज वा सुधार गर्नेलाई; एक भाग शरीरविज्ञान वा औषधिविज्ञानका क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण खोज वा आविष्कार गर्नेलाई; एक भाग साहित्यको क्षेत्रमा सबैभन्दा यथार्थपरक दिशामा सबैभन्दा महत्त्वपूर्ण लेखन(काम) गर्नेलाई; र बाँकी एक भाग विभिन्न देशहरूबीच शान्ति कायम गर्ने, भैरहेका सेनाको कटौती गर्ने वा हटाउने, शान्ति प्रक्रिया स्थापना र प्रवर्द्धन गर्नेलाई प्रदान गरिनुपर्नेछ।…..”

नोबेल पुरस्कारको क्षेत्र:

अल्फ्रेड नोबेलको इच्चापत्रमा उल्लेख भएअनुसार नै वितरण गरिने हुनाले नोबेल पुरस्कार गणित, कम्प्युटर, नक्षत्रविज्ञान, आदित्यादि क्षेत्रमा दिइँदैन। यो पुरस्कार उल्लेखित क्षेत्रमा महत्त्वपूर्ण काम गरेबापत उनीहरूको कामलाई पुरस्कार दिइने हो। खोज, आविष्कार, पुस्तक, प्रक्रिया, सिद्धान्त, आदिलाई मूल्याङ्कन गर्दै सम्बन्धित व्यक्तिलाई पुरस्कार दिइन्छ।

एउटा नोबेल पुरस्कार बढीमा तीन जनालाई बाँड्न सकिने प्रावधान नोबेल समितिको रहेको छ। एउटै व्यक्तिले विभिन्न विधामा पुरस्कार भने पाएका छन्।

नोबेल पुरस्कार सम्बन्धी केही तथ्यहरू:

  • अहिलेसम्म(२०१८) सम्म ९०८ व्यक्तिहरू र २७ संस्थाहरूलाई नोबेल पुरस्कार दिइएको छ।
  • सबैभन्दा कम उमेरमा पाउने : मलाला युसुफजाई (१७ वर्ष) – शान्ति
  • सबैभन्दा बढी उमेरमा पाउने : आर्थर अस्किन(९६ वर्ष) – भौतिक शास्त्र
  • नोबेल पुरस्कार पाउने महिलाहरूको सङ्ख्या : ५२
  • नोबेल पुरस्कार दिँदा थुनामा हुनेहरू : कार्ल भोन ओसिट्ज्कि(जर्मनी), आङ साङ सु कि(बर्मा), लिउ सियाबो(चीन)
  • एक पटकभन्दा बढी नोबेल पुरस्कार पाउनेहरू : जे बार्दिन( भौतिक शास्त्र, १९५६,१९७२); म्यारी क्युरी(भौतिकशास्त्र १९०३, रसायनशास्त्र १९११); लाइनस पलिङ(रसायनशास्त्र १९५४, शान्ति १९६२); एफ सेन्गर(रसायनशास्त्र १९५८, १९८०); आइसिआरसि ( शान्ति १९१७, १९४४, १९६३); युएनएचसिआर(शान्ति १९५४, १९८१)
  • नोबेल पुरस्कार पाउने विवाहित जोडीहरूः म्यारी क्युरी र पिरे क्युरी; इरिन जोलियट क्युरी र फ्रेडेरिक जोलियट; गर्टी कोरी र कार्ल कोरी; मे बिट मोसर र एडभर्ड आइ. मोसर; एल्भा मिर्डल र गुन्नार मिर्डल।
  • नोबेल पुरस्कार पाउने आमाछोरी : म्यारी क्युरी र इरिन जोलियट क्युरी
  • नोबेल पुरस्कार पाउने बाबुछोरी : पिरे क्युरी र इरिन जोलियट क्युरी
  • नोबेल पुरस्कार पाउने बाबुछोरा : विलियम ब्र्याग र लरेन्स ब्र्याग; निल्स बोर र आज एन. बोर; हान्स बोर चेल्पिन र उल्फ भोन युलर; आर्थर क्रोनबर्ग र रोजर डि. क्रोनबर्ग; मेन सिगबाह्न र काइ एम. सिगबाह्न; जे.जे. थमसन र जर्प पाजेट थमसन।
  • नोबेल पुरस्कार पाउने दाजुभाइ : जन टिन्बरजेन र निकोलस टिन्बरजेन
  • नोबेल पुरस्कार पाउने भारतीयहरू:रवीन्द्रनाथ ठाकुर(साहित्य, १९१३); चन्द्रशेखर भेन्कटरमन(भौतिकशास्त्र, १९३०); मदर टेरेजा(शान्ति, १९७९); अमर्त्य सेन(अर्थशास्त्र, १९९८); कैलाश सत्यार्थी(शान्ति, २०१४)

***