एनआरएनमा लफडा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एनआरएनमा लफडा



काठमाडौं- गैर आवासीय नेपाली संघकी निवर्तमान सचिव जानकी गुरुङले विशेष साधारणसभा बोलाइ छलफल चलाउन माग गरेकी छन्।

गुरुङले गत अक्टोबर महिनामा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व महाधिवेशनमा साधारणसभाबाट अनुमोदित नभएको महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई तत्काल छलफल गर्न माग गरेकी हुन् ।

गुरुङले एनआरएनका कुनै पनि निर्णयहरु मान्य नहुने चेतावनी समेत दिएकी छन् । संस्थालाई विधानसम्मत र बैधता प्रदान नगर्ने हो भने आफूहरूले कुनै पनि निर्णय नमान्ने चेतावनी दिएकी हुन् ।

उनले एक विज्ञप्ति प्रकाशित गर्दै काठमाडौँमा सम्पन्न चुनावमा गरिएका अनियमितताहरुको तत्काल छानबिन गर्न माग गरेकी छन् ।

गुरुङ गत निर्वाचनमा महासचिव पदकी प्रत्यासी पनि थिइन् ।

गत साता गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्यले पनि लन्डनमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दे तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका थिए।

उनले नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भन्दै यसले संस्थाको गरिमामाथि नकारात्मक असर परेको जनाएका थिए।

जानकी गुरुङद्वारा प्रकाशित वक्तव्य

गैरआवासीय नेपाली संघको नवौं विश्व महाधिवेशन आँशिक रूपमा सम्पन्न भएको तीन महिना पुग्न लागेको छ । संस्थाको गरिमा र साखमाथि थप आँच आउन नदिन संयम अपनाइ निर्बाचनको मत परिणाम एकतर्फी रुपमा घोषणा गरिएकोमा पनि तटस्थ रहंदै विधान विपरित गरिएका गम्भीर त्रुटिहरुलाई सच्याउंदै लैजानेमा आशावादी थियौं ।

तर यतिका समय बितिसके पछि पनि नेत्रित्वमा रहनेहरुबाट संस्थाको वैधानिक पाटाहरु, महाधिवेशनका मुलभूत थाति राखिएका पक्षहरुको सम्बोधन र परिपूर्तितर्फ गैर जिम्मेवार रहेको पाइएकोले देहायका बिषयहरु उपर अविलम्व निर्णयमा पुग्न यो बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।

१, निर्वाचन समिति उपर गरिएका सबै उजुरीहरुको छानबिन र निर्णय सार्वजनिक गरियोस ।

२, महासचिव र कोषाध्यक्षको साधारणसभाबाट अनुमोदित नभएको प्रतिवेदनलाई त्यसबेला पछि विशेष समिति बनाई पारित गर्ने भनिएकोमा विशेष समिति हैन – विशेष साधारणसभा बोलाई छलफल चलाईयोस ।

३, संस्थाले सँरचनागतरूपमा गर्दै आएका काम र प्रगतिको निरन्तरता दिन र अनावश्यक रूपमा हरेक क्षेत्रमा फेरबदल तुरून्त रोकियोस ।

उपरोक्त विषयहरु माथि सम्बन्धित पक्षले अविलम्व सम्बोधन गरी आगामी कार्यक्रम सार्वजनिक गरियोस र सबैको साझा संघ महशुस गर्ने गराउने वातावरण तयार गरियोस । संस्थालाई यदि विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु। धन्यवाद

जानकी गुरुङ

निवर्तमान सचिव

गैरआवासीय नेपाली संघ