साउथ अस्ट्रेलियामा नेपाली महिलाहरूको स्वास्थ्य लक्षित कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साउथ अस्ट्रेलियामा नेपाली महिलाहरूको स्वास्थ्य लक्षित कार्यक्रम सम्पन्न



गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलिया अन्तर्गत रहेको नारी निकुञ्ज , एडीलेड नेप्लिज क्रिकेट एसोसिएसन , अस्ट्रेलियन नेप्लिज नर्सेस एण्ड मिडवाइफ़ सोसाईटीले ” वोमेन्स हेल्थ विक २०२०” को अवसरमा संयुक्त कार्यक्रम सम्पन्न गरेको छ। “राम्रो स्वास्थ्यको लागि महिला सँगसँगै” भन्ने नारासँगै आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा साउथ अस्ट्रेलियामा रहेका नेपाली महिलाहरूको सहभागिता रहेको थियो। साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयस कि कोच तथा क्रिकेट खेलाडी जेसिक ओ’रेइल्ली , मेन्टल हेल्थ नर्स वेनडी स्कट , महिला तथा बालबालिका हस्पिटलमा कार्यरत नर्स विमला प्रधानले सहभागी महिलाहरूलाई आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने विषयमा बताएका थिए।

करिब ३० महिलाहरू उपस्थित रहेको उक्त अन्तरक्रियात्मक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको गैर आवासीय नेपाली संघ कि सचिव डोल्कर गुरुङले बताउनु भयो। विशेष गरी मानसिक र शारीरिक स्वास्थ्य, आफ्नो स्तन आफै परीक्षण गर्ने तरिकाको बारेमा बक्ताहरुले सहभागी महिलाहरुलाई बताउनु भएको थियो । महिलाहरूले बच्चा जन्माए पछि आफ्नो शरीरलाई कम समय दिने हुदा मानसिक र शारीरिक स्वास्थ्य राम्रो भए मात्र अरुको ख्याल गर्न सकिने भन्ने बिषयमा केन्द्रित रहेर उक्त कार्यक्रममा छलफल भएको गुरुङले बताउनु भयो।

नेपाली समाजमा अझै पनि धेरै महिलाहरूले आफ्नो स्वास्थ्य समस्याहरू खुलेर नभन्ने हुँदा यस प्रकारका कार्यक्रमले आफ्नो स्वास्थ्य प्रति सजक रहन प्रोत्साहित गर्ने नारी निकुञ्ज संयोजक मञ्जु खड्काले बताउनु भयो। खड्का भन्नु हुन्छ ” खुलेर समस्या नभन्ने वा खुल्न नचाहेको सङ्ख्या धेरै छ जब समस्या जटिल हुन्छ त्यस पछि थाहा पाउँदा ढिला भएको हुन सक्छ त्यसैले पनि महिलाहरूलाई यस प्रकारको कार्यक्रमले आत्मविश्वाश बढाउन सहयोग पुग्ने र यहाँ महिलाहरूको लागी उपलब्ध श्रोतको पहुँच सम्म पुग्न समेत भूमिका खेल्ने हामीले विश्वास लिएका छौ।”गैरआवासीय नेपाली सङ्घ साउथ अस्ट्रेलिया अन्तर्गत रहेको नारी निकुञ्जले महिलाहरू केन्द्रित रहेका नेतृत्व विकासको लागी समेत कार्यक्रम आयोजना गरेको थियो। साउथ अस्ट्रेलियामा सक्रिय महिलाहरूलाई लक्षित गरेर सीप विकासको बारेमा मल्टीकल्चर कम्युनिटीज काउन्सिल अफ साउथ अस्ट्रेलियासँग सहकार्य गरी एक कार्यशाला सम्पन्न भएको थियो। उक्त कार्यक्रममा महिलाहरूले सामाजिक क्षेत्रमा काम गर्दा आई पर्ने चुनौती र अवसरको बारेमा चर्चा गरिएको थियो।