एनआरएनलाई चुनावको चटारो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एनआरएनलाई चुनावको चटारो



काठमाडौं /असोज २३ 

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई चुनाव लागेको छ । आउने शनिबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनले दुई वर्षका लागि नेतृत्व चयन गर्ने भएकाले यसमा सहभागी÷उम्मेदवार हुनेको जमघट राजधानीमा भइसकेको छ । उम्मेदवार हुन चाहनेहरू चुनावी अभियानमा सक्रिय छन् । एनआरएनएको विश्वका ७७ देशमा शाखा विस्तार भइसकेको छ । सम्मेलनमा दुई हजारभन्दा बढी सहभागी हुने अनुमान छ ।

अध्यक्षका लागि अहिलेका उपाध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन् । भट्ट यसअघिको कार्यसमितिमा पनि उपाध्यक्ष थिए । स्थापनाकालदेखि एनआरएनएमा सक्रिय उपेन्द्र महतो÷जिवा लामिछानेको समर्थन भट्टले पाएका छन् । पछिल्लो समय एनआरएन महतो÷लामिछाने र अहिलेका अध्यक्ष शेष घले समूहमा विभाजित छन् । घले समूहबाट शेषकै श्रीमती जमुना गुरुङले उम्मेदवारीको तयारी गरिरहे पनि आइतबारसम्म घोषणा गरिएको छैन । ‘आजसम्म त उम्मेदवारी दिने तयारी छ’, घले निकटस्थ स्रोतले भन्यो, ‘तर उहाँ ब्याक हुने सम्भावना पनि छ ।’ स्रोतका अनुसार कसको कति भोट भन्ने आँकलन गर्ने काम भइरहेको छ । जित्ने सम्भावना रहेको अवस्थामा मात्र गुरुङले उम्मेदवारी दिने तयारी छ । ‘आठ सय भोट आफ्नो पक्षमा हुने निश्चित भए पर्सी उम्मेदवारी घोषणा हुन्छ’, स्रोतले भन्यो ।

दुई दशकअघि श्रम गर्न जापान पुगेका भट्ट जापानमा सफल नेपाली व्यवसायी हुन् । हस्पिटालिटी बिजनेसमा रहेका उनी त्यहाँ दुई सय ९० रेस्टुरेन्टका मालिक हुन् । यसबाहेक लक्जरी रिसोर्ट पनि उनको लगानी छ । भट्टको टीबीआई गु्रपले यहाँ पनि मिडिया, बियर, गार्मेन्ट, एयरलाइन्स आदि व्यवसायमा लगानी गरे पनि सफल देखिएको छैन । ‘लामो समय एनआरएन अभियानमा सक्रिय रहेको र दुईचोटि उपाध्यक्ष भएकाले साथीहरूले अध्यक्षको स्वभाविक दावेदारको रूपमा मलाई लिएका छन्’, भट्टले भने, ‘जितमा पूरा विश्वस्त छु ।’

अस्ट्रेलियाको धनाढ्यको सूचीमा १०१ स्थानमा शेष र १०२ औं स्थानमा जमुना छन् । दुई दशकअघि अस्ट्रेलिया पुगेका घले दम्पत्ति शिक्षण व्यवसाय र रियलस्टेट बिजनेसमार्फत माथि उठेको हो । घलेको काठमाडौंमा आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल शेराटन निर्माणाधीन छ । शेष
दोस्रोपटक एनआरएनएको अध्यक्ष भएदेखिनै महत्कांक्षी जमुनाले तयारी गरिरहे पनि अध्यक्ष हुने चाहना सार्वजनिक गरेकी थिइनन् । अहिले पनि आफैंले मुख नखोली आफ्ना दूतमार्फत चुनावको तयारी गरिरहेकी छन् ।

घले समूहले आइतबारै उपाध्यक्ष उम्मेदवार हुने तयारीमा रहेका कुमार पन्तसँग सहयोग मागेको थियो । स्रोतका अनुसार पन्तले सघाउने भए आजै उम्मेदवारी घोषणा हुन्छ भनेका थिए । तर, पन्तले गुरुङलाई अध्यक्षमा सघाउन नसक्ने जवाफ दिएका थिए । ‘चुनावका बेला मैले अरुसँग माग्ने, अरुले मसँग अरुले माग्नु स्वभाविक हो’, पन्तले अन्नपूर्णसँग भने, ‘तर म कुनै गुट, दलभन्दा पनि साथीहरूको चाहनामा उपाध्यक्षमा फेरि उम्मेदवार हुन थालेको छु ।’

यसपालिको चुनावमा अध्यक्षमा उम्मेदवारी दिन भट्टका साथै अर्का उपाध्यक्ष कुमार पन्तले ६ महिनाअघिनै तयारी सुरु गरेका थिए । दुवैले एनआरएनएको इकाइ रहेका देशमा चुनावी दौडाहा सुरु गरिसकेका थिए । तर, दुई महिनाअघि महतो र लामिछानेको मध्यस्थतामा भट्टले अध्यक्षमा उम्मेदवारी दिने र पन्तले दोहोर्‍याएर उपाध्यक्षमा उम्मेदवारी दिने सहमति भएको थियो । स्रोतका अनुसार शेषकी श्रीमती उम्मेदवार हुने सम्भावनाकै बीच भट्ट र पन्तबीच सहमति भएको थियो ।

एनआरएनको राजनीतिमै नरहेका शेष घलेलाई तत्कालीन अध्यक्ष जिवा लामिछानेले उत्तराधिकारीका रूपमा अघि बढाउँदै २०१३ मा अध्यक्षको चुनाव लड्न सघाएका थिए । घलेलाई अघि सारेपछि लामिछानेको महतोसँग पनि सम्बन्ध चिसिएको थियो । तर, घले अध्यक्ष भएको वर्ष दिन नपुग्दै घले र लामिछाने मनमुटाव सुरु भइसकेको थियो । तैपनि दुई वर्षअघि घले दोस्रोपटक अध्यक्ष निर्वाचित हुन सफल भए । ‘यसपालिको चुनाव जो जो बीचमा भए पनि खासमा महतो÷लामिछाने विरुद्ध घलेको लडाईं हो’, स्रोतले भन्यो ।

भट्ट समूहबाट उपाध्यक्षमा कुमार पन्त उम्मेदवार हुने निश्चित भए पनि अर्को उपाध्यक्षमा कसलाई समर्थन गर्ने टुंगो लागेको छैन । तैपनि सोनाम लामाको सम्भावना छ । घले समूहको समर्थनमा उपाध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने टुंगो लागेको छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारी भट्ट समूहको समर्थनमा उम्मेदवार हुनेछन्, घले समूहले रञ्जु वाग्लेलाई अघि सारेको छ । महासचिवमा भट्ट समूहबाट अहिलेकै महासचिव बद्री केसीलाई दोस्रोपटक उम्मेदवार बनाउने निश्चित भएको छ । घलेको समर्थनमा त्रिलोक गुरुङले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन ।

भट्ट समूहको समर्थनमा अहिलेकै कोषाध्यक्ष हिक्मत केसीले कोषाध्यक्षको उम्मेदवार बन्दै छन् भने घले समूहले नुछेत्र गुरुङलाई अघि सारेको छ । सचिवमा धेरैले घोषणा गरे पनि दुवै समूहले ककसलाई समर्थन गर्ने सार्वजनिक गरेका छैनन् । इन्फोएनआरएनएको विश्वका ७७ देशमा शाखा विस्तार भइसकेको छ । सम्मेलनमा दुई हजारभन्दा बढी सहभागी हुने अनुमान छ ।आजको अन्नपूर्णमा खबर छ