नर्सिङ पेसा : केही कर्तव्य,केही भावना - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नर्सिङ पेसा : केही कर्तव्य,केही भावना



-विजया बि.सी( अभिश्री)

कृमियाको युद्ध ।युद्धमा अङ्गभङ्ग भएका घाइते सैनिक ।अनि राती राती पनि हातमा लाल्टिन बोकेर उनीहरूको उपचारमा सक्रिय एक महिला । “द लेडि विथ द ल्याम्प” अर्थात् फ्लोरेन्स नाटिंगेल।मैले सानै छँदा पढेकि हुँ नाइटिंगेललाई ।त्यतिबेलाको उनको श्यामश्वेत तस्बिर अझै पनि उसैगरी बसेको छ मेरो मस्तिष्कमा ।कालो पहिरन र टाउकोमा सेतो स्कार्फ ।यी त्यही व्यक्ति हुन जसले यो नर्सिङ पेशाप्रती सानैमा धेरथोर रुचि जगाईदिए मेरो मनमा र त आज उनैले खनेको बाटोमा हिडिरहेकोछु म पनि ।

मानिस जन्मेपछी एक्दिन अवश्य मर्छ ।यो प्रकृतिको नियम नै हो ।तर अक्सर मृत्युले अनेक रूप लिएर आउने गर्छ ।त्यसमध्ये एउटालाई हामी बिरामी भएको भनेर बुझछौँ।जीवनका हरेक घटनाक्रमहरुमा बिरामी एउटा अतुलनीय पिडाको क्षण हो,जसले आफन्तमात्रै होइन सुन्ने,देख्ने र भोग्ने सबै पिडाको अनुभूति हुन्छ।बिरामीकै पिडाकै कारण मान्छे कहिलेकाही यस्तो पिडापुर्ण भावना पनि आउँछ -‘बिरामी जीवन बाँच्नु भन्दा मनु बेस ।´निराश कोणबाट आउने यी शब्दहरूले बिरामीलाई आशा देखाउँदैन ।तर, अस्पताल जानू पर्छ, उपचार गर्नुपर्छ र बाँच्नु पर्छ भन्ने शब्दहरू जीवनमा आशाबादी भावना हुन ।

म एउटी नर्स हुँ।म यो क्षेत्रमा प्रवेश गरेको लगभग ३ वर्ष भयो।हरेक क्षण बिरामीसँग नजिक हुनु मेरो दैनिकी हो ।म बिरामीका दुख र सुखहरुसँग साथै हुन्छु ।अहिले राष्ट्रिय मृगौला उपचार केन्द्र , वनस्थलीको शाखा ललितपुर युनिट सुमेरु अस्पताल अन्तर्गत डाईलाईसीस वार्डमा मेरो ड्युटी छ ।

अस्पताल परिसरमा एउटा मन्दिर छ।मैले यस अघि पनि धेरै अस्पतालको परिसरमा मन्दिर देखेकी छु । म सोँच्थेँ, ” भौतिक विज्ञानमा मात्रै विश्वास गर्ने अस्पतालमा धार्मिक पक्षमा मात्रै विश्वास गर्ने मन्दिर किन बनाएको होला ” ? तर जब मेडिकल साईन्सले आशा मारेपछी बिरामीका आफन्तहरुले त्यही मन्दिरको घण्टा बजाउँदै भगवानसँग हार गुहार गरेको देखेँ , तब मैले मेरो प्रश्नको जवाफ भेट्टाएँ।
नर्सको जीवन बिरामीको जीवनसँग जोडिएको हुन्छ ।बिरामीको हेरचाह गर्नु उनीहरूको उपचारको ख्याल गर्नु हाम्रो दायित्व हो ।सानो भन्दा सानो कुरामा ख्याल नगर्दा कहिलेकाही ठुलो गल्ती भइरहेको हुन्छ। बिरामिहरुलाई राम्रो हँसिलो व्यवहार गर्न सकियो भने उनीहरूको आत्मबिश्वास बढ्ने गर्छ र उपचारको लागि बिरामीको आत्मबिश्वास कति महत्त्वपूर्ण हुन्छ भन्ने मैले बुझेकी छु ।

कसैको जीवन बचाउनको लागि उपचारमा सहभागी हुँन पाउँनु हामी नर्सहरुको गर्वको विषय पनि हो ।जब कुनै बिरामीको अनुहार उज्यालो हुन्छ,ओठमा मुस्कानका केही धर्काहरु हुन्छन् तब उनीहरूका आफन्तहरु औधी खुसी हुन्छन् ।सायद त्यति बेला उनीहरू हेक्का त गर्दैनन् ,तर हामी नर्सहरु पनि त्यो दृश्यले असाध्यै गदगद भएका हुन्छौँ।

मेरी आमा पनि मृगौला फेल भएर डायलाईसिस गराइरहनु भएको छ ।त्यसैले पनि म बिरामीको परिवारको भावना कस्तो हुन्छ भन्ने पनि महसुस गर्न सक्छु ।डायलाईसिस गर्ने आउने हरेक बिरामीहरु अनि महिलाहरुमा मेरी आमाको रूप देख्छु ।आखिर संसारका सबै आमाहतु एकै त हुन।

अनि डायलाईसिसको लागि नाम बोलाएपछी पालो कुरेर बसेका बिरामीको अनुहारमा आशा बोकेर बेडमा गएर बस्छन ।जब बस्छ्न बेडमा , त्यति बेला प्राय सबैले जीवनदेखि निराश भए झैँ गरी सोध्छ्न,” सिस्टर , के हामी बाँच्छौँ त,यसरी शरीरभरि घोँचेर?” उनीहरूको चित्त बुझाउनका लागि त धेरै कुरा गरिदिन्छु म तर मलाई नै थाहा हुँदैन उनीहरूको प्रश्नको सही जवाफ ।

अनि चुपचाप केही निदर्यी झैँ देखिएर उनीहरूको शरीरमा सुई घोच्न बाध्री हुन्छु ।सुई घोच्नु मेरो कर्तव्य हो ।अनि ” उनीहरूलाई अर्कोपटक सुई घोच्नै नपर्ने गरी निको भईदिए नि हुने” भन्ने चाहिँ मेरो भावना ।यसरी मेरो कर्तव्यमा हरबखत भावना सँगसँगै जोडिदिन्छ ।
सायद हरेक डायलाईसिसले किस्ताबन्दीमा जीवनका केही दिनहरू थपिदिन्छ ।जति थपिदिन्छ त्यति मै चित्त बुझाउन बाध्य हुन्छन् बिरामी ।मानौँ त्यो कुनै भिक्षुले पाएको भिक्षा हो, जति दिइन्छ त्यति मै चित्त बुझाउनु पर्ने।

मैले पनि धेरै जनाबाट सुनेकोछु, नर्सहरुले झर्कोफर्को गर्छन् भन्ने कुरा ।म सबै नर्स असाध्यै राम्रो व्यवहार गर्छ्न पनि भन्दिन ।त्यो त धेरै हदसम्म व्यक्तिको स्वभावमा पनि भर पर्छ ।तर नर्सहरु आफ्नो शक्तिले धानुन्जेलसम्म बिरामिहरुको हेरचाहमा दिनरात नभनी राम्रोसँग खाना नखाई आराम पनि गर्न नपाई आफ्नो ड्युटिमा व्यस्त रहन्छ्न ।कहिलेकाही बिरामीको सेवा गर्दा नर्स समेत बिरामी पर्छन नै।तर उनीहरूले कर्मनिष्ठ भई समाजसेवा भावनाले आफ्नो कर्तव्य इमानदारीका साथ निभाएका हुन्छन् ।डायलाईसिसमा बिरामिहरुमाथी धेरै ठुलो जोखिम हुने गर्दछ ।कहिलेकाही डायलाईसिस गर्दागर्दै बिरामीलाई च्याप्न सक्छ ।आफन्तहरु आत्तिन्छ्न ।उनीहरूलाई ज्यान जाने हो भन्ने भय पनि हुन्छ ।जीवन बचाई दिन हामीसँग याचना गर्छन्।चिन्ता हामीलाई पनि हुन्छ तर त्यो लुकाएर जिम्मेवारी बहन गरिरहेका हुन्छौं।यस्तो अवस्थामा हामीले औषधि मात्रै खुवाउदैनौँ मनोबल उच्च बनाउने कर्तव्य निर्वाह गरिरहेको हुन्छौँ।

तर, प्रकृतिको नियमसँग हारेको दिन हाम्रो पनि के लाग्छ र यस्तो बेला निकै नमिठो अनुभूति हुन्छ ।कहिलेकाही बिरामीको उपचार गर्दा अप्रत्यासित परिणाम समेत आउने गर्छ ।उपचारको क्रममा कसैको निधन हुँदा मुटु चुँफे जस्तो हुन्छ ।डायलाईसिस गर्ने आउने एक जना बिरामी थिए भोगबहादुर गुरुङ्ग ।लगभग ५०-५२ वर्षका ।उनी आफू बिरामी हुँ भन्ने पनि बिर्सिएर अस्पतालका अरू बिरामीलाई सहयोग गर्थे।भन्थे-“सहयोग गर्दा उनीहरूको काम पनि कम हुन्छ, अनि म आफैलाई पनि खुसी लाग्छ।”उनी यो संसारबाट सदाका लागि गइसके तर अझै पनि म बेलाबेलामा आफ्नो मोबाइलमा भएको उनको तस्बिर हेर्छु ।उनले भनेको कुराहरू सम्झिन्छु ।अनि हरेक बिरामिप्रती झनै भावनात्मक सम्बन्ध गहिरो भए झैँ लाग्छ ।

नर्स बिरामीसँग मात्र जोडिएको हुदैनन् उनीहरू बिरामीको भिजिटरसँग पनि नजिक भएर हरेक दुखपिडाहरु अनि बिरामीको बारेमा कुरा गर्छन् बिरामीको भिजिटरलाई पनि मनोबल बदाइदिने खालको कुरा गरी सम्झाउछ ।जसले गर्दा उनीहरू आफ्नो बिरामिप्रती सानो जिउने आशा जगाउन पुग्छ्न ।नर्स एउटा पेसा त हो तर यो सधैँ पेसाभन्दा माथि भइदिन्छ ।बिरामी आएदेखी जाने बेलासम्म हामी उनीहरूको स्वास्थ्यसँग जोडिएका हुन्छौं र त, ` सम्बन्ध ´नर्स पेसाको कर्तव्यमा मात्रै समित हुँदैन ।भावानात्मक पनि हुन्छ।आखिर मान्छे भावना सहितको प्राणी न हो ।जब बिरामी डायलाईसिस गरेर जाने बेला हुन्छ, तब खुसी त लाग्छ नै ।तर एकखाले चिन्ता पनि भइरहन्छ मनमा। किनकि यसरी जानेहरुमध्ये कति फेरि डायलाईसिस गर आउँदैनन।उनीहरूको खबर मात्रै आईपुग्छ ।दु:खद खबर ।

जसरी संसारमा मान्छेहरू आउँछन र जान्छन त्यसरी नै अस्पतालमा पनि बिरामिहरु आउँछन र जान्छन ।तर जब जाने बिरामी फेरि डायलाईसिस गर्न आउदैन्न तब मनमा अर्कै शङ्का आईदिन्छ ।यसरी जानेहरुमध्ये कोही त यति नजिक भएका हुन्छन् कि, हरेक नयाँ बिरामी आउँदा त्यही पुरानो अनुहार खोजिरहन्छौँ हामी ।त्यसैले पहिलो भेट्मा पनि मिठो बोलीले बोल्यौं कहिले त्यो पहिलो भेट्नै अन्तिम भेट हुन सक्छ ।