अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो



हिमालपोस्ट/काठमाडौँ

भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको जानकारी दिए।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि बुधबार सो डिजेल पठाइएको थियो। आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो। पाइपलाइनबाट पानी खसिसकेपछि अहिले डिपोमा रहेको चार वटा ट्याङ्कीमा एक हजार लिटर डिजेल भरिँदै गरिएको पौडेलले बताए।

भारतीय आयल निगम र नेपाल आयल निगमबीच  क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। सम्झौता भएको एक दशकसम्म विविध कारणले सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि सुचारु भएको थियो।

पाइपलाइन तुरुन्त निर्माण गर्नका लागि तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच काठमाडौँमा सम्झौता भएको थियो। सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतीहारी डिपोबाट पाइपलाइन निर्माण थाल्यो। निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो।

निर्धारित समयभन्दा १५ महिना अगावै पाइपलाइन निर्माण सम्पन्न भएको छ। कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ। उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने अमलेखगन्ज डिपो प्रमुख यादव बताउँछन्। अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ।

भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइपमार्फत आएको तेलको अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने यादवले जानकारी दिए।