गोपाल खड्कालाई कारबाही गर्न मन्त्रालयले सिफारिस गर्र्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गोपाल खड्कालाई कारबाही गर्न मन्त्रालयले सिफारिस गर्र्यो



भदौ २७, काठमाडौं:

लामो समयदेखि चर्चामा रहेको आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काको जग्गा खरिद काण्डले बजार निकै नै तातेको छ । यति धेरै चर्चामा रहँदा पनि कारबाही हुदैनकी भन्ने त्रास जनतालाई भइरहेको छ ।

गोपाल खड्कालाई कारबाही गर्न सोमबार साँझ आपूर्ति मन्त्रालयले सिफारिस गरेको छ। आपुर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कालाई कारबाहीका लागि मन्त्रीपरिषद् लैजाने निर्णय गरेका हुन्। खड्कालाई कारबाही  सिफारिसपछि सचिव देवकोटा सोमबार राति नै चीन भ्रमणमा गएका छन्।

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खड्काले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता गरेको ठहर गरेको थियो। यसैका आधारमा सचिवले खड्कालाई कारबाहीको सिफारिस गरेका हुन्। खड्कालाई निगमबाट आपूर्ति मन्त्रालय तान्ने तयारी भइरहेको स्रोतको दावी छ। मन्त्रिपरिषदमा आज फाइल जाने छ।

जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेस गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ। निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो।

समितिले निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको थियो। साथै खड्कालगायतलाई कारबाही गर्न सिफारिस समेत गरेको थियो।

जग्गा खरिद प्रक्रियामा अनियमितता भएको फेला परेकाले व्यवस्थापिका–संसद् नियमावलीको नियम १८२ अनुसार आवश्यक अनुसन्धान एवम् छानविन गरी कानुनी कारबाही गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो। यसैका आधारमा मन्त्रालयले कारबाही सिफारिस गरेको हो।

उपसमिति संयोजक सांसद सुवासचन्द्र ठकुरीले स्थलगत अध्ययनका क्रममा जग्गाधनीले पाएको मूल्य र निगमले तिरेको मूल्यमा आकाश जमिनको फरक परेकाले आर्थिक अपचलन भएको पुष्टि हुने बताएका छन्।