आयल निगमको कालोबजारी: ३८ रुपैयाँमा किनेको पेट्रोल १ सय १ मा बिक्री - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आयल निगमको कालोबजारी: ३८ रुपैयाँमा किनेको पेट्रोल १ सय १ मा बिक्री



काठमाडौं- लकडाउनको तीन महिनाको अवधिमा तेल अस्वाभाविक बढी मूल्यमा बेचेर ३ अर्ब नाफा आर्जन गरेको आयल निगमले पुनः इन्धनको मूल्यवृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट नयाँ मूल्यसूची आएपछि भाउ समायोजन गर्ने गरेको निगमले मंगलवार आश्चर्यजनक रुपमा मूल्यवृद्धि गरेको छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर समान २ रुपैयाँ वृद्धि भएको जानकारी दिएका छन् । मूल्यवृद्धिपछि मंगलबार राति १२ बजेबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय १ रुपैयाँ र डिजेल–मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आइओसीले बुधवार अर्थात् १ जुलाइमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै छ । तर, निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्यवृद्धि गरेको हो । ‘हामीले १५ दिनअगाडि आएकै मूल्यअनुसार नेपाली बजारमा समायोजन गरेका हौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘खासमा पहिले नै मूल्य समायोजन गर्न खोजिरहेका थियौँ, तर अहिले निर्णय भएको हो ।’

विगत केही दिनको अन्तर्राष्ट्रिय बजारको मूल्य हेर्दा आइओसीबाट घटेर नयाँ मूल्य आउने सम्भावना छ । मंगलवार ब्रेन्ट क्रुडको मूल्य १ प्रतिशत र इन्डियन बास्केटको मूल्य २ प्रतिशतले घटेको छ । आइओसीबाट मूल्य घटेर आएको अवस्थामा नेपालमा भाउ बढाउन नसकिने विश्लेषण गर्दै अघिल्लै दिन निगमले मूल्यवृद्धि गरेको स्रोतले बतायो । यो मूल्यवृद्धिपछि निगमलाई आगामी १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुनेछ । निगमले पेट्रोलमा १६ पैसा नोक्सान तथा डिजेलमा १.५ रुपैयाँ नाफा राखेर मूल्यवृद्धि गरेको जनाएको छ ।

नेपाल भित्रिने इन्धनमध्ये ६० प्रतिशत डिजेल खपत हुने भएकाले सोही नाफाले मात्र पनि निगमको समग्र आर्थिक अवस्थालाई सकारात्मक बनाउँछ ।

३८.३२ मा किनेको पेट्रोलमा सरकारलाई ५३ रुपैयाँ कर

आयल निगमले १५ दिनअघि आइओसीबाट पेट्रोल ३८.३२ र डिजेल ४१.२९ रुपैयाँ प्रतिलिटरका दरले खरिद गरेको थियो । सोही खरिददरमा सरकारी कर तथा अन्य खर्चका शीर्षक जोडेर निगमले पेट्रोल १ सय १ र डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्ने निर्णय गरेको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर आगामी आवको बजेट ०७७/७८ सार्वजनिक गर्दै १६ जेठबाट वृद्धि गरेको थियो । बजेटमार्फत पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको थियो ।

जसकारण अहिले पेट्रोलबाट ५२.७३ रुपैयाँ, डिजेलबाट ३६.१५ रुपैयाँ र मट्टीतेलबाट १२.८८ रुपैयाँ प्रतिलिटर कर उठिरहेको छ । निगमका अनुसार कर वृद्धि हुनुअघि मासिक ५ अर्ब रुपैयाँ राजस्वमा योगदान गर्दै आएकोमा बजेटपछिको प्रतिमहिना पेट्रोलियमबाट ७ अर्ब रुपैयाँ राजस्व भुक्तानी हुनेछ । आयल निगमका अनुसार चालू आवको १७ जेठसम्म १ खर्ब ३३ अर्ब ४० करोड २८ लाख २५ हजार ८ सय ३६ रुपैयाँको इन्धन आयात भइसकेको छ । यसमध्ये आइओसीलाई ८३ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ इन्धन खरिदबापत भुक्तानी दिइएको छ । बाँकी करिब ५० अर्ब रुपैयाँ सरकारलाई विभिन्न शीर्षकमा कर बुझाइएको छ ।

नाफा हुन्जेल मूल्य स्थिर घाटा हुन थालेपछि मूल्यवृद्धि

सार्वजनिक संस्थान भएर पनि आयल निगमले मुनाफाखोर प्रवृत्ति देखाइरहेको छ । पछिल्लो तीन महिनामा चरम नाफा कमाइरहँदा निगमले मूल्य समायोजन गरेन । वायुसेवा प्रदायक कम्पनीको दबाबपछि हवाई इन्धन प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।

अर्धमासिक रूपमा १० हजार किलोलिटर मात्र खपत हुने हवाई इन्धनको मूल्य घटाउँदा निगमको समग्र वासलातमा खासै असर गर्दैन, किनभने सोही अवधिमा पेट्रोल २० हजार किलोलिटर र डिजेल ७० हजार किलोलिटरसम्म बिक्री हुने गर्छ । त्यसैले निगमले वासलातमा खासै असर नगर्ने हवाई इन्धनको मूल्य घटाएर अरू पेट्रोलियम पदार्थको मूल्य स्थिर राखी चरम नाफा आर्जन गरेको छ ।

तर, पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बिस्तारै उकालो लाग्दा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मूल्य बढाएर पठाउन थालेको थियो । त्यसैले नेपाली बजारमा मूल्य बढाउन निगम चाहिरहेको थियो ।

१५ दिनअघि प्राप्त मूल्यसूचीलाई लिएर मगलबार रातिबाट लागू हुने गरी मूल्यवृद्धि गरिएको हो । आइओसीले पनि भारतीय बजारमा दिनहुँ मूल्यवृद्धि गर्दै दिल्लीमा पेट्रोल ८०.४३ र डिजेल ८०.५३ प्रतिलिटर भारु पुगेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४१.७१ डलर प्रतिब्यारेल पुगेको छ ।

खरिद मूल्य घटेर आउँदा नघटाएर मासिक १ अर्बका दरले नाफा

आयल निगमले लकडाउन अवधिमा सबैभन्दा बढी नाफा आर्जन गरेको छ । निगमले १२ चैत ०७६ मा अन्तिमपटक मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १०–१० रुपैयाँ घटाएको थियो । जसकारण पेट्रोल ९६ र डिजेल तथा मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर बिक्री मूल्य तय भएको थियो । उक्त मूल्य घटाएपछि आयल निगमले मूल्य समायोजन गरेको थिएन ।

सो मूल्य घटाउँदा पनि निगमले त्यसपछिको १५ दिनमा ४९ करोड २९ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको थियो । निगमले माग घटेका वेला मूल्य घटाउन आवश्यक नरहेको कारण देखाउँदै अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घटे पनि नेपाली बजारमा समायोजन गरेन । जसकारण चैत, वैशाख र जेठमा प्रतिमहिना करिब १–१ अर्ब रुपैयाँका दरले नाफा आर्जन गरेको निगम स्रोतको भनाइ छ ।

‘लकडाउनमा सबैभन्दा बढी नाफा कमाउने नेपालको कुनै कम्पनी छ भने त्यो आयल निगम हो,’ स्रोत भन्छ, ‘किनभने, यो कम्पनीले प्रतिमहिना करिब १ अर्ब नाफा आर्जन गरेको छ ।’ लकडाउनका कारण माग घटेर २० प्रतिशतसम्म झरेको थियो ।

त्यसवेला मूल्य नघटाउँदा आयल निगमले पेट्रोलमा २६ रुपैयाँ र डिजेलमा करिब २० रुपैयाँ प्रतिलिटरसम्म नाफा राखेको स्रोतको भनाइ छ । चालू आवको समाप्तिसम्म निगमले १० अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्ने अनुमान गरिएको छ । गत आवमा निगमले ७ अर्ब रुपैयाँ नाफा कमाएको थियो ।