संसदमा 'फेस सेभ' गर्न ओलीका ७२ घण्टे योजना: देउवा रोक्ने देखि पार्टी एकतासम्म - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संसदमा ‘फेस सेभ’ गर्न ओलीका ७२ घण्टे योजना: देउवा रोक्ने देखि पार्टी एकतासम्म



काठमाडौं- झापा आन्दोलनको उद्गमस्थल सुखानीमा क्रान्तिकारी कमरेडहरूले सहादत प्राप्त गरेको दिन जाने कार्यक्रम आज प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक पन्छाएका छन् ।

झण्डै एक साताअघि तय भएको उक्त कार्यक्रमलाई उहाँले आज बिहान रध्द गरेका हुन् । आज ओली राजनीतिक उचाईको जुन स्थानमा पुगेका छन्, त्यसको पहिलो आधार त्यहि सुखानी हो । तरपनि उनले त्यताको कार्यक्रम रद्ध गर्नुलाई विकसित राजनीतिक घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

त्यसअघि प्रधानमन्त्रीले हिजो बेलुकी राष्ट्रपतिसँग शीतल निवासमा भेटघाट गरेका थिए । अस्ति र हिजो सिंहदरबारमा सरकारले विद्रोही विप्लव समूहसँग वार्ता गरेको थियो । सोझो र फराकिलो बाटोको राजनीति छाडेर साँघुरो र अँध्यारो गल्लीमा छिरेका प्रधानमन्त्रीको चाहना र उद्देश्य पुनः राजनीतिक ‘माइलेज’ बटुल्ने नै हो । आगामी आइतबार अपरान्ह शुरु हुन लागेको प्रतिनिधिसभाको बैठक कसरी ‘फेस सेभ’ गर्ने भन्ने ध्याउन्न र प्राथमिकतामा आज झापा जाने कार्यक्रम रद्ध भएको बताइन्छ ।

सर्वोच्च अदालतमा हिजो भएको बिदापछि उत्पन्न फरक खालको परिस्थितिपश्चात् प्रधानमन्त्री निकटहरू हिजैदेखि बेस्सरी पार्टी एकता जोगाउने नाममा जुर्मुराएका छन् । आज र भोलिसम्म वार्ता, छलफल र भेटघाटको नाममा त्यो क्रमले नयाँ उचाई लिने छ । निश्कर्ष र परिणाम नखोजिएका ती भेटघाटको अन्तर्य पर्सिदेखि शुरु हुने संसद अधिवेशनलाई कसरी अल्मल्याउने र टार्ने भन्नेमै केन्द्रित हुनेमा कुनै शंका देखिँदैन ।

अस्तिसम्म ढुक्क देखिएका काँग्रेस सभापति शेरबहादुर देउवाले हिजोबाट बोली फेरेपछि ओली समूह उनलाई रोक्ने कसरतमा पुगेको हो । बालुवाटारको निचोड छ ‘तिनलाई जसरी पनि जान नदिने हो ।’ त्यसैगरी,नेकपाको प्रचण्ड–माधव खेमालाई पनि देउवासँग टाँसिनबाट रोक्नलाई एकता वार्ताले सहयोग पुर्याउने उनीहरूको विश्वास छ । यी सबै खेल भनेको ‘इलेभेन्थ आवर’ मा पनि मुलुकको राजनीतिलाई आफ्नो ‘ग्रिप’ मा राख्ने र घुमाइरहने भन्ने नै हो ।

अबको दुई दिन प्रधानमन्त्रीले मैले राम्रो गर्न खोज्दै थिएँ भनेर सम्भवतः सबैभन्दा धेरै भन्नेछन । हिजोका दिनमा हिंसा मच्चाउनेहरूलाई आज ‘ट्रयाक’ मा कसले ल्यायो भनेर ‘सिके राउत र विप्लवलाई’ देखाउँदै अघि सार्ने काम पनि आगामी ७२ घण्टासम्म हुनेछ । सँगसँगै यसबीचमा गरिएको शिलान्यास र उद्घाटनलाई विकास निर्माणको फेहरिस्त भन्दै सार्वजनिक गरिनेछ ।

उता, आज दिउँसो सरकारी कार्यक्रममा प्रधानमन्त्रीसँगै सार्वजनिक भएका नेत्रविक्रम चन्द ‘विप्लव’ को पनि मक्सद र योजना भनेको त्योभन्दा फरक खालको राजनीतिक ‘छलाङ’ नभएको अनुमान गर्न सकिने जनआस्थाले लेखेको छ ।