सबै आए तर ओली आएनन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सबै आए तर ओली आएनन



किङ खनाल

कुरा राजनीतिको हैन संस्कार र साथको हो,सहानुभूति र व्यवहारको हो, दुख र सुखको हो । समयले सबैलाई परीक्षा लिन्छ तर, हिजोको त्यो परीक्षामा मैले केपी ओली फेल भएको महसुस गरेँ । हुन त यसलाई राजनीतिक हिसाबकिताबको तराजुमा राखेर जोखिएला, तराजुको अर्को तिर अव्यवहारिक तत्त्व राखेर जोख्ने प्रयास गरिएला तर ओलीले त्यो एक दिन चुनावी सभामा होइन प्रचण्डसंग बिताउनुपर्थ्यो ।

जतिबेला प्रचण्डले आफ्नै छोराको अप्रत्यासित खबर सुन्नु पर्र्यो त्यति बेला झापामा चुनावी कार्यक्रमको लागि ओली र प्रचण्ड सँगै थिए । वाम गठबन्धनको चुनावी कार्यक्रमका लागि पूर्वी जिल्लाहरूमा सँगै कार्यक्रम गरिरहेका थिए ।

झापाको बि एण्ड सी मेडिकल कलेजको कार्यक्रममा शनिवार डा गोविन्द केसीको एकसाथ दोहोलो काट्दै दुई महिना भित्र उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा पनि गरे । मेडिकल माफियाको विरुद्धमा कैयौँ पटक अनसन बसेका गोविन्द केसीमाथि धावा बोल्दै पार्टी खोलेर आउन चुनौती पनि दिए ।

झापाका कार्यक्रम सक्न नपाउँदै आइतबार बिहान एकाएक प्रचण्डमाथि बज्रपात आइपर्र्यो, अप्रत्यासित खबरले जताततै स्थान जमाईरहेको त्यो समयमा आफ्नो एकमात्र छोराको अपत्यारिलो खबरले स्तब्ध बनेका दाहाल आँखाबाट आँसु झारिरहे, मनमा अनेक संसयले अड्डा जमायो, कता जाउँ, के गरौँ, कसलाई भनौं उनी छट्पटिए ।

सबैतिर छ्यापछ्याप्ती प्रकाशको खबरले सनसनी मच्चायो, विभिन्न पार्टी, नेता, जनता, कलाकार, मिडियाकर्मी लगायत सबैले उनीप्रति श्रद्धाञ्जली दिए । धेरै ठाउँमा चुनावी कार्यक्रम स्थगित भए, कयौँ नेताहरू प्रचण्डलाई भेट्न अस्पताल र पेरिसडांडा पुगे बाबुराम भट्टराई गोरखाबाट काठमाडौँ आए, आँसु र मन थाम्न सकेनन् बाबुराम र प्रचण्ड अँगालो मारेर ग्वाँ ग्वाँ रोए, टाढा टाढाबाट नेता तथा सुभचिन्तकहरु उनलाई भेट्न काठामाडौं आए तर आएनन केवल केपी ओली ।

चितवनमा प्रचण्डका प्रतिद्वन्दी विक्रम पाण्डेले पनि सो दिनको लागि चुनावी कार्यक्रममा ब्रेक लगाए । नेपाली काँग्रेसकै धेरै नेताहरू श्रद्धाञ्जली समारोहमा पुगे तर, वाम गठबन्धनको एउटै हलोमा नारिएका ओली भने प्रचण्ड परिवारलाई भेट्न आएनन, त्यति मात्र होइन झापाबाट प्रचण्ड काठमाडौँ फर्कँदा पनि एक्लै छोडिदिए ।

सन्तानको मृत्युको खबर आफ्नै कानले सुन्दाको पिडा सायद सबै भन्दा ठुलो पिडा हो । प्रचण्डलाई झापाबाट ओलीले एक्लै छोड्न हुदैनथ्यो, मानवताको हिसाबले हेर्नेहो भने चुनावी कार्यक्रम भन्दा प्रचण्डलाई दिने सहानुभूतिको महत्त्व ठुलो थियो हिजोको त्यो दिन । उल्टो नियति भोगिरहेका प्रचण्डको लागि हिजोको दिन सायदै सबै भन्दा पीडादायक दिन साबित भयो । उनको अनुहारमा सबै भन्दा बढी पिडा देखिन्थ्यो तर, बाहिर नदेखाउने प्रयास गरिरहेका थिए ।

यो क्षेणमा उनिसंगै कुम जोडेर नारिएका केपी ओलीको उपस्थिति र सहानुभूति समयले खोजिरहेको थियो । विमानसम्म छोड्न आएका ओली हिजोका कार्यक्रम स्थगित गरेर प्रचण्डलाई छोरा अस्ताउंदाको दिन मात्रै भए पनि साथ दिन सक्थे, तर उनलाई प्रचण्ड भन्दापनि चुनावी सभा प्यारो भयो । यो नहुनु पर्थ्यो कमसेकम एउटै परिवारको ब्याबहार देखाउन नसकेपनि सहयात्रीको भूमिका मात्रै निर्वाह गर्नु पर्थ्यो ओलीले । चुनावी सभामा दुखका दुई शब्द त जसले पनि पोख्छ ओलीले त्यो दुई शब्द बाहेक अरू केही गरेनन ।

प्रचण्डका प्रतिद्वन्दी विक्रम पाण्डे जसले चुनावका सबै कार्यक्रम त्यो दिनको लागि स्थगित गरेर मानवताको एउटा रूप प्रस्तुत गरे जो उनको प्रस्तिपर्धि थियो उसैले आफ्नै प्रतिस्पर्धीलाई यति सम्मान गर्न सक्छ तर सहयात्रीले त्यो सम्मान स साथ निभाउन सकेनन् ।

कुरा राजनीतिको हैन संस्कार र साथको हो,सहानुभूति र व्यवहारको हो, दुख र सुखको हो । समयले सबैलाई परीक्षा लिन्छ तर, हिजोको त्यो परीक्षामा मैले केपी ओली फेल भएको महसुस गरेँ । हुन त यसलाई राजनीतिक हिसाबकिताबको तराजुमा राखेर जोखिएला, तराजुको अर्को तिर अव्यवहारिक तत्त्व राखेर जोख्ने प्रयास गरिएला तर ओलीले त्यो एक दिन चुनावी सभामा होइन प्रचण्डसंग बिताउनुपर्थ्यो ।