आफ्नै हर्कतले आलोचित बन्दै ओली, नागरिकको जीवनमा गम्भीर खेलवाड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आफ्नै हर्कतले आलोचित बन्दै ओली, नागरिकको जीवनमा गम्भीर खेलवाड



काठमाडौं । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना भइरहेको छ । भक्तपुर बालकोट बस्दै आएका ओली बालकोटमै बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।

गत ८ माघमा उनको कोराना संक्रमित भएको रिपोर्ट आएको थियो । तर, अध्यक्ष ओली संक्रमणमुक्त नहुँदै पार्टी भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भए । सो कार्यक्रममा सयौंको सहभागिता रहेको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक रूपमा ओलीको आलोचना भइरहेको भए पनि उनको सचिवालयले कोरोना भाइरस आइसोलेसनको मापदण्ड उल्लंघन नगरेको दाबी गरेको छ ।

पूर्वप्रधानमन्त्री ओलीका सञ्चार संयोजक रामशरण बजगार्इंले भने, ‘कार्यक्रममा सहभागी भएको ६ दिन पुगिसकेको थियो । अघिल्लो शनिबार उहाँको रिपोर्ट पोजेटिभ देखिएको थियो । बिहीबारसम्म आइसोलेसनमा बस्ने उहाँको समय ६ दिन पुगिसकेको थियो । अहिलेको प्रोटोकलअनुसार त्यसो गर्न पाइन्छ भन्ने कुरा भएको थियो ।’

सचिवालयले ओलीले आइसोलेसनको अवधिपछि मात्रै घरबाहिर कार्यक्रममा निस्किएको दाबी गरिरहेको भए पनि सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष ओली कोरोना भाइरसको विषयमा यसअघि पनि पटकपटक विवादमा पर्दै आएका छन् । प्रधानमन्त्री भएको बेला राष्ट्रिय सभा बैठकमा ‘कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भएको थियो ।

उनले बेसारपानी खाएर पनि कोरोना ठीक पार्न सकिने भन्दै संसद्मा पटकपटक दोहो-याएका थिए । प्रधानमन्त्री भएकैबेला ‘अम्बाको पातले कुल्ला गरेर’ कोरोनाबाट जोगिन सकिने बताएपछि उनको थप आलोचना भएको थियो ।

ओली सहभागी कार्यक्रममा एमाले नेताहरू गोकुल बाँस्कोटा, महेश बस्नेत, किरण पौडेललगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ओलीको नाम नलिई आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा शर्माले लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो † यही ज्ञान र विज्ञान आत्मसात् गरेर, संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु । जय नेपाल ।’

यस्तो छ कानुन
२०७४ साल भदौमा संसद्बाट पारित भएर त्यसको एक वर्षपछि कार्यान्वयनमा आएको अपराधसंहिताको दफा १०६ मा सरकारी निकायले सरुवा रोगको सम्बन्धमा जारी गरेको आदेश वा नियम उल्लंघन गरेमा ६ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

यस्तो आदेश उल्लंघन गरेका कारण कसैको ज्यान गएमा ऐनको दफा १०४ बमोजिम सजाय हुने उल्लेख छ । सो दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम १० वर्षसम्म कैद तथा १ लाख रुपैयाँ जरिमाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कैद तथा ३० हजार जरिमाना गर्न सकिने उल्लेख छ ।