ओलीको अडानले भारतमा हलचल: बीबीसीले समेत बनायो रिपोर्ट - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

ओलीको अडानले भारतमा हलचल: बीबीसीले समेत बनायो रिपोर्ट



काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर अन्तराष्ट्रिय संचार माध्यमहरूमा चर्चा भएको छ । भारतका गलत व्यवहारबारे ओलीले पटकपटक आवाज उठाएका छन् । राष्ट्रवादी छबी बनाएका ओलीले ‘नेपालको संविधान जारी गर्दा भारतले धम्काएको’ बताएपछि यो बहसको विषय बनेको छ ।

भारतले धम्काएको उल्लेख गर्दै एमालेको स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनले नेपालमा मात्रै होइन अन्तराष्ट्रिय मिडियामा समेत बहस चलाएको छ । राजनीतिक प्रतिवेदनमा संविधान जारी गर्दा भारतीय प्रतिनिधि आएर नेपाली नेपालहरुलाई धम्की दिएको उल्लेख गरेका छन्।

‘एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर आएका थिए। उनले हामीहरु (दलका प्रमुख नेताहरु)सँग भेट गरेका थिए। उनले भनेका थिए- यदि संविधानका विषयमा भारतले दिएका सुझाव र चासोका विषयलाई अवमूल्यन गरिएमा त्यसको परिणाम राम्रो हुँदैन।’ प्रतिवेदनमा भनिएको छ ।

बीबीसी हिन्दीले ओलीले पेश गरेको प्रतिवेदनबारे स्पेसल रिपोर्ट तयार पारेको छ । जसमा उक्त दस्तावेजमा राखिएको वाक्यांश विवादित भनिएको छ । भारतीय अन्य सञ्‍चारमाध्यमहरुले ओलीको उक्त टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

‘ओलीले भारतविरोधी टिप्पणी किन गरे?’, ‘के भारतको विरोध गर्नु ओलीको राष्ट्रवाद हो’ भारतीय संचारमाध्यमहरूमा अहिले प्रश्‍न गरेका छन्। बीबीसी हिन्दीको रिपोर्टमा भारतले हालसम्म नेपाललाई संविधानका विषयमा कुनै धम्की दिएको पुष्टि नभएको बताएको छ ।

बीबीसीको रिपोर्टमा लेखिएको छ “नेपालका पूर्व प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीका विशेष दूतले धम्की दिएको आरोप लगाएका छन् ।’ यसअघि पनि पटकपटक भारतले नेपाललाई हेपेको अभिव्यक्ति दिएका ओलीको यो प्रतिवेदनले भारतमा हलचल नै मच्चाएको देखिन्छ ।

भारतले पछिल्लो समय कालापानी र लिपुलेखको विषयमा समेत आनाकानी गरेको छ। ओलीकै नेतृत्वमा कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा नेपालले जारी गरेपछि रुष्ट बनेको थियो । लिम्पियाधुरा समेटिएको नक्सा र नेपाली भुमिबारे भारतले स्वच्छ बहस गर्न चाहेको छैन ।

त्यसपछि दार्चुलामा नेपाली युवकलाई भारतीय सुरक्षाकर्मीले तुईनबाट खसालेर बेपत्ता पारेका थिए । त्यसपछि नेपालले पठाएको पत्रको समेत भारतले जवाफ दिएको छैन । नेपाल र भारतबीच धेरै असहमति रहेपनि भारतले भने वार्ता र संवाद गर्न चाहेको छैन।

विसं २०७२ सालमा नेपालले संविधान जारी गर्ने क्रममा नेपालको तराई केन्द्रित मधेसवादी दलहरुका मागलाई सम्बोधन नगरिएको भन्दै मधेसवादी दलहरु हालसम्म पनि संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहेका छन्।

भारतले नेपालको संविधानका विषयमा कुनै आधिकारिक विरोध नगरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। तर, नेपाली नेतृत्वसँगको द्विपक्षीय वार्तामा भने भारतले यसबारे चिन्ता व्यक्त गरेको बताइएको छ।

नेपालमा संविधान दिवस मनाइरहेको समयमा आएको ओलीको राजनीतिक प्रतिवेदनमा राखिएको उक्त वाक्यांशको पुष्टि नभए पनि पटक-पटक आरोप लगाएको प्रति आपत्ति जनाइएको छ।

सन् २०१५ को सेप्टेम्बर २० मा विशेष दूत बनेर आएका एस जयशंकरले तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए। उक्त भेटमा जयशंकरले के भनेका थिए भन्‍ने कुरा हालसम्म सार्वजनिक भएको छैन। तर, उनले धम्क्याएकोबारे चर्चा भने खुबी चलेको थियो ।