प्रधानमन्त्री ओलीसँग मात्र दुई विकल्प - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रधानमन्त्री ओलीसँग मात्र दुई विकल्प



काठमाडौं- सर्वोच्च अदालतको आजको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतमा पुर्याएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब ओलीको बहुमत स्वतः गुमेको छ ।

संसदमा नेकपा एमालेको १२० सिट छ । यसअघि १७४ सांसदको समर्थनसहित नेकपा बहुमतमा थियो । सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि ओली र प्रचण्ड नेतृत्वको नेकपा स्वतः खारेज भएको छ । अब माओवादी केन्द्रको ५३ सिट छ ।

ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभाका २७५ सांसद संख्यामा १३८ मत लिनुपर्नेछ । १२१ एमालेको सांसदमध्ये माधव नेपाल पक्षधर पनि छन् । यसकारण ओली अल्पमतमा परेका छन् ।

ओलीले विश्वासको मत लिन एमालेलाई एकजुट बनाएर माओवादी केन्द्रको समेत साथ लिन सक्नुपर्छ । अन्यथा एकतावद्ध भएको एमालेले काँग्रेस या जनता समाजवादी पार्टीसँग मिलेर जानुपर्छ ।

ओलीले विश्वासको मत लिन नसके या अगाडि नै राजीनामा दिएमा नयाँ प्रधानमन्त्रीको खोजी हुन सक्छ । त्यतिबेला उनी पनि प्रधानमन्त्रीको दौडमा हुनेछन् । यसबाहेक काँग्रेस सभापति शेरबहादुर देउवा या काँग्रेसका अर्को कुनै नेता, जसपाका नेता पनि दौडमा हुनेछन् । माओवादी केन्द्रका प्रचण्ड पनि दौडमा हुनेछन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको दौडमा देखिनेछन् ।

अब राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेको भविष्य अब के हुने हो यसले धेरै घटनाको निर्धारण गर्नेछ ।