प्रधानमन्त्री ओलीले गरे प्रचण्ड-नेपालको खतरा भविष्यवाणी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री ओलीले गरे प्रचण्ड-नेपालको खतरा भविष्यवाणी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह छडेका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हुतिहारा भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपालमाथि कडा व्यंग्य गर्दै उनीहरूको बरफ पग्लिने बताए । नागरिक समाजको कार्यक्रममा नेकपाका केहि नेताहरू पनि पुगेको संकेत गर्दै ओलीले उनीहरू सबै यस्तै हुने दाबी गरे ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको तीन महिनापछि प्रचण्ड र माधव नेपालहरुको अवस्था नागरिक अगुवा हुँ भन्दै सडकमा आउने टिप्पणी गरे ।

सोमबार आयोजित नागरिक मार्चमा नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त सहभागी भएका थिए । सोही घटनालाई इङ्गित गर्दै ओलीले प्रचण्ड–माधवमाथि घोचपेच गरेका हुन् ।

‘नेताहरुमध्ये एक जना अस्ति नागरिक समाजका नाममा सडकमा ओर्लिए । अरुको पनि नौबत त्यही हो, हविगत त्यही हो । हेर्दै जानुस् तीन महिनापछि यिनीहरु सबै नागरिक समाज हुनेछन् र सडकमा हामी नागरिक समाजका अगुवा यहाँ छौं भन्दै कराउने छन् । र यिनीहरुको पार्टी वरफ पग्लिएजस्तो पग्लिन्छ’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले प्रचण्ड–माधव समूहलाई केटाकेटीले खाने आइसक्रिमसँग तुलना गर्दै बरफ चुहिन थालेको बताए ।

उनले भने,‘केटाकेटीले आइसक्रिम खाँदै गर्छन्, चुहिंदै गर्छ । त्यस्तै यिनीहरु पनि कराउँदै गर्छन्, चुहिंदै गर्छन् । वैशाख २७ गतेसम्ममा यिनीहरुको वरफ सबै चुहिन्छ ।’

ओलीले प्रचण्ड–माधव समूहले चुनावमा १० सिट पनि जित्न नसक्ने दावी गर्दै भने, ‘दुई अंक पुग्ने सिट ल्याएर देखाउन सक्छौ ? मैले सोध्या हो । १० पुर्याउन एकका पछाडि शून्ना चाहिन्छ । नौभन्दा एक अंक माथि ल्याउनुपर्छ । १० सिट यिनीहरुले जित्ने सम्भावना कायम छ ? कतै छैन ।’