बतासका प्रमुख आनन्द भन्छन् - म केपी ओलीको ज्वाईं हुँ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बतासका प्रमुख आनन्द भन्छन् – म केपी ओलीको ज्वाईं हुँ



काठमाडौँ – देशभरिका ऐतिहासिक राष्ट्रिय सम्पत्ति हडप्न खोजेको आरोप लागेका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्वाईं भन्ने गरेको खुलासा गरेका छन् ।

एक निजी टेलिभिजनले गरेको स्टिङ अपरेशनका क्रममा उनले आफ्नो ससुराली झापाको भद्रपुर भएकाले केपी ओलीले आफूलाई ज्वाईं भन्ने गरेको बताएका हुन् ।

‘मेरो ससुराली भद्रपुर, ओलीजीले मलाई ज्वाईं भन्नुहुन्छ,’ बतासले भने ।

उनले सेटिङबिना कुनै टेन्डर नपर्नेसमेत बताए । ‘तपाईंहरूलाई थाहै त छ नि, सेटिङबिना विश्व बैंकले पनि काम गर्दैन । समझदारलाई इशारा काफी छ । कुन चाहिँ टेन्डर सेटिङमा छैन र ?’

उनले आफू वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पनि निकट रहेको र प्रधानमन्त्रीपत्नी आरजु राणाको सहयोग लिने बताए ।  

मन्त्री आलेको जागिर खाइदिने बतास समूहको धम्की

मन्त्री प्रेम आलेले भएभरको बल लगाएपछि बतास समूह यतिबेला रुष्ट बनेको छ ।

आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी थरका एक व्यक्तिले मन्त्री आलेको पद खाइदिने धम्की दिएका छन् ।

आफ्ना बारेमा देशभरिबाट नै समाचारहरू आउन थालेपछि हच्किएको बतास समूहले केही सञ्चारमाध्यमका प्रतिनिधि बोलाएर यस्तो धम्की दिएको हो ।

‘तपाईंहरूले हाम्रो पक्षमा समाचार लेखिदिनुपर्यो,’ ती व्यक्तिले भने, ‘हामीले सक्नेसम्म ज्याक लगाएका छौं । मन्त्री आलेले आफ्नै अध्यक्ष माधवकुमार नेपालले भनेको पनि मानेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको पनि मानेनन् । अब उनको जागिर जान्छ ।’

उनले आफ्नो पक्षमा लेखिदिन पत्रकारहरूलाई प्रलोभनसमेत दिएका छन् । नारायणहिटी, पशुपति, सेती नदीमा कब्जा जमाएको बतास समूहले अफ्नाबारे चौतर्फी आक्रमण हुन थालेपछि अनेक उपाए लगाउन थालेको छ ।

कतिपयले मन्त्री आलेले प्रधानमन्त्री पत्नी आरजु राणासँग टसल परेपछि यस्तो निर्णय लिएको हुनसक्ने अनुमानसमेत गरेका बेला बिहीवार राणाले भने बतास समूहमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी थिइन् ।

तर बतास समूहको वेबसाइटमा भने केही दिनअघिसम्म राणालाई सल्लाहकारको पोर्टफोलियोमा राखिएको थियो । अहिले साइटबाट राणाको नाम हटेको छ ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका माधवकुमार नेपालनिकट स्रोतले भने नारायणहिटी दरबारमा निर्माणाधीन संरचना नरोक्न कुनै दबाब नदिइएको बताएको छ ।

पर्यटनमन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका थिए ।

उनले बिहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य रहेको स्रोतले बताएको छ ।

आलेले उक्त समितिलाई तीन दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएका छन् । आलेको यो निर्देशनले बतास समूह र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अप्ठेरोमा परेका छन् ।

नारायणहिटी दरबारभित्र क्याफेसम्म संचालन हुन सक्ने भन्दै तत्कालीन पर्यटनमन्त्री भट्टराईले संसदीय समितिमा अभिव्यक्ति दिएका थिए । भट्टराईले अस्वीकार गरेपनि नारायणहिटीभित्र क्याफे लगायतका अन्य व्यवसाय संचालन हुनुमा भट्टराईको समेत हात रहेको खुलासा भइसकेको छ ।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट चल्न थालेको समाचार ब्रेक भएपछि देशैभरबाट बतासको कब्जामा रहेका सरकारी सम्पत्तिका बारेमा भटाभट समाचारहरू आउन थालेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा पोखराको सेती नदी ४० वर्षसम्म बतासलाई उत्खनन गर्न लीजमा दिइएको खुलेको छ भने पशुपतिनाथ परिसर भित्र रहेको धर्मशालालाई होटेल बनाएर चलाइएको पनि खुलासा भएको छ ।

पोखराको संग्राहलय, पाटन दरबार स्क्वायरलगायत धेरै सरकारी र ऐतिहासिक महत्वका स्थानहरूमा बतासले आफ्नो कब्जा जमाएको बताइएको छ ।

जुन राजनीतिक दल सत्तामा हुन्छ त्यसैसँग निकट रहेर देशभरिका ऐतिहासिक स्थानहरू कब्जामा लिएर व्यवसाय गर्ने गरेको बतास समूह यतिबेला आफ्नो कर्तुत छोप्न प्रधानमन्त्रीलगायत अन्य नेताहरूको दैलो धाउन थालेको छ ।