केपी ओली भन्छन्- युवाहरू नेतृत्वमा आउने समय भएको छैन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

केपी ओली भन्छन्- युवाहरू नेतृत्वमा आउने समय भएको छैन



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू नेतृत्वमा आउने बेला नभएको बताएका छन् ।

उनले युवाहरूमा अहिले नै पदलोलुपताको भावना आउन नहुने भन्दै नेतृत्वमा आउने बेला नभएको तर्क गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकमा सम्बोधन गर्दै एमालेले चुनाव लड्ने नभएर जित्ने तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

उनले एमालेलाई एक्ल्याउने प्रयास गरेको भएपनि सफल नहुने दाबी गरे। उनले भने, ‘हामीले चुनाव लड्ने होइन, जित्ने तयारी गर्नुछ। एमाले विशेष अवस्थामा छ। चारैतिरबाट घेरिएको अवस्थामा छ। तर, आफूलाई विशेष शक्तिका रुपमा एमालेले प्रस्तुत गर्नुपर्छ। चौतर्फी घेराबन्दी भएपनि एमालेलाई एक्ल्याएर कमजोर पार्न सक्दैनन्। एमालेले सबैलाई पराजित गरेर विजय हासिल गर्न सक्छ।’

उनले निर्वाचनमा एमालेको तयारी भनेको विजय भएको दाबी गरे। भ्रष्टाचार र महँगीविरुद्ध पार्टीको युवाहरुले महत्वपूर्ण भूमिका खेलेको बताए। युवाहरूकै कारणले पार्टी नै कब्जा गर्ने कठिन परिस्थितिमा पनि आफूहरु सफल भएको उनकाे दाबी छ।

अध्यक्ष ओलीले युवाहरूमा अहिले नै पदलोलुपताको भावना आउन नहुनेतर्फ सचेत गराएका छन्। पद प्राप्तिको लागि भन्दा काममा प्रतिस्पर्धा गर्न आग्रह गरे। जति धेरै गठबन्धन गरेपनि सबैभन्दा ठूलो र लोकप्रिय पार्टी एमाले नै भएको उनकाे भनाइ छ।

उनले स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै मत पाउने एमाले नै भएको बताए। केही व्यक्तिका स्वार्थका कारणले केही समय सरकारबाहिर गएको भएपनि केही नहुने उनको भनाइ छ।

उनले २० बर्षमा अरुले गर्न नसकेको काम आफूहरुले गरेको दाबी गरे। अहिलेसम्म २१ बर्ष सरकारको नेतृत्व गरेको कांग्रेसले केही गर्न नसकेको उनकाे आराेप छ।