राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच रहस्यमय भेट - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच रहस्यमय भेट



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलबाट काठमाडौं फर्केलगत्तै सोझै शितलनिवास हानिए । लामो समयको अन्तरालमा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न त्यहाँ पुगेका थिए ।

बुट्वलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेर फर्किएका ओली निजि निवास बालकोट जान छोडेर सिधै शितलनिवास जानुलाई अर्थपूर्न मानिएको छ । बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी सिधै राष्ट्रपति कार्यालय गएपछि विभिन्न अड्कल काट्न थालिएको छ ।

एमालेको आन्तरिक विषयमा समेत बेलाबेला चासो राख्ने राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेट हुनुलाई कतिपयले सामन्य भनेका छन् भने कतिपयले पछिल्लो राजनितिक घटनाक्रमका बीच भएको यो भेटलाई शंकाको दृस्टीले हेरेका छन् ।

एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरेको बताइएको छ । शीतलनिवास र ओली पक्षले यसबारे आधिकारिक केही खुलाएका छैनन् । राष्ट्रपतिबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेका छैनन् ।

एकातिर सत्ता गठबन्धनमा खटपट भैरहेको छ भने अर्कातिर एमसीसीबारे राजनितिक दलहरू विभाजित बनेका छन् । त्यसमाथि ओली र देउवाबीच छलफल भैरहेको र गठबन्धन फुट्नसक्ने बताइएको छ । यस्तो अवस्थामा राष्ट्रपति भण्डारी र ओलीबीच लामो छलफल भएको छ ।

संसद्मा अहिले एमाले आन्दोलित छ । सभामुखले सर्त नमानेको खण्डमा महाअभियोग लगाउने सम्मको तयारी एमालेले गरेको छ । संसद खुलाउनेबारे औपचारिक रूपमा विपक्षी एमालेसंग कुनै संवाद भएको छैन । यो अवस्थामा भएको भेटले राजनिती नै तरङ्गित बनेको छ ।

सत्तारुढ दलका केहि नेताहरूले राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच नेकपा एमालेको आन्तरिक विषयमा छलफल भएको बताएपनि सन्तुष्ट हुने ठाउँ छैन ।