ओलीकै बिँडो थाम्दै देउवा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ओलीकै बिँडो थाम्दै देउवा



काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै बिँडो थाम्न थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नडाक्ने प्रण गरेका देउवाले अहिले ओलीकै शैलीमा सरकारी निवासमा पार्टीको बैठक बोलाउन थालेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गरेका थिए ।

महामन्त्रीद्वयको उक्त निर्णय लगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।

केही अघि सम्म कांग्रेसका सभापति समेत रहेका देउवा केन्द्रीय कार्यालयमा हुने बैठकमा सहभागी हुँदै थिए ।

असारसम्म देउवाले पार्टीको बैठक सानेपामै बस्ने गरी डाक्ने गरेका थिए । अहिले भने देउवाले पुरानै बाटोमा फर्किए । पार्टीको बैठक सरकारी निवास बालुवाटारमै डाक्न थालेका छन् ।

सोमबार कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । जो उनी आफैले गरेको प्रणभन्दा बाहिर हो ।

यसअघि प्रधानमन्त्री रहेका केपी ओलीले एमाले र तत्कालीन नेकपाको प्रायः सबै बैठक बालुवाटारमै राखे र निकै आलोचित समेत बने ।

जसकारण राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको थियो । बालुवाटारबाटै सरकार र पार्टी चलाएको भन्दै ओली निकै आलोचित भएका थिए ।

ओली यसरी आलोचित बनेको देखेपछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टीको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेका थिए ।

तर, पार्टी सभापति देउवाले सोमबार पहिलेको निर्णय लत्याएका छन् । स्रोतका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमित भई निवासमै आइसोलेसनमा बसेपछि देउवाले बालुवाटारमा पदाधिकारी बैठक राखेका हुन् ।