प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई बालुवाटारभित्रै चर्को दवाव - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई बालुवाटारभित्रै चर्को दवाव



काठमाडौं- अथक प्रयास गर्दापनि प्रधानमन्त्री पद नजोगिने र कम्युनिस्ट पार्टीभन्दा बाहिर जाने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिएर बाटो खाली गर्न बालुवाटारभित्रै दवाव सृजना भएको छ ।

केपी ओली निकट भनिएका केहि मन्त्री, नेता र मुख्यमन्त्रीहरूले राजिनामा नै सबैभन्दा ठुलो विकल्प भएको सुझाव दिएका छन् । तर कतिपय पूर्व माओवादी नेताहरू र ओली निकटका एमाले ब्युँताउने लाइनका नेताहरूले भने राजिनामा दिने नहुने अडान लिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै कारण राष्ट्रपति, संघ र प्रदेशका मन्त्रीहरु, कैयौँ मेयर र संबैधानिक अङ्गका पदाधिकारीहरुको पद धरापमा पर्ने भन्दै केहि नेताहरूले राजिनामा दिन दवाव दिएका छन् । त्यतिमात्र होइन बालुवाटार निकटका नेताहरू प्रधानमन्त्री ओलीलाई राजिनामा गराउने पक्षमा बहुमत पुगेको स्रोतको दाबी छ ।

अथक प्रयासले पनि आफ्नो पक्षमा सांसदहरू आउन नमानेपछि बालुवाटारको माहोल परिवर्तन भएको बताइएको छ । संसदभित्रको अंकगणित आफ्नो पक्षमा नहुने देखेपछि बालुवाटार निकट नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामाको सुझाव दिएको बताइएको छ ।

एकातिर भएको सरकार काङ्ग्रेसलाई बुझाएको दोष पनि ओलीलाई आउने अर्कातिर राजनीति पनि सकिने भयका कारण नेताहरू राजिनामा गराउन एकजुट भएका छन् । आइतबारको संसद बैठकमा अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै ओलीलाई राजीनामा गराउन उनीहरुले लगातार दवाव दिईरहेका छन् ।

प्रचण्ड-माधव समूहको संसदीय दल बैठकमा ओली पक्षले अनुमान गरेभन्दा धेरै सांसदको उपस्थिति देखेपछि प्रधानमन्त्रीको खास भनेर चिनिएका नेताहरु राजीनामा गराउने प्रयासमा जुटेको स्रोतको भनाइ छ । यद्यपि प्रधानमन्त्री ओलीको स्वभाव र कार्यशैलीका कारण उनीहरुको प्रयासले सार्थकता पाउने सम्भावना भने कमजोर छ ।