स्वास्थ्यमन्त्रीसँग प्रधानमन्त्री ओली 'फायर' - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

स्वास्थ्यमन्त्रीसँग प्रधानमन्त्री ओली ‘फायर’



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यवसायी हरूलाई ‘बिचौलिया भूतप्रेत’ भनेपछि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीसँग सम्बन्ध बिग्रिएको छ । कोरोना खोपको कमिशन काण्डमा प्रधानमन्त्री निकटका व्यवसायी मुछिएपछि त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेको कारण’ खोप आउन नसकेको बताएका थिए ।

‘बिचौलिया भूतप्रेत’ भनिएका व्यवसायीहरू प्रधानमन्त्री ओलीसँग नजिक भएको र त्रिपाठीले पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत मुछेका कारण ओली अहिले ‘फायर’ बनेका छन् । यतिसम्म की उनले निकटका केहि नेताहरूसँग त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाएर गल्ति गरेको समेत बताएका छन् ।

जसमा प्रधानमन्त्री ओलीलाई समेत घुमाउरो तरिकाले अनियमिततामा मुछेका त्रिपाठीले खोपमा भएको घोटालाबारे बाहिर ल्याएका थिए । त्रिपाठीले प्रधानमन्त्री ओलीलाई कमिशनको खेलबारे जानकारी गराउँदा पनि वास्ता नगरेको र उल्टै विचौलियालाई संरक्षण गरेको समाचार बाहिर आएका छन् ।

प्रधानमन्त्री ओलीले संरक्षण गरेका विचौलिया भनिएका व्यापारीहरु मध्ये जसमध्ये ऋतु सिंह वैद्य भिजिट नेपाल २०२० को आयोजक कमिटीको अध्यक्ष समेत बनाएका थिए । सेरमको नेपाल एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो र यो कम्पनि विजय दुगड, ऋतु सिंह वैद्य, अभिषेक दुगड र सुरज वैद्यको नाममा छ ।

चारैजना व्यापारी बालुवाटारसँग नजिक मानिन्छन् । उनीहरुलाई बदनाम बनाएर प्रधानमन्त्री ओलीसँग जोडेको भन्दै प्रधानमन्त्री ओली त्रिपाठीसँग फायर बनेको स्रोतको दाबी छ ।

यसअघि कोरोना भाइरसको महामारीविरुद्धको भ्याक्सिन कमिशनको खेलले ढिलाई भएको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले खुलाएका थिए । सेरम कम्पनीको नेपाल एजेन्ट कमिशनका लागि सक्रिय हुँदा १० लाख डोज खोपको आपूर्ति रोकेको र ५० लाख डोज खोप खरिदका लागि मूल्य प्रस्ताव गरिसक्दा अवरुद्ध भएको त्रिपाठीले खुलाएका थिए ।

सरकारसँग सिधा सम्झौता गरेर खोप खरिद गर्दा एजेन्ट कम्पनीले १० प्रतिशत कमिशन राख्न भन्दा त्रिपाठीले हटाएका थिए । १० लाख डोज खरिद गरेर नेपाल ल्याएको र बाँकी १० लाख डोज ल्याउन खोज्दा कमिशन एजेन्टले रोकेका थिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुँदा मन्त्रालय र निजी कम्पनी हुकाम डिस्टिब्यूटर्स एन्ड लजिस्टिक प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, सरकारले सोझै खोप खरिद गर्ने सम्झौता गरेर कमिशनको ढोका बन्द गर्न खोज्यो । कमिशन हटाएर सम्झौता गरी बढेको भन्दै सेरमको स्थानीय एजेन्टहरु सक्रिय भएर रोकाएको विषय खुलेको थियो ।

खोप रोक्न काठमाडौं देखि दिल्ली र पुणेसम्म सक्रिय भए । उनीहरुकै सक्रियताले खोपको दोस्रो लट रोकियो । १० लाख खोप आउन ढिलाई भयो र भारतमा पनि खोपको अभाव भएपछि आपूर्ति हुन सकेन ।

५ फागुन २०७७ मा सेरमसँग खरिद गरिएको १० लाख डोज खोप आइपुग्यो । तर, त्यसपछि अर्को १० लाख डोज भने रोकिएको थियो । कमिशनको खेलले रोकिएको खुलेपछि प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री त्रिपाठीबीच विवाद देखिएको हो ।