केपी ओली भन्छन्: सबै नेपालीलाई घर किन चाहियो ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

केपी ओली भन्छन्: सबै नेपालीलाई घर किन चाहियो ?



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका मानिसहरु घर घडेरी र जमिनको पछि लागेको भन्दै डेरामा बस्न लाज लाग्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अन्य देशहरूमा यस्ता बिषयमा जनताले चिन्ता नगर्ने गरेको प्रसङ्ग निकाल्दै उनले सबैको राजधानीमा घर हुनुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताए ।

नेपालमा मानिसहरु घर घडेरी र जमिनको पछि लागेको बताए। नेपालीहरुलाई काठमाडौंमा घर छैनभन्दा लाज लाग्ने अवस्था आएको उनको भनाइ थियो।

‘अमेरिकामा घडेरीको चिन्ता कसेलाई छैन। हङकङमा पनि चिन्ता छैन। उनीहरुले यी कुराको विचारै गर्दैन। किन चाहियो घडेरी भन्छ। त्यहाँ त धनाढ्य मान्छेको मात्र घर हुन्छ,’ उनले थपे, ‘तर नेपालमा घर छैनभन्दा लाज हुन्छ। डेरामा बसिया छ भन्न लाज हुन्छ।’

उनले सबैको राजधानीमा घर हुनुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने औंल्याए। ‘अमेरिकामा राजधानीमै घर हुन्छ सबैको? बेइजिङमा घर हुन्छ सबैको ? दिल्लीमा घर हुन्छ सबैको ? कहीँ पनि हुँदैन त्यस्तो । तर यहाँ राजधानीमा घर छैन भन्नलाई अफ्ठ्यारो हुन्छ,’ उनले भने।

उनले नेपालीहरुको जमिनलाई निजी सम्पत्तिको रुपमा मान्दा कृषि क्षेत्रमा उत्पादन बढ्न नसकेको र त्यो टुक्रा टुक्रामा परिणत भएको स्पष्ट पारे।

अर्को प्रसंगमा प्रधानमन्त्री शेरबहादुर देउवाले मिठो बोलीमार्फत् किसानलाई मल उपलब्ध गराउने बताए पनि त्यो पूरा नगरेको आरोप लगाएका छन्। उनले सरकारले अलम्याउने काममात्र गरेको बताए।

‘प्रधानमन्त्रीले अस्ती संसदमा मलको आपूर्ति तत्काल गरिनेछ। किसानले मल पाउँछ भनेर मिठो वाणी बोल्नुभयो। तर मलको प्रबन्धन गरिएन। अलमल्याउने काममात्र भयो,’ उनले भने।

सरकारको छक्याउने नीतिले कृषि क्षेत्रको विकास हुन नसकेको उनले बताए। कृषि क्षेत्रमा उत्पादन बढाउनुपर्ने र त्यसका लागि ठूलो लगानी चाहिने उनको भनाइ थियो।

‘ठूलो लगानी नगरिकन कृषि क्षेत्रमा व्यवसायीकरण गर्न सकिँदैन। हामी त्यतातिर पनि जानुपर्छ,’ उनले भने। त्यसैले कृषिमा आधुनिकीकरण जरुरी रहेको र त्यसका लागि पकेट क्षेत्र घोषणा हुनुपर्ने उनले बताए।