चुनावी परिणामले ओलीमाथि घेराबन्दी, बैठक टार्ने पक्षमा ओली समूह - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

चुनावी परिणामले ओलीमाथि घेराबन्दी, बैठक टार्ने पक्षमा ओली समूह



काठमाडौँ- स्थानीय तहको चुनावी परिणाम अनपेक्षित आएपछि नेकपा एमालेको शिर्ष तहमा उथलपुथलको सम्भावना देखिएको छ । चुनावी परिणामको झट्काले शिर्ष नेताहरू सार्वजनिक कार्यक्रम र ‘मिडिया फेस’ गर्न चाहिरहेका छैनन् । चुनाव अगाडी देशव्यापी जनसभा गरेका अध्यक्ष केपी शर्मा ओली अहिले बालकोटमै सिमित भएका छन् ।

निर्वाचन सकिएर मतपरिणाम आउन सुरू भएलगत्तै एमालेका अध्यक्ष ओलीनिकटका शिर्ष नेताहरूले ब्यापक धाँधली भएको, सत्ताको चरम दुरुपयोग भएको भन्दै वक्तव्य नै जारी गरिसकेका छन् । ओली पक्षले अन्तर्घात गरेको भन्दै जिल्लाजिल्लाका डाटा निकाल्ने र कारबाही गर्ने तयारी गरेपछि ओली इतरको समूह भने पार्टीमा समिक्षा गर्ने तयारीमा जुटेको छ । मझधारका मानिएका नेताहरूले भने वाम एकताको आवाज उठाउन थालेका छन् ।

एमाले विभाजनपछि माधव नेपाललाई छोडेर एमालेमै रहेका नेताहरू पनि अहिले विभाजित देखिएका छन् । एउटा खेमा ओली र अर्को खेमा मझधारमा पक्षमा लागेका छन् । ओली इतरको समूहले पार्टीका बैठक राखेर चुनावी समिक्षा गर्ने तयारी गरेपछि ओली समूह भने झस्किएको छ । चुनाव अगाडी कडा भाषण गरेका ओली नतिजा सार्वजनिक हुन थालेपछि लगभग चुपचाप छन् । उनको मौनतालाई इतर समूहले भने रुचाएको छैन ।

पार्टीका बैठक राखेर समिक्षा गर्ने र नेतृत्वमाथि प्रश्न गर्ने तयारी भएपछि ओली समूह भने बैठक डाक्ने र समिक्षा गर्ने प्रक्रियामै छिर्न खोजेको छैन । चुनावी समिक्षा र बैठक रोक्नकै लागि परिणाम आउनुअघि नै ओलीसमूहले वक्तब्य निकालेर बाटो बन्द गर्ने प्रयास गरेको आरोप इतर समूहले लगाउन थालेको छ ।

आफूमाथि प्रश्न खडा हुने भएपछि यसअघि पनि अध्यक्ष ओलीले पटकपटक पार्टीका बैठक नबोलाएका थुप्रै उदाहरण छन् । ओली उपस्थित भएर ठूला सभामा भाषण गरेका सबैजसो स्थानमा एमाले राम्रै मतान्तरले पराजित भएको छ भने केही जिल्लामा एमाले पत्तासाफ नै बनेको छ । हिजो सहकार्य गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि चुनावी सभामा तथानाम बोलेका ओलीमाथि पार्टीभित्र राम्रै आलोचना हुने पक्का भएकैले पनि ओलीले बैठक फेस गर्ने सम्भावना कम देखिएको एमालेकै नेताहरूले स्वीकार्ने गरेका छन् ।

चुनावी परिणामपछि ओली समूहका इश्वर पोखरेल, शंकर पोखरेललगायतका नेताहरूले व्यापक धाँधली, सत्ताको दुरुपयोगका कारण पार्टीले हारेको बताइरहेका छन् भने अर्को समूहले भने उम्मेदवार चयन, अन्तर्घात र पार्टीका कमजोरीका कारण चुनाव हरेको बताउन थालेका छन् ।

अर्को समूहले चुनावी परिणाम आउन सुरू भएपछि वाम एकता र कम्युनिष्ट एकताको आवाज उठाउन थालेका छन् ।

पार्टीमा प्रभावशाली मानिएका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, गोकर्ण विष्टलगायतका नेता भने केहि बोलेका छैनन् । यसअघि ओली समूहमा रहेका गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने वाम एकताको पक्षमा खुलेका छन् । त्यस्तै घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि वाम एकताका पक्षमा देखिएका छन् ।

योगेश भट्टराईले त काठमाडौं महानगरमा गलत व्यक्ति उठाएको भन्दै नेतृत्वले नै गल्ति गरेको समेत बताईसकेका छन् । पछिल्लो चुनावी परिणामपछि एमालेमा ओली रक्षात्मक देखिने पक्का बहेको छ । ओली इतरको समूह र वाम एकताको आवाज उठाउने समूहले ओलीमाथि प्रश्न उठाउने तयारी नै गरेका छन् । चुनाव अगाडी नै केही नेताले टिकट वितरणमा एकलौटी गरेको भन्दै आवाज उठाईसकेका छन् ।

पार्टीको बैठक टार्ने वा समिक्षा फेस नगरेको खण्डमा ओली समूहमाथि झन् ठूलो समस्या आइलाग्ने इतर समूहका नेताहरूको बुझाई छ । पार्टीले बेहोरेको हारमा नैतिकताको हिसावले शिर्ष नेताहरूले जिम्मेवारी लिने र आत्मालोचना गरेको खण्डमा परिस्थिति सहज हुने नेताहरूको बुझाइ छ । स्थानीय निर्वाचनको परिणामले एमालेका केहि शिर्ष नेताहरूको कार्यशैली परिवर्तन र संगठनात्मक संरचना सुधार्ने अवसर हुने उनीहरूको बुझाई छ ।