प्रचण्डलाई ओलीको चेतावनी- भुटानी शरणार्थी काण्डमा धेरै हिरो बन्ने होइन - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रचण्डलाई ओलीको चेतावनी- भुटानी शरणार्थी काण्डमा धेरै हिरो बन्ने होइन



एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी ठगी काण्डमा पूर्वाग्रह र हिरोइजम नदेखाउन चेतावनी दिएका छन् ।

यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि लगातार प्रधानमन्त्री प्रचण्डलाई दवाव दिएका ओलीले यस्तो चेतावनी दिएका हुन् । अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी पाँच दिनदेखि फरार छन् ।

ओलीले एमाले निष्पक्ष छानबिनसहित दोषीलाई कारबाही गर्ने पक्षमा दृढतापूर्वक उभिए पनि प्रधानमन्त्रीले मुख्य दोषीमाथि छानबिन नगर्न र उम्काउन प्रहरीलाई निर्देशन दिएको दाबीसमेत गरे ।

‘क–कसलाई फसाउन, उम्काउन निर्देशन छ, अहिले म भनिहाल्दिनँ, त्यसबारे पछि कुरा गर्छु । तर, प्रधानमन्त्री भएर यसप्रकारको खेल चल्दैन प्रचण्डजी,’ ओलीले भने, ‘प्रधानमन्त्रीले यस्ता भ्रष्टाचार काण्डको दृढताका साथ छानबिन गराउनुपर्छ, दुबोको माला लगाएर हिरोइजमको व्यापार गर्ने होइन, स्टन्टबाजी गर्ने होइन, छानबिन गरेर दोषीमाथि कारबाही गर्ने हो । प्रतिपक्षीविरुद्ध होइन, दोषीविरुद्ध उभिने हिम्मत देखाउनुस्, चुनौती दिएर भन्न चाहन्छु ।’

अघिल्ला गृहमन्त्री बालकृष्ण खाणको आदेशमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दोषी उम्काइएको तथ्य उजागर भएको भन्दै ओलीले निष्पक्ष छानबिन गरेर दोषीलाई न्यायिक कठघरामा उभ्याउनुको सट्टा सरकार प्रहरीलाई दबाब दिएर निश्चित मान्छेलाई मात्र बदनाम गर्ने र फसाउने खेलमा लागेको आरोप पनि लगाए । ‘यो प्रकरणमा पहिले गिरफ्तार भएकाहरू किन छाडिए ? अहिले बयान हेरफेर के–के हुँदै छ ? प्रधानमन्त्रीजी र गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईंहरू प्रहरीलाई दबाब नदिनुस्, दबाब दिएर अनेक क्रियाकलाप गर्न नलगाउनुस् । निष्पक्ष छानबिन गर्न दिनुस्, दोषीलाई न्यायको कठघरामा उभ्याउनैपर्छ, निर्दोष फसाउने कोसिस नगर्नुस्, त्यो तपाईंहरूले सक्नु पनि हुन्न, किनभने भोलि प्रमाणले बोल्दैन,’ ओलीले चेतावनीको शैलीमा भने, ‘तर, केही मान्छेलाई बदनाम गर्ने उहाँहरूको चेष्टा छ । कहाँ कसलाई अवकाश दिने, नयाँ नियुक्ति दिने षड्यन्त्र हुँदै छ, दुई कान हाम्रा पनि छन्, सुन्दै छौँ हामी पनि । त्यसखालका षड्यन्त्र नगर्न म सरकारलाई चेतावनी दिन्छु ।’

पार्टीले जोकोही भ्रष्ट नेता–कार्यकर्ता जोगाउन नलाग्ने, तर एमालेलाई नै लक्षित गरेर नियोजित रूपमा फसाएर सक्कली भ्रष्टाचारीहरूलाई जोगाउने काम भए जस्ताको तस्तै प्रतिवाद गर्ने ओलीले बताए । ‘व्यक्तिगत तवरबाट कसैले भ्रष्टाचार ग¥यो भने एमालेको समर्थन नरहने मात्र होइन, त्यस्तो भ्रष्टाचारीलाई एमालेले कहिले पनि संरक्षण गर्दैन, भ्रष्टाचार सह्य छैन,’ ओलीले भने, ‘तर भ्रष्टाचार ढाकछोपका लागि एमालेका विरुद्ध तथाकथित यसलाई पनि तान, उसलाई पनि तान भनेर निर्देशन हुन्छ, कसैलाई खेदी–खेदी हतकडी लगाउने, कसैलाई भगाउने, सोधपुछै नगर्ने, संरक्षण गर्ने कुरा लक्षित गरेरै कसैले दुस्साहस गर्छ भने त्यसको उचित जवाफ एमालेले दिन्छ ।’

प्रधानमन्त्रीकै निरन्तर आग्रह र सम्पर्कका कारण नै आफूले भेटवार्ता गरेको दाबी गर्दै ओलीले विषयलाई गलत ढंगले प्रचार गरिएको बताए । उनले ट्रेलरको सट्टा हलमै सिनेमा देखाउन पनि चुनौती दिए ।

‘उहाँ (प्रधानमन्त्री)ले निरन्तर सम्पर्क गर्नुभो, आग्रह गरेपछि भेटवार्ता भयो, तर उहाँ मानिलिऊँ पुष्पकमल दाहाललाई नेपाली जनताले चिनेकै छैन जस्तो गरेर सेतो वस्त्र लगाएर दूधले नुहाएको पवित्र अवतारका साथ मिडियाका अगाडि प्रकट हुनुभो,’ ओलीले भने, ‘मैले भेटेलगत्तै भ्रष्टलाई छोड्दिनँ, दबाबले हुँदैन भनेर के भन्न खोजेको ? के म दबाब दिन गएको थिएँ ? म दाहालजीलाई सोध्न चाहन्छु, अन्त धुमधाम चलिसक्यो, सधैँ ट्रेलर मात्र किन ? ताला लागेको तपाईंंको सिनेमाहलमा फिल्म कहिलेदेखि चल्छ ?’