प्रधानमन्त्री ओलीले खनाल,रावल र ज्ञवालीको खिल्ली उडाए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री ओलीले खनाल,रावल र ज्ञवालीको खिल्ली उडाए



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै शिर्ष नेताहरू झलनाथ खनाल, प्रदिप ज्ञवाली र भिम रावलको खिल्ली उडाएका छन् ।

ओलीले अमेरिकी परियोजना एमसिसीबारे बुझ्न गठन गरेको कार्यदल र त्यसभित्रका सदस्यलाई ‘फाल्टु’ र ‘अनावश्यक’ भन्दै खिल्ली उडाएका हुन् ।

एमसीसी सम्झौता देशको लागि घातक भएको र नेपालले यो अनुदान लिनु हुँदैन भन्दै गएका नेकपा माले सहितका अन्य साना पार्टीका केहि नेताहरूसँग कुरा गर्दै उनले कार्यदल र त्यसका सदस्य बकबास मात्र भएको बताएका हुन् ।

एमसिसी पारित नगर्नका लागि ध्यानाकर्षण गराउन गएको नेकपा माले क्रान्तीकारी र माओवादी सहितको ९ दलीय टोलीलाई ओलीले उल्टै पाठ पढाएर पठाएका थिए ।

केहि नेताहरूले गुनासो गर्दै देशका लागि एमसीसी हितमा नरहेको सम्झाउन गएको टोलीलाई प्रधानमन्त्रीले गरेको व्यवहार देखेर उदेक लागेको पनि बताए । त्यतिमात्र होइन उनीहरूको कुरा नसुनेरै प्रधानमन्त्रीले एमसीसीबारे उल्टै पढाएर पठाएकोमा उनीहरूको चित्तदुखाई छ ।

प्रधानमन्त्री भेट्न पुगेका एक नेताले भने, ‘हामीले सोंचेजस्तो रहेनछ, प्रधानमन्त्री आफै एमसीसी कुनैपनि हालतमा पास गर्नुपर्छ भन्ने अड्डी कस्नुभएको छ ।’ प्रधानमन्त्री एमसिसी पास गराउन जुनसुकै हदसम्म जानसक्ने अवस्था रहेको उनले बताए ।

आफ्नै पार्टीले बनाएको कार्यदल र त्यसभित्रका नेताहरूलाई उहाँले गरेको व्यबहार देखेर समेत उनीहरू चकित परेको समेत बताए । प्रधानमन्त्रीले अमेरिकी रणनीति र राजनीतिलाई भन्दा पनि पैसालाई महत्व दिएको उनीहरूको दाबी छ ।

केहि दिन अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नबुझेका कुरालाई स्पष्ट पार्नका लागि मात्रै कार्यदल बनाइएको धारणा राखेको क्रान्तीकारी माओवादीका नेता सिपी गजुरेलले बताए।

भेटमा प्रधानमन्त्रीले सन् २०१७ मा सम्झौता गर्ने अनि अढाई बर्ष पछि सन् २०२० मा कार्यदल गठन गर्नुको कुनै औचित्य नरहेको धारणा समेत राखेको समेत एक नेताले बताए।

कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य छन्। कार्यदललाई १० दिनको समय दिइएको थियो। काम नसकेपछि १० थप १० दिन म्याद मागिएको छ ।