ओलीले गर्जदै भने :माओवादी सकियो, अब केन्द्रमात्रै बाँकी छ ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीले गर्जदै भने :माओवादी सकियो, अब केन्द्रमात्रै बाँकी छ !



काठमाडौं,२६ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको बताएका छन् ।

‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र !’ विहीबार धुम्बाराहीस्थित एमाले मुख्यालयमा माओवादीका केही कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले भने-‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छ ।’

 

रुखमा पात अडिनका लागि जीवन आवश्यक पर्ने भन्दै ओलीले माओवादीभित्र जीवन नरहेकाले अब पातहरु झर्दै जाने बताए । माओवादी पार्टीमा ०५५ सालदेखि एउटै नेताको जमिन्दारी चलेको ओलीले बताए ।

माओवादी छाडेर एमालेमा आएका सिराहातिरका केही माओवादी कार्यकर्तालाई ओलीले भने- ‘त्यहाँ आजीवन एउटै नेता हुन्छन्, पीए पनि आफ्नैलाई बनाउँछन्, उम्मेदवार पनि आफ्नैलाई बनाउँछन्, तपाईहरु अहिलेसम्म कसरी बस्नुभयो होला ? एमालेमा त यस्तो जमिन्दारी चल्दैन ।’

एमाले मुख्यालयमा आयोजित कार्यक्रममा सिरहाका माओवादी कार्यकर्ता गणेश अधिकारी र वैद्य समूहका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा केपी ओलीले निकै लामो प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । उनले कांग्रेसले ल्याएको निजीकरणको विरोध गर्नुका साथै तराई मधेसको विकासमा जोड दिनुपर्ने कुरा गरे ।

अनलाईन खबर