ओलीले भने- महेश बस्नेत एमालेको सबैभन्दा डाइनामिक नेता हुन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीले भने- महेश बस्नेत एमालेको सबैभन्दा डाइनामिक नेता हुन्



भक्तपुर- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महेश बस्नेत जस्तो नेता एमालेमै नभएको बताएका छन् । उनले राष्ट्र बचाउने नेता भएको भन्दै बस्नेतको प्रशंसा समेत गरे

एमालेले भक्तपुरको बालकोटमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले पूर्वमन्त्री बस्नेत मुलुका संकट परेको समयमा जस्तोसुकै असहज परिस्थितीलाई समेत सहज रुपमा समाधान गर्नसक्ने एक डायनामिक लिडर भएको बताए ।

भक्तपुरको लागि मात्र नभई मुलुकको नै नेतृत्व युवा नेता बस्नेतले गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकले खोजेको भक्तपुर क्षेत्र नम्बर २ का जनताले रोजेको नेता महेश बस्नेत भएको बताए ।

उनले भने, ‘महेश बस्नेत सानै उमेरमा सफल मन्त्रीको रुपमा स्थापीत नेता हो । भक्तपुरको लागि मात्र नभई मुलुकै लागि आवश्यक युवा नेताको नाम पहिलो नम्बरमा महेश बस्नेतको आउँछ । मुलुकलाई संकट परेको बेलामा बचाउने र मुलुक बनाउने स्पष्ट भिजन भएको नेता महेश बस्नेत हो । माओवादी द्वन्द्वको समयमा भएको ज्यादतीको विरुद्धमा आफ्नो ज्यानलाई बाजी लगाउँदै जनता तथा मुलुक बचाउने अभियान चलाएको आम युवाले मात्र नभई सम्पूर्ण नेपाली जनताले सम्झेका छन् । त्यसैले अब महेश बस्नेत निर्वाचित भएपछि भक्तपुरमात्र बनाउने हैन, मुलुकको विकास र समृद्धिको नेतृत्व गर्र्ने क्षमतावान युवा नेता हो ।’

भक्तपुर २ मा ७५ देखी ८० प्रतिशत जनताले महेश बस्नेतको लागि सूर्य चिन्हमा मतदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले नेता बस्नेतले भक्तपुरमा गरेका विकास र आगामी दिनको योजनाबाट आम नेपाली जनता नै हर्सित भएको दावी गरे ।

उनले भने, ‘आन्दोलनबाट खारिएर आएको महेश बस्नेतको लागि भक्तपुर क्षेत्र नं- २ का जनताले कमसेकम ७५–८० प्रतिशतभोट दिनेछन् । २०–२५ प्रतिशत त बहुदलीय व्यवस्था हो, अरुलाई जानुपर्छ । स्वतन्त्र उम्मेदवारले समेत महेश बस्नेत र एमालेलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिनुभएको छ ।यसबाट के बुझ्न सकिन्छ भने महेश बस्नेतलाई लौरोले हान्छु भन्नेहरु वास्तविकता बुझेपछि लौरोले टेको दिई साहारा बनेका छन् । त्यसैले महेश बस्नेत देशको छोरो हो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षधर हो ।’