प्रधानमन्त्री ओलीमाथि उठ्यो मर्यादा र नैतिकताको प्रश्न - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रधानमन्त्री ओलीमाथि उठ्यो मर्यादा र नैतिकताको प्रश्न



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पदिय मर्यादा र नैतिकता भुलेर जे पनि बोलेको आरोप पटकपटक लाग्ने गरेको छ । सबैजसो सभामा राजनितीक नेता तथा संवैधानिक पदमा बसेका व्यक्तिहरूमाथि तथानाम बोलेर चर्चामा आइरहने प्रधानमन्त्री ओलीले शनिबार पनि त्यसै गरे ।

हुन त अरूलाई गाली गरेकै भाषणमा पररर ताली पिट्ने समर्थक पनि टन्नै छन् । त्यसैमा हौसिएर प्रधानमन्त्री जस्तो व्यक्ति झनै आक्रोशित बन्ने गरेका छन् ।

यस्तैमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बबुराम भट्टराईले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।

भट्टराईले प्रधानमन्त्री ओलीको नैतिक अधिकारमाथि प्रश्न उठाएका छन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतले संसद पुनःस्थापना गरे आन्दोलन गर्ने बताएका थिए ।

प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई लिएर डा. भट्टराईले सामाजिक सञ्जालमार्फत उनीमाथि प्रश्न उठाएका हुन् ।

ट्विटरमा सक्रिय डा. भट्टराईले देशको प्रधानमन्त्रीले नै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनका विकल्प छैन भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् ।

प्रधानमन्त्रीको शनिबारको भाषणलाई उनले लोकतन्त्रमाथिकै भद्दा मजाकको संज्ञा दिएका छन् । उनको अभिव्यक्तिबाट अदालतमाथिको दबाब पुष्टि हुनेसमेत भट्टराईको दाबी छ ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, ‘दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ ।’

प्रदेश १ को राजधानी विराटनगरमा शनिबार प्रधानमन्त्रीको समूहको पार्टीले आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्रीले नै संसद विघटनको मुद्दामा चेतावनी दिएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना गरिएको छ ।