प्रधानमन्त्रीको नयाँ रणनीति: यस्तो छ अबको तयारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्रीको नयाँ रणनीति: यस्तो छ अबको तयारी



काठमाडौं- नेकपामा विवादको गहिराई बढ्दै जाँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने अडान राख्दै आएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह पछिल्लो समय झनै कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।

प्रधानमन्त्री ओलीले पद नछाड्नका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताएपछि प्रचण्ड-नेपाल समूह थप सशक्त रूपमा प्रस्तुत भएको छ । प्रधानमन्त्री नेतृत्वको मन्त्रिपरिषदमै रहेका प्रचण्डनिकट नेताहरुले सार्वजनिक रुपमै ओलीको आलोचना र विरोध गर्न थालेका छन्।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको साथ पाएका प्रचण्ड अब ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निचोडमा पुगेको नेकपा स्रोत बताउँछ। प्रचण्डले आफूनिकट नेताहरुसँग यसबारे पटकपटक कुरा गरिसकेका छन्। 

बुधबार पनि ओलीको पूर्वनिर्धारित अरु खास व्यस्तता थिएन। तर यही तयारी बुझेकैले ओली बुधबारको बैठकमा अनुपस्थित रहेको स्रोत बताउँछ। 

बरु, पार्टीमा आफूविरुद्ध विकसित परिस्थितिको सामना कसरी गर्ने भन्नेबारे आफूनिकट नेताहरुसँग विभिन्न रणनीतिमा छलफल गर्न उनी व्यस्त थिए ।

नेकपामा ओलीमाथि संकट आउँदा प्रायः लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल काठमाडौं आइपुग्छन्।

ओलीले सबैभन्दा विश्वास गर्ने पोखरेल नै उनीमाथिको संकट टार्न सक्रिय रहने गरेका छन्। पछिल्लो पटक ओलीको पक्षमा रणनीति बनाउन उनी सोमबार राति काठमाडौं आइपुगेका छन् ।

लामो समयदेखि बुटवलमै रहेका पोखरेल भैरहवाबाट यती एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आउने तय भएको थियो तर, भैरहवामा जहाज बिग्रिएपछि नेपालगञ्ज–काठमाडौं उडानमा रहेको अर्को जहाजलाई भैरहवामा अवतरण गराएर राति साढे ९ बजे काठमाडौं पुगेका थिए।

केन्द्रीय सचिवालयमा अध्यक्षद्वय ओली र प्रचण्डबाट प्रस्तुत दुवै प्रस्तावलाई स्थगन गरेर एकीकृत प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएका पोखरेल त्यही परिस्थिति सिर्जना गर्न सक्रिय रहेको स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले सचिवालयमा प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने, दाहालले प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने अडान मंगलबारको बैठकमा राखेका थिए।

तर, सचिवालयका अधिकांश सदस्य प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षमा रहेकाले दाहालको प्रस्ताव फिर्ता हुने सम्भावना देखिएको छैन।

दाहालले प्रस्ताव फिर्ता नलिएमा आफू साँच्चिकै संकटमा पर्ने ओलीको आंकलन छ।

सचिवालयका बहुमत नेताहरुले प्रस्तावलाई विधि र प्रक्रिया अनुसार टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् । त्यहीकारण बुधबारको बैठकमा अनुपस्थित रहेका ओली दिनभरजसो बालुवाटारमै आफूनिकटका नेताहरुसँग अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गर्ने छलफलमा थिए। 

प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटीका एक सदस्य कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालसहित सचिवालयका सदस्यहरुले बहुमतका आधारमा गर्न सक्ने सम्भावित निर्णय र उनीहरुको कदमलाई कसरी रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताउँछन्।

स्थायी कमिटीका ती सदस्यका अनुसार प्रधानमन्त्री ओली पार्टीभित्र आइपर्ने जस्तोसुकै परिस्थितिबाट पनि नभाग्ने, बरु सामना गर्ने रणनीतिमा छन्। “उहाँले प्रचण्ड–नेपाल गठबन्धनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन सक्नेसम्मको आकलन गर्नुभएको छ, त्यसको सामना कसरी गर्ने भन्नेबारे रणनीति तय गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल गरिरहनुभएको छ”, स्थायी कमिटीका ती सदस्यले भने।  

प्रधानमन्त्री ओलीलाई उनीनिकट नेतामध्ये केहीले अप्ठेरो अवस्थामा प्रधानमन्त्री वा अध्यक्षमध्ये कुनै एक पद छोड्नुपर्ने सुझाव पनि दिएका छन्। तर, ओली महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री पद छाड्न तयार देखिंदैनन् । १३ मंसीरको सचिवालय बैठकमा प्रस्तुत ३८ पृष्ठको लिखित प्रस्तावमा पनि उनले यो कुरा प्रष्ट उल्लेख गरेका छन्।

प्रचण्ड–नेपाल समूहले माग गरेकै आधारमा कुनै हालतमा राजीनामा नदिने, बरु त्यसबाट विकसित हुने परिस्थिति सामना गर्ने उनको तयारी छ। 

त्यो तयारीबारेको छलफल कहाँसम्म पुगेको छ भने संसदीय दलमा आफूविरुद्ध अविश्वास प्रस्ताव आयो वा आफूलाई प्रधानमन्त्रीबाट हटाइयो भने के गर्ने भन्नेसम्मको छलफल भइरहेको छ।

“संसदीय दलमा प्रधानमन्त्री असफल हुने अवस्था नै आइहाल्ला भन्ने त लाग्दैन”, ओलीनिकट एक नेताले भने, “यदि संसदीय दलमा बहुमत प्राप्त गर्न असमर्थ भएर प्रधानमन्त्रीको पदत्याग गर्नुपर्ने अवस्थामा यत्तिकै छाड्न हुन्न, उपनेता सुवास नेम्वाङ्गलाई दलको नेता र प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्छ भनेर पनि छलफल भइरहेको छ।”

ती नेताले पछिल्लो समय ओलीले भन्दै आएको ‘छाड्नै परे नेतृत्व दोस्रो पुस्तालाई छाड्ने’ कुरा नेम्वाङ्गकै निम्ति भएको समेत बताए।

प्रचण्डनिकट स्थायी कमिटीका एक सदस्यले भने यो मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास मात्र भएको टिप्पणी गरे।

“बैठक केही दिन पर सारौं भन्ने उहाँको आग्रह भएकै कारण बैठक सारिएको हो, उहाँले भनेअनुसार नै बैठक लम्ब्याइएकाले उहाँले पार्टीले गर्ने निर्णय पालना गर्नुहुन्छ भन्ने नै हाम्रो विश्वास हो”, उनले भने, “अहिले नै त्यसो नभए के त भनेर टिप्पणी गर्नु हतार हुन्छ, घटनाक्रम कसरी विकसित हुन्छन्, पार्टीले नै त्यसको छिनोफानो गर्छ।”