नेकपा विवाद नयाँ मोडमा: ओली-नेपाल साढे दुई घण्टा छलफल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेकपा विवाद नयाँ मोडमा: ओली-नेपाल साढे दुई घण्टा छलफल



काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विवादले यतिबेला फरक मोड लिने देखिएको छ । पार्टी केन्द्रदेखि प्रदेशसम्म विवादले पार्टी एकता नै संकटमा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने वरिष्ठ नेता माधव कुमार नेपालको साथ् खोजेका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थायी कमिटीका निर्णय नमानेको र एकलौटी गर्न खोजेको भनि पार्टीमा असन्तुष्टि बढेका बेला नेता नेपाललाई बालुवाटारमै बोलाएर साढे २ घण्टा छलफल गरेको स्रोतले बताएको छ । यसअघि पनि पटक पटक नेता नेपाललाई आफूसंग सहकार्य गर्न प्रस्ताव गरेका ओलीले यो पटक भने फरक प्रस्ताव गरेको बुझिएको छ ।

प्रधानमन्त्रीको बोलावटमा मंगलबार बालुवाटार पुगेका वरिष्ठ नेता नेपाल लामो समय छलफल गरेर फर्किएका थिए । स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि कुनै सहमति नभएको बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । दुई अध्यक्षबीच विवाद बढिरहेका बेला भएको लामो छलफलले पार्टीभित्र चर्चाको माहोल बनाएको नेकपाका एक स्थायी कमिटि सदस्यले बताए ।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डको साथ छाडेर आफूसंग सहकार्य गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले नेता नेपाललाई पूर्वमाओवादीहरूको झुण्ड छाडेर पूर्वएमालेहरू एक हुनुपर्ने बताएको स्रोतले दाबी गरेको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेता नेपालसंग मिलेर अगाडी बढ्न र केहि नयाँ सहमति गर्न पनि आफू तयार रहेको प्रस्ताव गरेको स्रोत बताउँछ । पछिल्लो पटक नेकपाभित्रको शक्ति संघर्षमा प्रचण्ड र नेपाल एकै ठाउँ देखिएपछि ओली र नेपालबीच दूरी बढेको थियो ।

लामो समयको विवादपछि भदौ २६ मा स्थायी कमिटी बैठक सकिँदा ओली र दाहालबीच सहकार्य भएको थियो । त्यसबेला नेता नेपालले १५ बुँदे असन्तुष्टि राखेका थिए ।

अहिले भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावले पार्टीमै नयाँ मोड लिएको छ । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावले प्रचण्ड र नेपालबीच सहमति भएपछि राजनीतिमा नयाँ मोड आएको थियो ।

मंगलबारसम्म कर्णाली विवाद टुंगिएको छैन, बरु विवाद बढेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच कर्णाली विवादको विषयमा मंगलबार बिहान छलफल भएको थियो ।

कर्णाली प्रदेशको तरंगले सबै प्रदेशमा असर पर्ने देखिएपछि नेता खनालसंग सम्बन्ध बढाउन ओलीले लामो समयदेखि प्रयास गरिरहेको समेत चर्चा चलेको थियो ।

पछिल्लो मन्त्रिपरिषद् हेरफेर र राजनीतिक नियुक्तिहरू मापदण्डविपरीत भएको भन्दै नेता नेपालको असन्तुष्टि छ ।