विश्वासपात्र सबै ढले, ओलीलाई "पिरैपिर"को भारी बन्यो चुनाव - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विश्वासपात्र सबै ढले, ओलीलाई “पिरैपिर”को भारी बन्यो चुनाव



निर्वाचनको नतिजा आउँदैगर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि तनावको वातावरण बन्दै गएको छ । उनका विश्वासपात्रहरू आधा दर्जन नेता पराजित भएका छन् ।

ओलीको उत्तराधिकारीको रूपमा चर्चा गरिने महासचिव शंकर पोखरेल पराजित हुँदा उनलाई थप क्षति भएको छ ।माओवादी केन्द्रकी नेतृ रेखा शर्माले झिनो मतान्तरले शंकरलाई पराजित गरेकी छिन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं ५ मा पराजित भएका छन् । कांग्रेस युवा नेता प्रदीप पौडेलसँग पराजित भएका पोखरेल नेकपाकालमा अध्यक्ष ओलीको कडा समर्थक बनेका थिए ।

एमालेको पछिल्लो महाधिवेशनमा ओलीकाे उत्तराधिकारीको रूपमा महासचिवमा शंकर पोखरेललाई अगाडि सारिएको थियो । तर उनले चुनाव हारेपछि तरङ्ग उत्पन्न भएको छ ।

त्यसैगरी, एमालेका नेता महेश बस्नेत पनि भक्तपुर २ मा कांग्रेस नेता दुर्लभ थापासँग पराजित भएका छन् । ओलीको अत्यन्त निकट रहेका बस्नेत भक्तपुरमा निकै बलियो उम्मेदवार मानिन्थे ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार रहेका राजन भट्टराई पनि पराजित भएका छन् । काठमाडौं ४ मा गगन थापासँग भट्टराई दोस्रोपटक पराजित भएका छन् । त्यसैगरी, ओलीले विश्वासमा लिएका भानुभक्त ढकाल पनि पराजित हुने निश्चित भएको छ । मोरङ ३ मा ढकाललाई कांग्रेसका सुनिल शर्माले भारी मतान्तरसहित पछि पारेका छन् ।

ओलीले निकै मन पराउने अग्नि खरेल पनि ढलेका छन् । प्रधानमन्त्री हुँदा ओलीको सल्लाहकार बनेका खरेलले झापा २ मा टिकट नपाउने स्थितिमा पुगेपछि क्षेत्र फेरेर झापा १ मा लगिएको थियो ।

खरेल पनि कांग्रेस नेता महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भएका छन् । ओलीको किचन क्याबिनेटमै रहने युवा नेता ऐन महर पनि पराजित भएका छन् । भोजपुरमा शेरधन राई र विशाल भट्टराई अहिलेसम्म पछाडि परेका छन् ।

यस्तै अन्य नेताहरू पनि पराजित हुने लक्षण देखिएको छ । यसरी एकपछि अर्को गरी ओलीका अत्यन्त निकट नेताहरू ढल्न थालेपछि ओली तनावमा परेका छन् ।